
बुटवल। २०८३ सालको पात्रो ‘पञ्चाङ्ग’ प्रकाशित भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिद्वारा प्रकाशित पात्रो अनुसार २०८३ सालमा मनाइने प्रमुख चाडपर्व मध्ये अब आउने तिथि र मितिको बारेमा यहाँ चर्चा गरिएको छ ।असोज ११ गते आइतबारबाट सोह्रश्राद्ध सुरु भई असोज २४ गते शनिवार औँसी श्राद्ध गरिसकेपछि पितृ विसर्जन गरिनेछ । सोह्रश्राद्धमा दिवंगत भएका पितृहरूको सम्झनास्वरूप उनीहरूको भक्तिभावका साथ श्राद्ध गरिनेछ ।
असोज २५ गते आइतबारबाट विधिवत् रूपमा दसैँ सुरु हुनेछ । २५ गते घटस्थापना स्थापना गरिन्छ भने यही दिनबाट नवरात्र आरम्भ हुनेछ । असोज ३१ गते शनिवार फूलपाती पर्व मनाइन्छ । कार्तिक १ गते आइतबार महाअष्टमी पर्व मनाइन्छ । यस दिनलाई भौमाष्टमी, गोरखकाली पूजा तथा कालरात्रि पनि भनिन्छ । ३ गते मंगलबार महानवमी र ४ गते बुधबार विजयादशमी अर्थात् मान्यजनबाट दशैंको टीका लगाइसकेपछि देवी विसर्जन गरिन्छ । ८ गते पूर्णिमा व्रत वा कोजाग्रत व्रत मनाएसँगै विधिवत् रूपमा दसैँ सकिनेछ । कार्तिक ९ गते कार्तिक स्नान, आकाशदीपदान आरम्भ हुनेछ ।
कार्तिक २० गते शुक्रबारबाट विधिवत् रूपमा तिहार सुरु हुनेछ । २० गते प्रदोष व्रत, धन्तेरस, धनत्रयोदशी, यमदीपदान मनाइन्छ । २१ गते शनिवार काग तिहार तथा धन्वन्तरी जयन्ती मनाइन्छ । २२ गते आइतबार नरक चतुर्दशी, कुकुर तिहार, लक्ष्मी पूजा मनाइन्छ र यही दिनलाई सुखरात्री पनि भनिन्छ । २३ गते सोमबार गाई पूजा गरिन्छ । २४ गते मंगलबार गोवर्धन पूजा, म्ह पूजा मनाइन्छ र यही दिन नेपाल संवत् ११४७ आरम्भ हुनेछ । २५ गते बुधबार यमद्वितीया अर्थात् भाइटीका लगाइन्छ । २९ गते आइतबार डाला पर्व र षष्ठी पर्व मनाइन्छ ।मंसिर ४ गते शुक्रबार हरिबोधनी एकादशी व्रत परेको छ । यसरि दशैँ र तिहार पर्वलाई नेपालीहरुले बिदाई गर्ने छन्।
कमेन्ट गर्नुहोस्