लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

धार्मिक मान्यताको रुपमा रहेको बलि प्रथाको अन्त्य हुनुपर्नेमा जोड

IMG

काठमाडौँ, असार ५ गते । धार्मिक मान्यताको रुपमा चल्दै आएको बलि प्रथाको अन्त्य हुनुपर्नेमा जोड दिइएको छ । पशु अधिकारका लागि काम गर्दै आएको संस्था स्नेहाज केयरले इन्टरफेथ पिस फेडेरेशन अफ नेपालसँगको सहकार्यमा शुक्रवार राजधानीमा आयोजित कार्यक्रमका सहभागीहरुले सम्पूर्ण प्राणीले शान्तिपूर्वक बाँच्न पाउने हक भएकाले मन्दिरलगायत सबै धार्मिक स्थलमा प्रथाको रुपमा चलिरहेको बलि प्रथाको अन्त्य हुनुपर्ने बताएका छन् । 


डा.अरुणा उप्रेतीले प्रोटिनका लागि मासुको उपभोग गर्नुपर्नेलगायतका विभिन्न बाध्यात्मक भनाईमा कुनै सत्यता छैन, नेपाली खाना, दालभात, तरकारी, दुग्धजन्य पदार्थमा मानव शरिरलाई आवश्यक सबै भिटामिन, खनिज पदार्थ पाइन्छ तर सन्तुलितरुपमा खाने बानीको विकास गर्नुपर्नेमा जोड दिनुभयो । 


उहाँले साकाहारी खानाबाट सबै प्रकारको पोषण पुग्ने बताउँदै भन्नुभयो,“ विगत ३५ वर्षदेखि साकाहारी खाना खाँदा मेरो शरिरमा कुनै किसिमको भिटामिन, प्रोटिनको कमी भएको छैन, नेपालका कतिपय क्षेत्रमा स्थानीय उत्पादनलाई महत्व नदिई भात नै खानुपर्ने भन्ने मान्यताका कारणले कुपोषण हुने दर पनि कायम रहेको बताउँदै साकाहारी खाना नै नेपालीका लागि पर्याप्त छ, यो प्रमाणित कुरा हो ।”


धर्मगुरु दामोदर गौतमले यस धर्ती मानवलगायत सबै प्राणी, पन्छीको पनि हो भन्नुहुँदै मन्दिरलगायत विभिन्न धार्मिक सम्प्रदायको धार्मिक गतिविधीमा हुने प्राणी हिंसाको अन्त्यका लागि मानिसले आफ्नो लोभ, मोह, त्यागेर बनस्पती, अन्न र फलफूल चढाएर धार्मिक अनुष्ठान गर्न सकिने सुझाव दिनुभयो । 


स्नेहाज केयरका संस्थापक स्नेहा श्रेष्ठले सडकमा छोडिएका, मन्दिरलगायत विभिन्न स्थानमा बलि दिन ठिक पारिएका करिब दुई सय वटा जनावरको उद्धार गरी संरक्षण गरिरहेको जानकारी दिँदै नेपालमा धार्मिक अनुष्ठानका रुपमा दिने बली प्रथा हट्नुपर्ने बताउनुभयो । उहाँले जनावरलाई पनि मानवलाई जस्तै डर लाग्ने, दुःख लाग्ने हुन्छ तर उनीहरुले मलाई नमार मात्र भन्न सक्दैनन् वा उनीहरुको भाषा हामीले बुझ्दैनौ, त्यसैले धार्मिक प्रथाका रुपमा प्रचलित बलि प्रथाको मुल मर्मलाई धार्मिक गुरुले सर्वसाधारणलाई सम्झाउँदै बलि प्रथाको अन्त्यको अभियानमा सहयोग गर्न आग्रह गर्नुभयो । 


संस्थापक श्रेष्ठले नेपालका विभिन्न धार्मिक सम्प्रदाय, मन्दिरमा देवताको पूजा गर्दा, जात्रा सञ्चालन गर्दा पनि पशुलाई क्रुर तरिकाले लखेटी–लखेटी मार्ने परम्पराले ज्यादै विचलित बनाउँछ भन्दै त्यस्तो दृष्यको भिडियोसमेत प्रस्तुत गर्नुभयो । साथै कार्यपत्र प्रस्तुत गर्दै पन्छी, जनावरमाथि बलि प्रथाका नाममा भइरहेको हिंसाको अन्त्यका लागि एकजुट हुन आग्रह गर्नुभयो ।  


इन्टरफेथ पिस फेडेरेशन अफ नेपालका उपाध्यक्ष सिमा खानले इस्लाम धर्मले मासु खाए पनि प्राणीलाई धेरै सास्ती दिएर मार्ने चलन हुन्न, सकेसम्म मासुको उपभोग गर्न नपरे राम्रो हो तर गरिहालेमा पनि प्राणीलाई अधिकतम दुःख नदिने सिद्धान्त अपनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले यस फेडेरेसनसँग जोडिनु भनेको जनावर, पन्छिको पनि बाँच्ने हक हुन्छ, पर्यायवरणको पनि सन्तुलित व्यवस्थापनका लागि योगदान पुर्याउने अभियानका लागि सहयोग गर्ने ऐक्यवद्धता जनाउनुभयो ।


सो अवसरमा बुद्धिष्ट गुरु दाकिला गुरुमाले बुद्धको अङ्गुतर निकायले पाहुनालाई खुवाउनु, अनाथ आश्रम, धार्मिक सङ्घ संस्थामा गएर सामुहिक भोजन गराउनु, आफ्ना घरका दिवंगत सदस्यको नाममा पनि भोजन गराउन सकिनेलगायतका प्रक्रियालाई बलिका रुपमा वर्णन गरेको बताउँदै बुद्धले प्राणी हिंसालाई निषेध गरेको बताउनुभयो । सो अवसरमा क्रिस्चीयन धर्म गुरु दिनेशबाबु श्रेष्ठ, रामचन्द्र भण्डारी गुरुलगायतले धर्मको नाममा भइरहेको क्रुर बलि प्रथाको अन्त्य हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । 

कमेन्ट गर्नुहोस्