लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवलमा विविध सांस्कृतिक झांकीसहित ३२ औं विश्व आदिवासी दिवस सम्पन्न

IMG

बुटवल। "प्राप्त अधिकारको रक्षा आजको आवश्यकता, पहिचान सहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता" भन्ने नाराका साथ रुपन्देहीको बुटवलमा जातीय साँस्कृतिक झाँकी सहित बृहत् र्याली प्रदर्शन गरिएको छ। बुटवल स्थित लखनचोकबाट शुरु भएको बृहत र्याली आदर्शनगरस्थित थकाली सेवा समाजको सभाहलमा सभामा परिणत भएको थियो।


र्यालीमा "३२औं विश्व आदीवासी जनजाती दिवसलाई अधिकारको आन्दोलनको रुपमा मनाऔं ।"  "३२ औं विश्व आदीवासी दिवस जिन्दावाद" "प्रतिस्ठान खारेज गर्न पाइदैन" "संघियता खारेज गर्न पाइदैन" "प्राप्त उपलब्धीहरु मास्न पाइदैन" "धर्मनिरपेक्षलाई व्यवहारमा लागु गर" "३२ औं विश्व आदीवासी दिवसलाई भव्य रुपमा सफल बनाऔं" लगायत अधिकार र पहिचानका नारासहितको प्लेकार्डहरु समेत प्रदर्शन गरिएको थियो। 


सभामा उपस्थित विभिन्न आदीवासी जनजाती समुदायलाई सम्बोधन गर्दै आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिस्थानका निवर्तमान अध्यक्ष रेशम गुरुङ्गले आदिवासी जनजाति समुदायको पहिचान, अधिकार र सांस्कृतिक अस्तित्वको संरक्षण आजको प्रमुख आवश्यकता भएको बताउनु भएको छ। प्राप्त उपलब्धिलाई संस्थागत गर्दै राज्यका हरेक तहमा समानुपातिक र अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिदै आदिवासी जनजातिको भाषा, संस्कार, संस्कृति र परम्पराको संरक्षणसँगै राजनीतिक, सामाजिक र आर्थिक अधिकारको सुनिश्चितता आवश्यक रहेको गुरुङ्गले बताउनु भयो। राज्यको हरेक निकायमा आदीवासी जनजातीको पहुँच नगन्य रुपमा रहेको बताउदै प्रतिस्ठानका निवर्तमान अध्यक्ष गुरुङ्गले संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ समावेशी र न्यायपूर्ण बनाउन सबै समुदायबीच सहकार्य र एकता अपरिहार्य रहेको बताउनु भयो। वहाँले विश्व आदिवासी दिवसलाई केवल उत्सवका रूपमा नभई अधिकार, पहिचान र सामाजिक न्यायका लागि निरन्तर आवाज उठाउने अवसरका रूपमा लिनुपर्नेमा जोड दिनु भएको थियो ।


बुटवल उपमहानगरपालिकाका प्रमुख तथा कार्यक्रमका विशिष्ट अतिथि खेलराज पाण्डेयले बुटवल विविध जातजाति, भाषा, धर्म र संस्कृतिको साझा शहर भएको र बुटवललाई विविध जातजातीसहितको साँस्कृतिक शहरको रुपमा बिकास गर्न बिशेष योजना रहेको बताउनु भएको थियो। यहाँ बसोबास गर्ने सबै समुदायको संस्कृति र पहिचानको सम्मान गर्नु स्थानीय सरकारको दायित्वलाई हृदयंगम गर्दै मगर, गुरुङ्ग, नेवार जातीको भाषा, कला र संस्कृति संरक्षणका लागि विभिन्न् तालिम र वडापत्र समेत तयार गरिएको नगर प्रमुख पाण्डेयले बताउनु भयो। आदिवासी जनजाति समुदायले राष्ट्र निर्माणमा पुर्‍याएको योगदान महत्वपूर्ण रहेको र उनिहरुको मौलिक भाषा, कला, संस्कार र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनका लागि स्थानीय तहबाट आवश्यक सहयोग र सहकार्य गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिदै जानेकुरामा बुटवल उपमहानगरपालिका प्रतिवद्ध रहेको प्रमुख पाण्डेयले बताउनु भयो। 


बुटवल उपमहानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष नरेश्वर शर्माले नरेश्वर शर्माले आदिवासी जनजाति समुदायको पहिचान र अधिकारको संरक्षण लोकतन्त्रको सुन्दर पक्ष भएको उल्लेख गर्दै वडामा विभिन्न समुदायको बसोबास रहेको छ र सबैको भाषा, संस्कृति तथा परम्परालाई सम्मान गर्दै सामाजिक सद्भाव कायम गर्नु हाम्रो प्राथमिकता भएको बताउनु भयो।नेवा देय दबुः लुम्बिनी प्रदेशका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले नेपालको पहिचान नै यहाँका विविध जातजाति र संस्कृतिको एकतामा निहित रहेको बताउनु भयो। सम्पूर्ण आदिवासी जनजातिको भाषा, संस्कृति, कला र परम्परा संरक्षण गर्नु हामी सबैको जिम्मेवारी भएको र सांस्कृतिक विविधतालाई कमजोर पारेर समृद्ध नेपाल निर्माण हुन नसक्ने श्रेष्ठले बताउनु भयो। 


नेपाल आदीवासी जनजाती महासंघ समन्वय परिषद तिलोत्तमा नगरका अध्यक्ष गोमा छन्त्यालले आदिवासी जनजाति महिलाको सहभागिताबिना आदिवासी जनजातिको आन्दोलन पूर्ण हुन नसक्ने उल्लेख गर्दै अधिकार र पहिचानको आन्दोलनमा महिलाको भूमिका अझ प्रभावकारी बनाउन आवश्यक रहेको कुरालाई जाृड दिनु भयो। । हाम्रो भाषा, संस्कृति र परम्परा पुस्तान्तरण गर्न नयाँ पुस्तालाई जोड्नु पर्ने र राज्यका हरेक तहमा आदिवासी जनजातिको समानुपातिक प्रतिनिधित्व र अवसर सुनिश्चित गर्न आन्दोलनलाई अझ सशक्त बनाउन आवस्यक रहेको छन्त्यालले बताउनु भयो। नेपाल आदीवासी जनजाती युवा महासंघ समन्वय परिषद रुपन्देहीका अध्यक्ष छवि रानाले आज प्राप्त अधिकारहरू लामो संघर्षको परिणाम भएको र कुनै पनि उपलब्धि गुम्न नदिन सबै समुदाय एकताबद्ध हुन आवश्यक रहेको बिचार व्यक्त गर्नु भयो। 


कार्यक्रमको अध्यक्षता गर्दै नेपाल आदीबासी जनजाती महासंघ समन्वय परिषद रुपन्देहीका अध्यक्ष आशा गुरुङ्गले आजको यो बृहत् उपस्थिति आदिवासी जनजाति समुदाय आफ्नो अधिकार, पहिचान र अस्तित्वका विषयमा सचेत र एकताबद्ध रहेको प्रमाण भएको बताउनु भएको छ। हामीले प्राप्त गरेका अधिकार र उपलब्धिको रक्षा गर्दै थप अधिकारका लागि लोकतान्त्रिक ढंगले निरन्तर आवाज उठाउनुको कुनै विकल्प नभएको उल्लेख गर्दै आदिवासी जनजातिको भाषा, संस्कृति, परम्परा र मौलिक पहिचानको संरक्षण राज्यको जिम्मेवारी रहेको अध्यक्ष गुरुङ्गले जोड दिनु भएको थियो। ३२औँ विश्व आदिवासी दिवसलाई केवल सांस्कृतिक पर्वका रूपमा नभई अधिकार र सामाजिक न्यायको अभियानलाई थप मजबुत बनाउने अवसरका रूपमा उपयोग गर्नमा बिशेष आग्रह गर्दै अध्यक्ष गुरुङ्गले पहिचानसहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणका लागि सबै समुदायबीच सहकार्य आवश्यक रहेको बताउनु भयो।


कार्यक्रममा उपस्थित आदीवासी जनजाती समुदायलाई स्वागत गर्दै महासंघका वरिष्ठ उपाध्यक्ष इन्द्र बहादुर राईले आदिवासी जनजाति आन्दोलनको नेतृत्व अब नयाँ पुस्ताले पनि जिम्मेवारीपूर्वक अघि बढाउनमा प्रेरित गर्न आजको जनप्रदर्शन उदाहरणीय बन्ने विश्वास व्यक्त गर्नु भयाृे । युवाहरू आफ्नो भाषा, संस्कृति र पहिचानप्रति सचेत हुँदै अधिकारका विषयमा समेत जागरूक हुन आवश्यक रहेका र प्रविधि र सामाजिक सञ्जालको प्रभावकारी प्रयोग गर्दै हाम्रो मौलिक संस्कृति तथा अधिकारका मुद्दालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय तहसम्म पुर्‍याउन वरिष्ठ उपाध्यक्ष राईले आग्रह गर्नुभयो ।महासंघका सचिव मिन बहादुर सारुले सञ्चालन गर्नु भएको कार्यक्रममा नेवार, गुरुङ्ग, मगर, थारु लगायत विभिन्न जातजातीको परमपरा र संस्कृति झल्किने साँस्कृतिक नृत्य तथा झांकी समेत प्रदर्शन गरिएको थियो।

कमेन्ट गर्नुहोस्