
२०७८ मङ्सिर २० ,तिलोत्तमा सिटी।
मुस्लिम आयोगले सरकारले मदरसा शिक्षालाई बेवास्ता गरेको गुनासो गरेको छ ।सोमबार ललितपुरमा ‘नेपालमा मदरसा शिक्षा र यसको भावी रुपान्तरण’ अध्ययन प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रममा आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले सामुदायिक विद्यालय सुविधा सम्पन्न बनाए पनि सरकारले मदरसा शिक्षालयलाई बेवास्ता गरेको आरोप लगाए ।‘अझै पनि मदरसामा बोरामा बसेर पढनुपर्ने अवस्था छ । कहिलेसम्म यो अवस्था रहन्छ ? सरकारी स्कुल चाहिँ सुविधा सम्पन्न छ । मदरसामा बोरा ओछ्याएर पढनुपर्ने अवस्था कहिले अन्त्य हुन्छ ?’ उनले प्रश्न गरे ।
आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा मदरसा शिक्षालाई बेवास्ता गरिएको भन्दै सरकारको आलोचना गरिएको छ ।जवाफमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मदरसा शिक्षालाई सरकारी पाठ्यक्रममा समावेश गर्ने ठोस प्रस्ताव मागे । ‘हामी तपाईंहरुले उठाउनुभएको कुरालाई गम्भीरतापूर्वक लिएर मन्त्रालयमा छलफल गर्छौं र पाठ्यक्रममा कसरी समावेश गर्न सकिन्छ ? विगतका कुराहरु पनि खोजीनीति गरेर अघि बढ्छौं । त्यसका लागि तपाईंहरुले ठोस प्रस्ताव ल्याउनुपर्छ’ उनले भने ।
मन्त्री पौडेलले संविधानले समावेशी सुनिश्चित गरेपनि त्यसको कार्यान्वयनले गति लिन नसकेको बताए । ‘मूलभूत रुपमा संविधानमा हामीले समावेशीको कुरा त गर्यौं । तर व्यवहारतः अझै बाँकी छ । व्यवहारतः राजनीतिक पार्टीमा बाँकी छ । सेना, पुलिसमा बाँकी छ । व्यूरोक्रेसीमा बाँकी छ’ उनले भने, ‘कुराले मात्रै हुँदैन ।’
कमेन्ट गर्नुहोस्