
तिलोत्तमा। रुपन्देहीको तिलोत्तमामा दोस्रो तिलोत्तमा कोरा–२०२६ सम्पन्न भएको छ ।प्राकृतिक, धार्मिक तथा पर्यटकीय सम्पदाको प्रवद्र्धन गर्दै स्वास्थ्य सचेतना, वातावरण संरक्षण र अनाथ आश्रमलाई सहयोग गर्ने उद्देश्यसहित तिलोत्तमा राइडर्सको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाण रहनु भएको आयोजकले जानकारी गराएको हो ।
यस वर्षको कोरामा विश्व साइकल यात्री पुष्कर शाह विशेष आकर्षणका रूपमा सहभागी भएको आयोजक संस्थाका अध्यक्ष शंकर मल्लले बताए । साइकलमै विश्वका १५० भन्दा बढी देशको भ्रमण गरिसकेका शाहले हालसम्म चार लाख किलोमिटरभन्दा बढी साइकल यात्रा पूरा गरिसकेका छन् । विश्व साइकल यात्री पुष्कर शाहले कोरा साइकल चलाउने कार्यक्रम मात्र नभई स्वास्थ्य, वातावरण, पर्यटन र समाजप्रतिको जिम्मेवारी पनि भएको उल्लेख गरे उनले तिलोत्तामाका विभिन्न धार्मिक एबम पर्यटकीय क्षेत्रको समेत अबलोकन गरेका छन्।
अहिले नेपालमा कोराको १६औँ संस्करणमा आइपुगेको भन्दै उनले शाहले आफ्नो विश्व यात्राका क्रममा विभिन्न सामाजिक कामसमेत गरेको उल्लेख गर्दै दोलखामा भूकम्पपछि हेल्थपोस्ट निर्माण, सिन्धुपाल्चोकमा सौर्य ऊर्जासम्बन्धी सहयोग तथा सर्लाहीका विपन्न विद्यार्थीलाई शैक्षिक सहयोग गरेको अनुभव सुनाए । उनले तिलोत्तमा कोराजस्ता कार्यक्रमले स्थानीय पर्यटनको विकाससँगै नागरिकलाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने विश्वास व्यक्त गरे ।
तिलोत्तमा कोरामा सहभागिताका लागि १७५ जनाले नाम दर्ता गराएको भएपनि ५ सय बढी सो कार्यक्रममा उपस्थित भएको आयोजक संस्थाका सचिव सुबास थापाले बताए । कोरामा सहभागीहरूले ५५ किलोमिटर साइकल यात्रा गरेका छन् । साइकल यात्रामा रुपन्देहीसँगै कपिलवस्तु र नवलपरासीका राइडर क्लबहरु सहभागी भएका थिए। माथिल्लो विष्णुपुर स्थित दुर्गा मन्दिर परिसरबाट बिहान ६ बजे सुरु भएको कोराको यात्रा तिलोत्तमाका प्रमुख धार्मिक तथा पर्यटकीय स्थलहरु परिक्रमा गरी ड्राइभरटोलस्थित होटेल टुलिपको बैंक्वेट हलमा पुगेर समापन भएको छ । साइकल यात्राका क्रममा तिलोत्तमा गौशालामा गाईलाई आहार वितरण गर्दै बाउन्नकोटी मन्दिर, मोक्षधाम, कुञ्ज पार्क, तिलोत्तमा पार्क, श्रीङ्गेश्वर धाम, शित्तल चौपारी, तिलोत्तमा पार्क लगायतका स्थानमा स्वागत ग्रहण हुँदै सम्पन्न भएको हो।
तिलोत्तमा कोरा–२०२६ का संयोजक तथा तिलोत्तमा राइडरका उपाध्यक्ष क्याप्टेन कृष्णबहादुर कार्कीले पहिलो संस्करणले अपेक्षाभन्दा ठूलो सफलता पाएको भन्दै यस वर्ष थप व्यवस्थित रूपमा कार्यक्रम सञ्चालन गरिएको बताए । तिलोत्तमा राइडरका कोषाध्यक्ष दीपक भट्टराईले स्थानीय सरकार, निजी क्षेत्र, प्रायोजकको सहयोगले कार्यक्रम सफल भएकोले यसमा सहयोग गर्ने सबैलाई हार्दिक धन्यबाद व्यक्त गरेका छन् । कार्यक्रमको टाइटल स्पोन्सरमा राम खरेल सञ्चालक रहेको किङ्स एब्रोड तथा सह प्रायोजकहरुमा अर्जुन पौडेल सञ्चालक रहेको रियल ड्रिम्स तथा ओरियन्टल इन्स्युरेन्स कम्पनी रहेका थियो ।
कमेन्ट गर्नुहोस्