
तपाहा। तिलोत्तमा नगरपालिका वडा नं. २ स्थित शित्तल चौपारीमा सञ्चालन भइरहेको दैनिक जुम्बा, बिहानी नृत्य तथा व्यायाम कार्यक्रम स्थानीयवासीहरूको आकर्षणको केन्द्र बनेको छ। शित्तल चौपारी बिहानी नृत्य तथा व्यायाम समूहको आयोजनामा नियमित रूपमा सञ्चालन हुँदै आएको उक्त कार्यक्रमले समुदायमा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्नुका साथै स्वस्थ जीवनशैली अपनाउन प्रेरित गरिरहेको छ।
हरेक बिहान करिव २ घण्टासम्म सञ्चालन हुने यस कार्यक्रममा विभिन्न उमेर समूहका महिला तथा पुरुषहरूको सक्रिय सहभागिता रहने गरेको छ। नियमित व्यायाम, जुम्बा तथा नृत्यका माध्यमबाट सहभागीहरूले शारीरिक तन्दुरुस्तीका साथै मानसिक रूपमा समेत सकारात्मक ऊर्जा प्राप्त गरिरहेको बताएका छन्। पछिल्लो समय बदलिँदो जीवनशैली, व्यस्तता र शारीरिक श्रमको कमीका कारण बढिरहेका विभिन्न स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ।
शित्तल चौपारी मूल समितिका अध्यक्ष क्या. नरबहादुर कार्कीले नियमित व्यायाम र नृत्यले मानिसलाई शारीरिक तथा मानसिक रोगबाट टाढा राख्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले भन्नुभयो, “स्वस्थ जीवनका लागि नियमित व्यायाम अपरिहार्य छ। दैनिक रूपमा गरिने शारीरिक गतिविधिले शरीरलाई तन्दुरुस्त राख्नुका साथै रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न मद्दत गर्छ। रोग लागिसकेको अवस्थामा पनि नियमित व्यायामले स्वास्थ्य सुधारमा सकारात्मक प्रभाव पार्छ।”त्यस्तै, उपसमिति संयोजक तेजेन्द्र पौडेलले समुदायमा स्वास्थ्यप्रति जागरण ल्याउने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार शरीरलाई स्फूर्ति प्रदान गर्ने, तनाव कम गर्ने तथा दैनिक जीवनलाई सक्रिय र ऊर्जावान बनाउन यस्ता गतिविधि प्रभावकारी हुने भएकाले स्थानीयको उत्साहजनक सहभागिता बढ्दै गएको छ।
कार्यक्रम अन्तर्गत दैनिक दुई घण्टा जुम्बा, नृत्य तथा विभिन्न प्रकारका शारीरिक व्यायाम गराइँदै आएको छ। प्रशिक्षकको मार्गदर्शनमा सञ्चालन हुने कार्यक्रमले सहभागीहरूलाई अनुशासित र नियमित व्यायाम गर्ने बानीको विकास गर्न समेत सहयोग पुर्याएको छ।स्थानीयवासीहरूले पनि कार्यक्रमबाट आफूहरूलाई प्रत्यक्ष लाभ पुगेको बताएका छन्। नियमित सहभागिताले शारीरिक तौल नियन्त्रण, रक्तचाप व्यवस्थापन, तनाव न्यूनीकरण तथा समग्र स्वास्थ्य अवस्थामा सुधार आएको अनुभव उनीहरूले साझा गरेका छन्।समुदायमा स्वास्थ्य प्रवर्द्धन र सामाजिक एकता मजबुत बनाउने उद्देश्यले सञ्चालन भइरहेको शित्तल चौपारीको यो पहल अहिले उदाहरणीय बन्दै गएको छ।
कमेन्ट गर्नुहोस्