
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा–६, कुञ्जलापुरमा जारी ३८औँ झरना रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिताको उपाधि चरंगे वाईसीले जितेको छ । आइतबार भएको फाइनल खेलमा गोर्खा ब्वाइजलाई ३–१ गोल अन्तरले पराजित गर्दै चरंगे वाईसीले उपाधि हात पारेको हो ।
प्रतिस्पर्धात्मक खेलमा चरंगे वाईसीले उत्कृष्ट प्रदर्शन गर्दै लगातार ३ गोल हानेको थियो। गोर्खा ब्वाइजका तर्फबाट विदेशी खेलाडी शिलाले एक गोल गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । उपाधिसँगै चरंगे वाईसीले नगद ४ लाख रुपैयाँ, झरना रनिङ शिल्ड, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता गोर्खा ब्वाइजले नगद २ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।प्रतियोगितामा चरंगे वाईसीका अभिमन्यु स्याङ्तान सर्वोत्कृष्ट खेलाडी घोषित भए। उनले नगद १५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरे। त्यस्तै, चरंगे वाईसीका भीम पुन उत्कृष्ट गोलकिपर तथा कृष्ण आले उत्कृष्ट मिडफिल्डर घोषित भए । गोर्खा ब्वाइजका शिला उत्कृष्ट डिफेन्डर र विक्की चाम्लिङ राई उत्कृष्ट स्ट्राइकर घोषित भए । झरना स्पोर्ट्स क्लबका दीप्सन सापकोटा उदयमान खेलाडी घोषित भए ।
असोज १४ गतेदेखि सुरु भएको प्रतियोगिता असोज २५ गते सम्पन्न भएको हो ।प्रतियोगितामा रुपन्देही, नवलपरासी र कपिलवस्तुका १२ टोलीको सहभागिता रहेको थियो । समापन समारोहलाई सम्बोधन गर्दै तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणले खेलाडीको हौसला बढाउन यस्ता प्रतियोगिता फलदायी हुने बताए। उनले स्थानीय स्तरमा झरना स्पोर्ट्स क्लबले उत्कृष्ट काम गरेको उल्लेख गर्दै आगामी दिनमा पनि नगरपालिकाको सहयोग निरन्तर रहने प्रतिबद्धता जनाए । क्लबका अध्यक्ष धनेन्द्र पौडेलले आगामी वर्षदेखि झरना गोल्डकप आयोजना गर्ने तयारी रहेको बताए। यस वर्ष नै गोल्डकप आयोजना गर्ने योजना रहे पनि प्राविधिक तथा विविध कारणले सम्भव नभएको उल्लेख गर्दै उनले आगामी वर्ष उक्त योजना पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा तिलोत्तमा नगर खेलकुद विकास समितिका संयोजक लोक पुन, उमा आधारभूत विद्यालयका वर्तमान अध्यक्ष तथा क्लबका पूर्वअध्यक्ष छत्रबहादुर दर्लामी, तिलोत्तमा–६ का अध्यक्ष गणेश पाठक, नगर कार्यपालिका सदस्य नरबहादुर छन्तेल, सुरेन्द्र श्रीलगायतको सहभागिता रहेको थियो। । कार्यक्रम सञ्चालन क्लबका सदस्य तथा पूर्वकप्तान ओमप्रकाश थापाले गरेका थिए ।
कमेन्ट गर्नुहोस्