
तिलोत्तमा, २०७७ मङ्सिर १० । ‘लैंगिक हिंसा अन्त्यको प्रतिवद्धताः व्यक्ति, समाज र सबैको ऐक्यवद्धता’ भन्ने मूल नारा सहित रुपन्देहीको तिलोत्तमा नगरपालिकामा लैंगिक हिँसा बिरुद्धको १६ दिने अभियान शुरु भएको छ। तिलोत्तमा नगरपालिकाकी नगर उपप्रमुख जागेश्वर देवी चौधरीको अध्यक्षता तथा नगरप्रमुख बासुदेव घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न सो अभियानको समुद्घाटन गर्दै नगरप्रमुख घिमिरेले लिङ्गको आधारमा हुने कुनैपनि हिँसा तिलोत्तमा नगरभित्र स्वीकार्य नभएको बताउनुभएको छ। उहाले कुनैपनि प्रकारको हिँसा नगर्ने प्रतिबद्धताका साथ् यो अभियानमा सबै लागिपर्नु पर्ने बताउनुभयो।
कार्यक्रममा स्वागत तथा अभियानको उदेश्यबारे प्रकाश पार्दै तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद शर्माले यो सामाजिक अभियानमा सबै जुटेर लागे मात्र समाजमा हुने हत्या हिँसाको निर्मुल हुने बताउनुभएको छ। उहाले नगरभित्रका हरेक नागरिक सचेत भएर कसैलाई हिँसा नगर्ने र गर्न नदिने र हिँसा सहेर नबस्ने क्रियाकलाप गरेमात्र यो अभियान सफल हुने बताउनुभयो।
सो कार्यक्रम मा बोल्दै उपप्रमुख जागेश्वर देवी चौधरीले लैंगिक हिँसा भन्ने बित्तिकै महिलाको हिँसा मात्र नबुझी सबै नागरिक महिला, पुरुष, तेस्रोलिंगी, बालबालिका, बृद्धबृद्धा लगायतमा हुने हिंसाको अन्त्य गर्न जरुरि रहेको बताउनुभयो। उहाले यो अभियानको संघारमा सबै वार्ड हरुमा कुनैपनि किसिमको हिँसा नगर्ने प्रतिबद्धता सबैमा हुनुपर्ने बताउनुभयो। केहि दिनमै एक कार्यक्रमका बीच नगरभित्र हिंसाका स्वरुप प्रस्तुत गर्ने बताउदै नगर उपप्रमुख चौधरीले अभियानको रुपमा मात्र हैन कि सधै यो अभियानलाई मनमा लिनु पर्ने बताउनुभयो।
हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विभिन्न सचेतना मुलक कार्यक्रम गरि विश्वभर लैंगिक हिंसाविरुद्धको अभियान मनाउने गरिन्छ।
महिलाविरुद्ध हुने सबै हिंसा अन्त्यको अन्तर्राष्ट्रिय दिवस (नोभेम्बर २५) देखि यो अभियान सुरु हुन्छ ।यो वर्ष १६ दिने अभियानलाई कोरोना भाइरसको विश्वव्यापी महामारीसँग जोडिएको छ । महामारीको समयमा विशेष गरि महिलाहरुलाई अत्यावश्यक सेवामा पहुँच नपुगेको तथा हिंसाका घटना बढेको र सुरक्षित स्थानसम्म प्रभावितको पहुँच नपुगेको देखिएकाले अहिले र भविष्यमा आउन सक्ने यस्ता महामारीजन्य अवस्थामा लैंगिक आधारमा हुने हिंसा र फरक व्यवहार अन्त्यका लागि यो वर्षको अभियान केन्द्रित हुने संयुक्त राष्ट्रसंघले जनाएको छ ।महिला तथा बालिकाहरुको मानव अधिकारको संरक्षण गर्न, उनीहरुको सम्मानपूर्वक बाँच्न पाउने हक अधिकार सुनिश्चित गर्न तथा विकासको समान साझेदारको रुपमा स्थापित गरी लंैगिक समानता कायम गर्न नेपालमा २०५४ सालदेखि यस अवधिमा लैंगिक हिंसा विरुद्धमा विविध सचेतनामूलक कार्यक्रम गरी अभियान मनाउने गरिएको छ ।
यो वर्ष अन्तर्राष्ट्रिय दिवस तथा १६ दिने अभियान ‘लैंगिक हिंसा अन्त्यको प्रतिवद्धताः व्यक्ति, समाज र सबैको ऐक्यवद्धता’ भन्ने नाराका साथ मनाईँदै छ । तिलोत्तमा नगरपालिकाको नव निर्मित भवन कार्यालय परिसरमा भएको सो कार्यक्रममा उपस्थित हरुलाई सेतो क्रस रिबन बाड्दै ब्यानर अध्यान गरि नगरप्रमुख बासुदेव घिमिरेले सो अभियानको उद्घाटन गर्नुभएको हो। सो कार्यक्रममा तिलोत्तमा नगरपालिका वार्ड नम्बर ६ का अध्यक्ष सुखदेव न्यौपाने , नगरप्रबक्ता सुरेन्द्र श्री,सामाजिक शाखा प्रमुख बिनोद ज्ञवाली लगायत विभिन्न शाखा का प्रमुख प्रतिनिधि कर्मचारी एबम सेवा ग्राही हरुको उपस्थिति रहेको थियो। नगरपालिकाको महिला तथा बालबालिका शाखाको संयोजनमा भएको सो अभियान कार्यक्रमको संचालन शाखा प्रमुख सम्झना भण्डारीले गर्नुभएको थियो।
कमेन्ट गर्नुहोस्