
काठमाडौँ, असार ६ गते । गृह मन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित गुनासा, उजुरी तथा सुझावको व्यवस्थापनलाई थप प्रभावकारी, पारदर्शी र छिटोछरितो बनाउन ‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा ल्याएको छ। मन्त्रालय अन्तर्गतको गुनासो व्यवस्थापन शाखा मार्फत स्थापना गरिएको उक्त कल सेन्टर मार्फत सर्वसाधारणले गृह प्रशासनसँग सम्बन्धित विभिन्न प्रकारका गुनासा तथा सुझाव प्रत्यक्ष रूपमा दर्ता गर्न सक्ने छन्।
शुक्रबार जारी गरिएको प्रेस विज्ञप्ति अनुसार नागरिकका गुनासा र सुझावलाई व्यवस्थित रूपमा सङ्कलन गरी सेवा प्रवाहमा सुधार ल्याउने उद्देश्यले ‘हेलो गृह कल सेन्टर सञ्चालनमा ल्याइएको हो। मन्त्रालयले यसबाट सेवाग्राहीका समस्या समयमै सम्बोधन गर्न तथा सार्वजनिक सेवामा जवाफदेहिता र पारदर्शिता अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास लिएको छ।
गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेले जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने सेवा प्रभावकारी नभएको, सेवाग्राहीका गुनासा सम्बोधन नभएको, प्रहरी कार्यालयमा जाहेरी दर्ता गर्न आनाकानी गरिएको, कसैले काम गराइदिने भन्दै रकम माग गरेको, गृहमन्त्रीको सचिवालयमा कार्यरत रहेको भन्दै धम्की दिने वा प्रभाव पार्न खोज्ने जस्ता विषयमा समेत नागरिकले कल सेन्टर मार्फत उजुरी गर्न सक्ने बताउनुभयो।
उहाँका अनुसार गृह मन्त्रालय र मातहतका निकायबाट प्रदान हुने सेवासँग सम्बन्धित सबै प्रकारका गुनासा, उजुरी तथा सुझावलाई आवश्यक प्रक्रिया पूरा गरी सम्बोधन गरिने छ। यसका लागि मन्त्रालयले आधुनिक प्रविधिको प्रयोग गर्दै विभिन्न सम्पर्क माध्यमसमेत उपलब्ध गराएको छ।
मन्त्रालयले टोल–फ्री नम्बर, इमेल, मोबाइल तथा ह्वाट्सएप मार्फत गुनासा दर्ता गर्न सकिने व्यवस्था मिलाएको छ। त्यस्तै, क्युआर कोड स्क्यान गरेर अनलाइन माध्यमबाट समेत उजुरी तथा सुझाव पठाउन सकिने जनाएको छ। नागरिकका गुनासा र सुझावलाई सेवा सुधार तथा नीति निर्माणका लागि महत्त्वपूर्ण आधारका रूपमा लिइने उल्लेख गर्दै मन्त्रालयले उपलब्ध गराइएका सम्पर्क माध्यमको अधिकतम उपयोग गर्न सर्वसाधारणसँग आग्रह गरेको छ।
‘हेलो गृह कल सेन्टर’ मार्फत गुनासा तथा सुझाव पठाउन चाहने सेवाग्राहीले टोल–फ्री नम्बर १११२, इमेल [email protected] तथा मोबाइल नम्बर ९८५१३६०६०३ (ह्वाट्सएपसमेत) प्रयोग गर्न सक्ने छन्।
प्रवक्ता काफ्लेद्वारा जारी विज्ञप्तिमा नागरिकमैत्री, उत्तरदायी र पारदर्शी प्रशासनलाई सुदृढ बनाउने दिशामा ‘हेलो गृह कल सेन्टर’ महत्त्वपूर्ण माध्यम बन्ने उल्लेख गरिएको छ। मन्त्रालयले नागरिकबाट प्राप्त गुनासा तथा सुझावलाई व्यवस्थित रूपमा अभिलेखीकरण गरी आवश्यक सुधारका प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएको छ।
कमेन्ट गर्नुहोस्