
मङ्सिर २८,२०७७ तिलोत्तमा। ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेर भ्रष्टाचार गरेको मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात पुर्पक्षका लागि थुनामा गएका छन् ।आइतबार विशेष अदालतले हाजिर भएका उनलाई थुनामा पठाउने आदेश भएको विशेष अदालतका उपरजिस्ट्रार पुष्पराज पाण्डेयले जानकारी दिए । विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इलजासले बस्नेत आरोपित देखिने भएकाले थुनामा पठाउने आदेश दिएको छ ।उनलाई आइतबार नै डिल्लीबजार कारागार चलान गरिएको छ ।बस्न्यात अख्तियारको आयुक्त हुनुअघि तत्कालिन समयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिव थिए । त्यही बेला उनले ललिता निवाससम्बन्धी फाइलको टिप्पणी उठाउने, सही गर्ने काम गरेका थिए ।
उनीविरुद्ध अख्तियारले ९ करोड ६५ लाख रुपैयाँ विगो माग गरी २०७६ माघ २२ गते मुद्दा दायर गरेको थियो ।ललिता निवास प्रकरणमा अख्तियारले बस्नेतसहित १ सय ७५ जना विरुद्ध मुद्दा दायर गरेको थियो, जसमध्ये ११० जनालाई भ्रष्ट्राचारको कसुरमा र ६५ जनालाई जग्गा जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको छ ।उपरजिस्ट्रार पुष्पराज पाण्डेयका अनुसार यो मुद्दामा हालसम्म उनीहरूमध्ये ९७ जना बयानका लागि अदालतमा उपस्थित भइसकेका छन् । विशेषले पुर्पक्षका लागि थुनामा पठाएका बस्नेत दोस्रो अभियुक्त हुन् । यसअघि थुनामा गएका एक जना सर्वोच्च अदालतबाट धरौटीमा छुटिसके ।
कमेन्ट गर्नुहोस्