
बुटवल। सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धबाबा सुरुङमार्गको निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ । सुरुङमार्ग आयोजना कार्यालयका प्रमुख नवराज बास्तोलाका अनुसार हालसम्म आयोजनाको ७० प्रतिशत भौतिक प्रगति भएको छ । बाँकी निर्माण कार्य तोकिएको समयभित्र सम्पन्न गर्ने लक्ष्यका साथ अहिले दुई सिफ्टमा निर्माण कार्य भइरहेको उनले बताए । आयोजनाको वित्तीय प्रगति ६५ प्रतिशत पुगेको छ । मुख्य सुरुङको ‘ब्रेकथ्रु’ १० माघ २०८१ मा भएको थियो ।
पहाड र तराईलाई जोड्ने गरी ७ अर्ब रुपैयाँ लागतमा निर्माण भइरहेको आयोजना नागढुंगापछिको नेपालको दोस्रो आधुनिक सुरुङमार्ग हो । आयोजना प्रमुख बास्तोलाका अनुसार सुरुङमार्ग आगामी दसैँ अर्थात्, कात्तिकसम्म परीक्षण सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ । सुरुङभित्रको मुख्य सिभिल संरचनाको निर्माणकार्य लगभग सम्पन्न भइसकेको छ भने अहिले सुरुङभित्र रङरोगन, फिनिसिङ तथा प्राविधिक भवन निर्माणको काम भइरहेको छ । सुरुङभित्र भेन्टिलेसन, अग्नि नियन्त्रण उपकरण, सीसीटीभी क्यामेरा र विद्युतीय बत्ती जडान गर्न बाँकी रहेको आयोजना प्रमुख बास्तोलाले जानकारी दिए ।
‘सुरुङमार्गलाई सुरक्षित र आधुनिक बनाउन अब इलेक्ट्रो–मेकानिकल उपकरण जडानको तयारी थालिएको छ,’ उनले भने, ‘दसैँसम्म सवारीसाधनलाई सुरुङमार्गबाट सञ्चालन गरी बाहिरी क्षेत्रको सडकलाई सुरक्षित बनाउने काम अघि बढ्छ ।’ वर्षाका कारण उत्तरी नाकाहुँदै चीनबाट आउनुपर्ने सामानमा ढिलाइ हुँदा काम प्रभावित हुन सक्ने देखिएको छ । ‘सामान बोकेका ट्रक भन्सार परिसरमा छन्, ती सामान समयमै आए कामको गति अझै बढ्नेछ’, बास्तोलाले भने । कतिपय अवस्थामा प्राकृतिक र प्राविधिक कारणले काम रोक्नुपरेको उनले बताए ।
बुटवल–पाल्पा सडकखण्डअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका– ३ मा पर्ने सुरुङमार्ग १ हजार १२६ मिटर लामो, साढे १० मिटर चौडा र करिब ७ मिटर अग्लो छ । सुरुङमार्गमा तीनवटा बाइपास रहेका छन् । पहिलो बाइपासको लम्बाइ १४८।०९५ मिटर, दोस्रोको १५८।३ र तेस्रोको १२८।३८ मिटर रहेको छ । तीनवटै बाइपासका सबै काम सकिएको छ । सुरुङको प्रस्थान र अन्तिम विन्दु क्षेत्रमा पहिरो र ढुङ्गा खस्नबाट जोगाउन ‘रकसेड’, ‘रकफल ब्यारियर’ र ‘स्लोप प्रोटेक्सन’जस्ता सुरक्षा संरचनाहरूको निर्माणकार्य पनि अघि बढाइएको आयोजनाका इन्जिनियर सौम्या आनन्दले जानकारी दिइन् ।
उनका अनुसार बुटवलको चिडियाखोलादेखि पाल्पाको दोभानसम्मको करिब पाँच किलोमिटर सडकखण्डलाई अति जोखिमपूर्ण क्षेत्र मानिन्छ । यो खण्ड वर्षभरि नै पहिरोको उच्च जोखिममा रहने गर्छ । सडकको तलपट्टि तिनाउ नदीतर्फ अप्ठ्यारो भिर र माथिपट्टि अग्लो चट्टानी पहाड रहेकाले वर्षायाममा मात्र होइन, हिउँदमा समेत सुक्खा पहिरो खस्ने जोखिम उत्तिकै रहने गरेको छ । सिद्धबाबा क्षेत्रमा हरेक वर्ष विभिन्न स्थानबाट पहिरो खस्ने समस्याका कारण यात्रु र सवारीचालकले सास्ती खेप्दै आएका छन् । पहिरोका कारण सवारीसाधन पुरिने, बग्ने तथा मानवीय क्षतिसमेत हुने गरेका छन् ।
सरकारी तथ्यांकअनुसार गएको एक दशकमा यस क्षेत्रमा पहिरो र सडक दुर्घटनाका कारण ७० जनाभन्दा बढीले ज्यान गुमाइसकेका छन् । बर्सेनि दोहोरिने पहिरो र त्यसबाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सुरक्षित वैकल्पिक मार्गको आवश्यकता महसुस भएपछि सिद्धबाबा सुरुङमार्ग निर्माणको अवधारणा अघि बढाइएको हो ।
२०७८ फागुनमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग पाँच वर्षभित्र निर्माणको काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको थियो । यस आयोजनाको कुल लागत ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँ रहेको छ । आयोजनाको म्याद २०८३ फागुनसम्म रहेको छ । यो सुरुङमार्गको स्विस एजेन्सी फर डेभलपमेन्ट एन्ड कोअप्रेसन एसडीसीले २०७५ सालमा यो क्षेत्रको सर्वेक्षण गरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेको थियो । साइड क्लियर गरेर मुख्य सुरुङ निर्माणको काम ४ माघ २०८० बाट सुरू भएको थियो ।
निर्माण सम्पन्न भएपछि पाँच वर्षसम्म सम्बन्धित निर्माण कम्पनीले नै सुरुङ सञ्चालन, मर्मतसम्भार र सुरक्षाको जिम्मेवारी वहन गर्नेछ । त्यसपछिको थप पाँच वर्ष ‘ल्याटेन्ट डिफेक्ट लायबिलिटी पिरियड’का रूपमा रहने व्यवस्था गरिएको छ । यो सुरुङमार्गको ठेक्का ‘इन्जिनियरिङ प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन–ईपीसी मोडलमा लगाइएको हो । यस ‘मोडल’अन्तर्गत ‘डिजाइन’, स्वीकृति तथा निर्माणको सम्पूर्ण जिम्मेवारी निर्माण कम्पनीकै हुने आयोजना प्रमुख बास्तोलाले बताए ।
सुरुङमार्ग सम्पन्न भएपछि बाह्रै महिना जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यताको अन्त्य हुने पाल्पाको तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले बताए । उनले भने, ‘सुरुङ मार्ग बनेपछि सिद्धार्थ राजमार्ग सुरक्षित र भरपर्दो बन्नेछ । तराई र पहाड तथा लुम्बिनी र गण्डकी प्रदेशका पहाडी जिल्लाहरूमा आवतजावत सहज हुनेछ ।’ बुटवल–पाल्पा सडक वि सं२०१८ सालदेखि खन्न सुरु भएको थियो । अहिले बुटवल–पोखरा सिद्धार्थ राजमार्गको सबै खण्डलाई विस्तारको क्रममा रहेको छ ।
सुरुङमार्ग सम्पन्न भएर सञ्चालनमा आएपछि लुम्बिनी र गण्डकी प्रदेशका पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, कास्की, बागलुङ, पर्वत, म्याग्दी, मुस्ताङलगायतका क्षेत्रका नागरिकले सहज रूपमा यात्रा गर्न पाउने देखिन्छ ।यो खण्डमा अहिले दैनिक २ हजार ५०० भन्दा बढी सवारीसाधन गुड्छन् ।
कमेन्ट गर्नुहोस्