
प्रदिपनगर। तिलोत्तमा नगरपालिकाले सञ्चालन गर्दै आएको ‘विद्यालयका बालबालिकासँग प्रमुख प्रशासकीय अधिकृत’ कार्यक्रमअन्तर्गत विद्यार्थीहरूसँग सपना, संघर्ष र सफलताका विषयमा अन्तरक्रिया कार्यक्रम जनभावना मावि प्रदिपनगरमा सम्पन्न भएको छ ।कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले विद्यार्थीहरूसँग प्रत्यक्ष संवाद गर्दै आफ्ना जीवनका सपना, संघर्ष र सफलताका अनुभवहरू सुनाउनुभएको थियो ।
अन्तरक्रियाका क्रममा पौडेलले जीवनमा लक्ष्य निर्धारण गर्नु, निरन्तर मेहनत गर्नु, अनुशासित रहनु र चुनौतीसँग नडराई अघि बढ्नु सफलताका महत्त्वपूर्ण आधार भएको बताउनुभयो । उहाँले आफ्ना अनुभव सुनाउँदै विद्यार्थीहरूलाई भविष्यप्रति सकारात्मक सोच राख्न, आफ्नो रुचि र क्षमताअनुसार लक्ष्य तय गर्न तथा त्यसलाई पूरा गर्न निरन्तर प्रयास गर्न प्रेरित गर्नुभएको थियो ।कार्यक्रममा विद्यार्थीहरूले प्रमुख प्रशासकीय अधिकृत पौडेलसँग विभिन्न जिज्ञासा राख्दै आफ्ना विचार र अनुभवसमेत आदानप्रदान गरेका थिए । विद्यार्थी र स्थानीय तहका प्रशासनिक नेतृत्वबीच प्रत्यक्ष संवाद गराउने उद्देश्यले आयोजित कार्यक्रमले विद्यार्थीहरूलाई जीवनका व्यावहारिक अनुभवबाट सिक्ने अवसर प्रदान गरेको छ ।
कार्यक्रममा जनभावना माध्यामिक विद्यालयका प्रधानाध्यापक शम्भु पराजुलीको बिशेष उपस्थिति रहेको थियो भने सामाजिक विकास समितिका संयोजक तथा कार्यपालिका सदस्य रवि सेन्चुरीले सो कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । विद्यार्थीहरूमा आत्मविश्वास अभिवृद्धि गर्ने, भविष्यप्रति स्पष्ट दृष्टिकोण निर्माण गर्न सहयोग पुर्याउने र सफल व्यक्तिका जीवन अनुभवबाट प्रेरणा प्रदान गर्ने उद्देश्यले यस्ता कार्यक्रम प्रभावकारी हुने सामाजिक विकास समितिका संयोजक तथा कार्यपालिका सदस्य रवि सेन्चुरीको भनाई छ ।
कमेन्ट गर्नुहोस्