
मणिग्राम। तिलोत्तमा नगरपालिकाले अति भारीदेखि भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गर्दै विपद्का लागि आवश्यक सामग्री तयारी अवस्थामा राख्न पनि सबैमा अनुरोध गरेको छ । प्रशासनले अत्यावश्यक काम नपरी घरबाहिर ननिस्कन र सुरक्षित स्थानमा रहन अनुरोध गर्दै विपदमा आवश्यक एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा ठूला उपकरण तयारी अवस्थामा राखिएको जनाएको छ ।
नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले ५ प्रदेशका केही स्थानमा असोज ९ देखि असोज ११ गतेसम्म अति भारीदेखि भारी वर्षाको सम्भावना रहेको विशेष मौसम बुलेटिन जारी गरेपछि तिनाउ र दानव तथा रोहिणी नदीको जोखिममा रहेकाले तिलोत्तमा प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको हो ।
तिलोत्तामाका विभिन्न स्थानमा बाढीपहिरो र डुबानको जोखिम हुन सक्ने भन्दै सुरक्षा सचेतनाका लागि अपिल सहितको सूचना जारी गर्ने तथा सबै संयन्त्र प्रयोग गरि खोज तथा उद्धार सामग्रीसहित जनशक्ति तयारी अवस्थामा राख्ने निर्णय गरेको हो। जोखिमयुक्त बस्तीमा पूर्वसतर्कता अपनाउन सबै नगरबासीसँग निरन्तर समन्वय र सहकार्य गर्ने, तिनाउ रोहिणी र यस आसपासका शाखा खोलाहरु र नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क गराई सुरक्षित अवस्थामा रहन सबै स्वयंसेवक र स्थानीय प्रहरी इकाई मार्फत अनुरोध गर्ने, भारी वर्षा हुने अनुमान गरिएका स्थान तथा खोला किनारका बस्तीमा सूचना प्रवाह गर्ने, साथै जोखिम बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा राख्ने व्यवस्था मिलाउन नगरपालिका तयार रहेको नगर प्रमुख रामकृष्ण खाणद्वारा हस्ताक्षरित अपिलमा उल्लेख छ।
कमेन्ट गर्नुहोस्