लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

चलचित्रको संरक्षण र विकासमा सरकार प्रतिबद्ध

IMG

काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले कला, संस्कृति तथा राष्ट्रिय महìवका विषयवस्तुमा आधारित चलचित्रको संरक्षण, प्रवर्धन र विकासका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।


विश्वप्रसिद्ध ‘एकेडेमी अफ मोसन पिक्चर आटर्स एन्ड साइन्सेज (ओस्कर अवार्ड) को ९९ औँ संस्करणका लागि नेपालको प्रतिनिधित्व गरिरहेको चलचित्र ‘तिनीहरू : एलिफेन्ट्स इन दी फग’ को टोलीसँग बुधबार मन्त्रालयमा भएको भेटमा सञ्चारमन्त्री डा. तिमिल्सिनाले कला क्षेत्रको जगेर्ना गर्नु राज्यको दायित्व भएको बताउनुभएको हो । उक्त चलचित्रका निर्माता अनुप पौडेल, कलाकार एलिज घिमिरेलगायत सहभागी टोलीले चलचित्र क्षेत्रको विकास र अन्तर्राष्ट्रियस्तरमा नेपाली चलचित्रको प्रवर्धनका लागि सरकारका तर्फबाट सहयोग तथा सहकार्यको अपेक्षा राखेको थियो ।


सञ्चारमन्त्री तिमिल्सिनाले समग्र चलचित्र क्षेत्रको विकास र प्रवर्धनका लागि मन्त्रालयबाट आवश्यक पर्ने सहयोग उपलब्ध गराउन सरकार तयार रहेको स्पष्ट पार्नुभयो । उहाँले नेपाली कला, संस्कृति र राष्ट्रिय महत्वका विषयवस्तुलाई चलचित्रमार्फत अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउने प्रयासलाई सरकारले प्रोत्साहन गर्ने बताउनुभयो । सञ्चारमन्त्री तिमिल्सिनाले सांस्कृतिक तथा राष्ट्रिय महत्वका विषयवस्तुमा आधारित चलचित्र निर्माणलाई प्रोत्साहन गर्न सरकार नीतिगत रूपमा अघि बढिरहेको जानकारी गराउनुभयो । 


सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमा चलचित्र क्षेत्रलाई प्रोत्साहन गर्न तीन करोड ५० लाख रुपियाँ अनुदानका रूपमा विनियोजन गरेको छ । सो बजेट कार्यान्वयन गर्न मन्त्रालयले ‘सांस्कृतिक तथा राष्ट्रिय महत्वको क्षेत्रमा चलचित्र निर्माणका लागि प्रोत्साहन अनुदान कार्यक्रमसम्बन्धी कार्यविधि, २०८३’ निर्माणको काम अन्तिम चरणमा पुर्‍याएको मन्त्री तिमिल्सिनाले बताउनुभयो । कार्यक्रममार्फत सांस्कृतिक तथा राष्ट्रिय महत्वका विषय समेटिएका यथार्थपरक, मौलिक र उत्कृष्ट चलचित्र निर्माणलाई प्रोत्साहन गर्ने सरकारको उद्देश्य रहेको उहाँको भनाइ छ । 


सञ्चारमन्त्री तिमिल्सिनाले चलचित्र क्षेत्रको विकासका लागि आवश्यक नीतिगत सुधारलाई समेत प्राथमिकतामा राखिएको बताउनुभयो । अविनाशविक्रम शाह निर्देशित ‘तिनीहरू’ यसअघि कान्स फिल्म फेस्टिभलमा समेत पुरस्कृत भएको थियो । अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्राप्त सो उपलब्धिलाई सम्मान गर्दै चलचित्र विकास बोर्ड र नेपाल पर्यटन बोर्डले उक्त चलचित्रलाई दुई लाख ५० हजार रुपियाँसहित सम्मान प्रदान गरेका थिए । 

कमेन्ट गर्नुहोस्