लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अष्ट्रियालाई अतिरिक्त समयमा हराउँदै इटली क्वाटरफाइनलमा

IMG

असार १३ गते आइतबार २०७८ तिलोत्तमा सिटी। वैकल्पिक खेलाडीको गोल मद्दतमा अष्ट्रियालाई पराजित गर्दै इटली युरोकप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको दोस्रो प्रिक्वाटरफाइनलमा इटलीले अष्ट्रियालाई २-१ ले पराजित गरेको हो ।लण्डनस्थित वेम्वली स्टेडियममा भएको खेलमा इटलीका लागि फेडेरिको चिएसा र माटेओ पेसिनाले गोल गरे । अष्ट्रियाका लागि सासा कलाइसिचले एक गोल फर्काए । इटलीले अब क्वाटरफाइनलमा बेल्जियम र पोर्चुगलबीचको विजेतासँग खेल्नेछ ।निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । पहिलो हाफमा इटलीका सिरो इम्मोबाइलको प्रहार पोष्टमा लागेर बाहिरिएको थियो ।


६७औं मिनेटमा मार्को अर्नाउटोभिकले गोल गर्दै अष्ट्रियालाई अग्रता दिलाएपनि भिएआरले अफसाइड रहेकोले गोललाई मान्यता दिएन ।भिएआरको सहयोगमा बचेको इटलीले अतिरिक्त समयमा दुई गोल गर्‍यो ।निर्धारित समयमा दुवै टिमले गोल गर्न नसकेपछि ३० मिनेटको अतिरिक्त समयम थप गरिएको थियो । त्यसको पाँचौ अर्थात खेलको ९५औं मिनेटमा वैकल्पिक फेडेरिको चिएसाले लिओनार्ड्रो स्पिनाजोलाको पासमा गोल गर्दै इटलीलाई अग्रता दिलाएका थिए । उनी ८४औं मिनेटमा डोमिनिको बेरार्डीको स्थानमै मैदान प्रवेश गरेका थिए । युरोमा आठौं पटक इटलीले अतिरिक्त समयमा खेलेको र पहिलो पटक गोल गरेको हो ।१०५औं मिनेटमा अर्का वैकल्पिक खेलाडी माटेओ पेसिनाले गोल गर्दै इटलीको अग्रता दोब्बर पारे ।


६७औं मिनेटमा निकोलो बरेलाको स्थानमा मैदान प्रवेश गरेका उनले फ्रान्सेस्को असेर्बीको पासमा गोल गरेका हुन् ।११३औ मिनेटमा अष्ट्रियाका सासा कलासिसले गोल गर्दै गोल अन्तर घटाएका थिए ।अन्तर्राष्ट्रिय फुटबलमा एक हजार १४२ मिनेटसम्म गोल नखाएको इटलीको कीर्तिमानसमेत भङ्ग एको छ । इटलीका गोलकिपर डिनो जोफले सन् १९७२ देखि १९७४ सम्म १ हजार १४२ मिनेटसम्म गोल बेहोरेका थिएनन् ।इटलीले १ हजार १६८ मिनेटपछि पहिलो गोल बेहोरेको हो । लगातार ११ खेलसम्म गोल नखाई जित हात पारेको इटलीले १२औं खेलमा गोल खाएको हो।इटलीले लगातार अपराजित रहने ८२ वर्ष पुरानो आफ्नै कीर्तिमान तोडेको छ । लगातार ३१ खेलसम्म अपराजित इटलीले यसअघि १९३५-३९ मा आफैले बनाएको ३० खेलको कीर्तिमान तोडेको हो ।अन्तर्राष्ट्रिय फुटबलमा लगातार ३५ खेलमा अपराजित रहने कीर्तिमान ब्राजिल र स्पेनको नाममा छ ।

कमेन्ट गर्नुहोस्