
रसुवा । रसुवाको भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा बेपत्ता भएकाको खोज तथा उद्धारलाई नेपाली सेनाले तीव्र बनाएको छ । हवाई तथा स्थलगत उद्धारसँगै बाढीका कारण प्रभावित विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा विदेशी विज्ञसहितको संयुक्त टोली परिचालन गरी खोजी कार्य अघि बढाइएको हो ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार नेपाली सेनाले सोमबार हवाई साधनमार्फत एक जना जर्मन नागरिकसहित १०९ जनाको उद्धार गरेको छ ।बाढी प्रभावित क्षेत्रका जङ्गल, डाँडाकाँडा, खोला तथा बस्तीमा समेत पैदल गस्ती गरी बेपत्ताको खोजी, उद्धारको आवश्यकता पहिचान र स्थानीय बासिन्दालाई सुरक्षा प्रत्याभूति दिलाउने काम भइरहेको छ ।त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा टनेल हेड फेला परेको छ । सुरुङभित्र कम्प्रेसरमार्फत हावा पठाउने कार्य भइरहेको तथा जमेको पानी निकाल्ने काम जारी रहेको निर्देशनालयले जनाएको छ । सुरुङको पछाडितर्फबाट वैकल्पिक मार्ग खोल्न तीन वटा एक्स्काभेटर प्रयोग गरी करिब १५ मिटर भाग खोलिएको छ ।
त्यस्तै, त्रिशूली–३ ‘बी’ को सुरुङमा विज्ञसहितको नेपाली सेनाको टोली एक्स्काभेटर प्रयोग गरी खोज तथा उद्धारमा खटिएको छ । चिलिमे हाइड्रोको सुरुङमा विदेशी विज्ञसहितको संयुक्त उद्धार टोली करिब ३५ मिटरसम्म प्रवेश गरी अगाडिको भाग सफा गर्ने काममा जुटेको छ ।अपर त्रिशूली–१ आयोजनाको मैलुङतर्फ करिब २०० मिटर र हाँकूतर्फ करिब तीन सय मिटरसम्म पुगेर खोजी गरिएको छ । रसुवागढी हाइड्रोको सुरुङमा संयुक्त उद्धार टोली करिब २५० मिटरसम्म पुगेपछि सुरुङको बन्द भाग फेला परेको छ ।लाङटाङ हाइड्रोको सुरुङमा पनि संयुक्त उद्धार टोली करिब ६५ मिटरसम्म प्रवेश गरी एक शव सङ्कलन गरेको निर्देशनालयले जनाएको छ ।
टिमुरेमा पाँच सेफ फेला
खोज तथा उद्धारका क्रममा नेपाली सेनाको टोलीले टिमुरे क्षेत्रमा पाँच वटा सेफ फेला पारेको छ । तीमध्ये तीन वटामा नेपाली भाषाका अक्षर र दुई वटामा चिनियाँ भाषाका अक्षर रहेको पाइएको छ । फेला परेका सेफ सशस्त्र प्रहरी बल नेपाललाई भरपाईसहित बुझाइएको छ ।त्यस्तै, नेपाली सेनाले त्रिशूली र धुन्चेमा स्थापना गरेका आपत्कालीन उपचार केन्द्रबाट सोमबार १६५ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको छ ।सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वसम्मका बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाका आठ हजार नौ सयभन्दा बढी फौज प्रत्यक्ष रूपमा परिचालन भएका छन् ।
सेनाका टोलीले सम्बन्धित सुरक्षा निकाय तथा स्थानीय तहसँग समन्वय गरी घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, अवरुद्ध सडक सञ्चालन तथा आपत्कालीन उपचारलगायतका कार्य गरिरहेका छन् ।बाढीबाट सडक तथा भौतिक संरचनामा व्यापक क्षति पुगेका कारण प्रभावित क्षेत्रमा स्थलमार्गबाट पुग्न कठिन भइरहेका बेला नेपाली सेनाले हवाई, जमिनी तथा सुरुङमार्गबाट खोज तथा उद्धारलाई एकीकृत रूपमा अघि बढाएको हो ।विशेषगरी सुरुङभित्र फसेका व्यक्तिको सम्भावित उद्धारका लागि स्वदेशी तथा विदेशी विज्ञको प्राविधिक सहयोगमा पहुँच विस्तार गर्ने कार्यलाई प्राथमिकता दिइएको छ ।
कमेन्ट गर्नुहोस्