लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लिस्नु कप: मोफसल फुटबलको मेरुदण्ड- रवि सेन्चुरी

IMG

लिस्नुको अर्थ काठलाई खोपेर निर्माण गरेको काठे सिडी वा भर्याङ् लाई जनाउछ । विशेष गरि  केहि समय अघि गाउँघरमा आधुनिक सिडीको प्रयोग नहुदा काठलाई खोपेर उकालो, माथि उक्लन प्रयोग गरिन्थ्यो ।यसले विशेष घरको दुई तल्लालाई जोड्नु सहयोग पुग्थ्यो। आज लिस्नु कपले नव खेलाडीहरुलाई स्थानीय तहबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा आफ्नो प्रतिभा प्रस्फुटन गर्नका निम्ति भर्याङ् वा लिस्नुको रुपमा कार्य गर्दै आएको छ ।


स्थापना काल देखि खेलकुद विशेष फुटबलमा केन्द्रित भै २४ औ नकआउट फुटबल प्रतियोगितासम्म आइपुग्दा लिस्नु कप केवल एक प्रतियोगिता मात्र नभएर समाजलाई जोड्ने, युवालाई क्रियासिल बनाउने, स्थानीय क्षेत्रको पहिचान निर्माण गर्ने, बजारलाई चलायमान गराउने र खेलाडी उत्पादन गर्ने सुतु बन्न सफल भएको छ ।नेपाली खेलकुदको इतिहासमा फुटबल केवल एउटा खेल मात्र नरहेर जनमानसको भावना, एकता र पहिचानको सशक्त माध्यम बनेकोछ। राजधानी काठमाडौँमा केन्द्रित नकआउट र लिग फुटबल प्रतियोगिताहरूले राष्ट्रिय स्तरको चर्चा पाए तापनि नेपाली फुटबलको वास्तविक जग र उर्वर भूमि भने मोफसल (उपत्यका बाहिरका क्षेत्रहरू) नै हो।


मोफसलमा आयोजना हुने विभिन्न क्षेत्रीय तथा राष्ट्रिय स्तरका प्रतियोगिताहरूले गाउँ-गाउँमा छरिएर रहेका प्रतिभाहरूलाई उजागर गर्न, तिनीहरूलाई तिखार्न र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्यातउन निर्णायक भूमिका खेल्ने गर्छन ।यसै पृष्ठभूमिमा, रुपन्देही जिल्लाको तिलोत्तमा-१५, कोटिहवामा  सञ्चालन हुँदै आएको 'लिस्नु कप फुटबल प्रतियोगिता' मफसलको फुटबल विकासको एक दह्रो मेरुदण्डका रूपमा स्थापित भएको छ। लिस्नु युवा क्लबद्वारा आयोजित यस प्रतियोगिताले विगत केही दशकदेखि नेपाली फुटबलको भुइँतह (ग्रासरुट) लाई मजबुत र चलायमान बनाउँदै आएको छ। 


लिस्नु कपले स्थानीय  प्रतिभाको पहिचान: नेपालका ग्रामीण तथा अर्ध-शहरी क्षेत्रहरूमा प्रतिभाको कमी कहिल्यै रहेन। तर, ती प्रतिभाहरूलाई अवसर, उचित प्रशिक्षण र प्रदर्शन गर्ने उपयुक्त मञ्चको सधैँ अभाव रह्दै आएको छ । लिस्नु कपले यही अभावलाई पूर्ति गर्ने विशेष भूमिका खेल्दै आएको छ ।


ग्रासरुट प्रतिभाको प्रस्फुटन:गाउँका धुले मैदानमा खाली खुट्टा फुटबल खेल्ने युवाहरूका लागि लिस्नु कप एउटा यस्तो मञ्च बनेको छ, जहाँ उनीहरूले ठूला क्लब र राष्ट्रिय स्तरका खेलाडीहरूसँग प्रतिस्पर्धा गर्ने अवसर पाउँछन्। प्रतियोगिताले नयाँ खेलाडीहरूलाई आफ्नो क्षमता देखाउने र आत्मबल बढाउने मौका मिल्दै आएको छ ।साथै सम्बन्ध विस्तारको मौका सिर्जना गर्दै आएको छ ।


राष्ट्रिय स्तरका खेलाडी उत्पादन:लिस्नु कपको मैदानमा खेलेर आफ्नो खेल कौशल तिखारेका धेरै खेलाडीहरूले पछि गएर शहीद स्मारक 'ए' डिभिजन लिग, विभिन्न राष्ट्रिय टोली र नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा समेत उत्कृष्ट प्रदर्शन गरेका छन्। यस अर्थमा, लिस्नु कपलाई नयाँ प्रतिभा उत्पादन गर्ने नर्सरी (Nursery)  रुपमा लिन सकिन्छ ।


प्रतिस्पर्धात्मक अनुभव:मोफसलका स्थानीय खेलाडीहरूले जब 'ए' डिभिजन र अन्य राष्ट्रिय स्तरका अनुभवी खेलाडीहरूसँग एकै मैदानमा प्रतिस्पर्धा गर्छन्, उनीहरूको खेल खेल्ने शैली,रणनीति, शारीरिक फिटनेस र मानसिक दृढता, प्रतिस्पर्धी भावना विकासमा सहयोग पुग्दै आएको छ ।


स्थानीय समुदायको अपनत्व:लिस्नु कप सञ्चालन हुनुमा विशेष स्थानीय समुदायको महत्वपूर्ण भूमिका रहदै आएको छ । जसले गर्दा स्थानीयलाई खेलकुद विकासमा जोड्न मद्दत पुगेको छ । त्यसैले यसको सफलताको पछाडि स्थानीय समुदायको प्रत्यक्ष योगदान छ। स्थानीय व्यापारी, व्यवसायी, युवा, आमा समूह र सर्वसाधारण नागरिकहरूले स्वेच्छिक रूपमा आर्थिक र भौतिक सहयोग गरेर यो प्रतियोगितालाई अघि बढाएका छन् । जसले गर्दा यो जनस्तर सम्म जोडिएको भावनात्मक खेल बन्न सफल भएको छ ।


फुटबलप्रतिको अगाध क्रेज:प्रतियोगिताका क्रममा खेल हेर्न मैदान वरिपरि उर्लिने दर्शकहरूको भीडले मफसलमा फुटबलको क्रेज कति गहिरो छ भन्ने स्पष्ट पार्छ। मफसलका दर्शकहरूले दिने हौसला र समर्थनले खेलाडीहरूलाई उत्कृष्ट प्रदर्शन गर्न प्रेरित गर्छ। यसले स्थानीय क्षेत्रमा खेलकुद संस्कृतिको विकास गरेको छ। यसले तिलोत्तमा नगरपालिका मात्र नभएर रुपन्देही जिल्ला र जिल्ला बाहिर खेलाडी र दर्शकलाई जोड्न मद्दत गरेको छ ।


युवाहरूलाई सकारात्मक दिशामा परिचालन:आजको युगमा युवाहरू कुलत, दुर्व्यसन र डिजिटल कुलतमा फस्ने जोखिम बढ्दो छ। लिस्नु कप र यससँग जोडिएका खेलकुद गतिविधिहरूले युवाहरूलाई अनुशासित, स्वस्थ र सकारात्मक सोचयुक्त बनाउन मद्दत पुर्याहउदै आएको छ । खेलकुदले उनीहरूमा टोली भावना, नेतृत्व क्षमता र धैर्यता जस्ता सामाजिक गुणहरू विकास गरेको छ ।


स्थानीय अर्थतन्त्रमा योगदान:प्रतियोगिता आयोजना हुँदा हजारौँ दर्शक, खेलाडी, प्रशिक्षक र सञ्चारकर्मीहरूको आवतजावत हुन्छ। यसले स्थानीय यातायात, होटेल, रेस्टुरेन्ट, साना व्यापारी र पसलहरूको व्यवसाय बढाउन मद्दत गर्छ। खेल पर्यटन (Sports Tourism) को दृष्टिले पनि लिस्नु कपले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन योगदान पुर्यातएको छ।


सामुदायिक एकता र सद्भाव:प्रतियोगिताले विभिन्न जातजाति, भाषा, धर्म र सम्प्रदायका मानिसहरूलाई एउटै मैदानमा जोड्ने काम गर्छ। जित र हारको भावनाभन्दा माथि उठेर खेलकुदको माध्यमबाट भाइचारा र सामाजिक सद्भाव अभिवृद्धि गर्न लिस्नु कपले मद्दत गरेको छ ।नेपाली फुटबलको समग्र विकास र विस्तार केवल राजधानीको दशरथ रंगशालाबाट मात्र सम्भव छैन। त्यसका लागि देशका कुनाकाप्चामा सञ्चालन हुने लिस्नु कप जस्ता प्रतियोगिताहरू नै मुख्य आधार हुन्। तिलोत्तमाको माटोमा रोपिएको लिस्नु कपको बिरुवा आज एउटा विशाल वृक्ष बन्ने क्रममा छ, जसले अनगिन्ती युवाहरूलाई खेलकुदको माध्यमबाट सपना देख्न र ती सपना पूरा गर्न सिकाएको छ।


अनेकौँ अभाव र चुनौतीका बिच पनि निरन्तर रूपमा आयोजना भई नयाँ प्रतिभाहरू जन्माउने, स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने र फुटबल संस्कृतिलाई जीवन्त राख्ने कार्य गरेकै कारण 'लिस्नु कप फुटबल प्रतियोगिता' निर्विवाद रूपमा मफसलको फुटबल विकासको मेरुदण्ड हो। यसको संरक्षण, संवर्द्धन र स्तरोन्नति गर्नु स्थानीय सरकार, एन्फा र सम्पूर्ण खेलप्रेमी नेपालीहरूको साझा दायित्व हो।


कमेन्ट गर्नुहोस्