
काठमाडौँ, जेठ ३१ गते । नेकपा (एमाले) को संविधान संशोधन सुझाव कार्यदलको बैठकले संविधान संशोधन सम्बन्धी प्रस्ताव तयार गर्ने निर्णय गरेको छ ।
एमालेको संविधान संशोधन सुझाव कार्यदलका सचिव महेशकुमार बर्तौलाका अनुसार सो कार्यदलका संयोजक विष्णुप्रसाद पौडेलको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय च्यासलमा आइतबार बसेको पहिलो बैठकले सङ्घीय लोकतान्त्रिक गणतन्त्र र वर्तमान संविधानले अवलम्बन गरेको शासन प्रणालीलाई सुदृढ गर्न र थप प्रभावकारी बनाउन राजनीतिक र सामाजिक जीवनका विभिन्न क्षेत्रहरुबाट सुझाव सङ्कलन गरी संविधान संशोधन सम्बन्धी प्रस्ताव तयार गर्ने निर्णय गरेको हो ।
उहाँका अनुसार आजको बैठकले अग्निप्रसाद खरेलको संयोजकत्वमा उपसमिति गठन गरिएको छ । उक्त उपसमितिमा रमेश बडाल, महेश बर्तौला, कृष्णभक्त पोखरेल, टिकाराम भट्टराई, राजेन्द्र घिमिरे र अमर थापा सदस्यहरु हुनुहुन्छ । सो उपसमितिले संविधान कार्यान्वयनको हालसम्मको अनुभवका आधारमा संविधानका सबल र कमजोर पक्ष कार्यान्वयनका क्रममा देखिएका जटिलतासहितको पुनरावलोकन सम्बन्धी प्रस्ताव तयार गर्न एवम् संविधान संशोधन सम्बन्धी सुझाव सङ्कलनका लागि विस्तृत कार्यतालिका निर्माण गर्ने उहाँको भनाइ छ ।
यसैगरी, अन्य राजनीतिक दल र ती दलले गठन गरेका संविधान संशोधन सम्बन्धी कार्यदलहरुसँग संवाद, छलफल तथा अन्तरक्रिया गर्न पहल गर्ने, संविधान संशोधन सुझाव कार्यदलको सदस्य सचिवको जिम्मेवारी महेशकुमार बर्तौलालाई प्रदान गर्ने निर्णय भएको छ ।
कमेन्ट गर्नुहोस्