
मध्यविन्दु, जेठ २३ गते । पूर्व–पश्चिम राजमार्गको मध्य भागको पहिचान झल्काउने ‘मध्यविन्दु स्तम्भ’ निर्माणको काम अन्तिम चरणमा पुगेको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत डण्डा–चोरमाराबिचमा पर्ने वन क्षेत्रमा सो स्तम्भ निर्माण गरिएको हो ।
पूर्व–पश्चिम राजमार्गको करिब एक हजार २८ किलोमिटर दूरीको ठीक मध्यविन्दु (५१४ किमी) अर्थात् पूर्वमा मेची पुल र पश्चिममा गड्डाचौकीबाट बराबर दूरीमा पर्ने, नारायणगढ–बुटवल सडकखण्डको डण्डा–चोरमारा जङ्गलबिचको यो ऐतिहासिक स्थान अब आफ्नो पहिचानसहित तयार हुन लागेको हो । आगामी असार १४ गतेभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी बिटी कन्स्ट्रक्सन, सर्दी विनयी त्रिवेणीसँग ठेक्का सम्झौता भई काम सुरु गरिएको थियो । गत चैत ३० गते निर्माण सुरु भएको यस स्तम्भको काम ८० प्रतिशत सम्पन्न भएको बिटी कन्स्ट्रक्सनका इन्जिनियर सम्राट बोगटीले जानकारी दिनुभयो । उहाँका अनुसार स्तम्भको काम अब अन्तिम चरणमा पुगेको छ ।
नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्ड र मध्यविन्दु नगरपालिकाको लगानीमा ‘मध्यविन्दु स्तम्भ’ निर्माण भएको हो । यसमा आयोजनाको ८० र नगरपालिकाको २० प्रतिशत लगानी रहेको छ । करिब ३५ लाख रुपियाँ लागतमा निर्माण सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको नगरपालिकाका इन्जिनियर विवेक पोखरेलले जानकारी दिनुभयो । ‘मध्यविन्दु स्तम्भ’ लाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित विभिन्न संरचनाहरू तयार गरिने छन् । स्तम्भमा मध्यविन्दु सूचित गर्ने जानकारी, राष्ट्रियता झल्कने पहिचानसहित विश्रामस्थलसमेत निर्माण गरिने छ ।
पूर्व–पश्चिम राजमार्गकै मध्यभाग भएकाले ‘मध्यविन्दु स्तम्भ’ लाई जिल्लाकै एउटा चिनारी र पर्यटकीय सम्भावनाको दृष्टिले पनि महत्त्वपूर्ण क्षेत्रका रूपमा विकास गर्ने योजना रहेको मध्यविन्दु नगर प्रमुख भीमलाल अधिकारीले बताउनुभयो । स्तम्भ निर्माणपछि यात्रु तथा पर्यटकका लागि आकर्षक विश्रामस्थलका रूपमा विकास गर्न पालिकाले थप योजनाहरू बनाउने नगर प्रमुख अधिकारीको भनाइ छ ।
राजमार्गको मध्यभाग पर्ने भएकाले नै यस क्षेत्रको नाम ‘मध्यविन्दु’ नामाकरण गरी मध्यविन्दु नगरपालिका बनेको हो भने यसै नामलाई जोडेर धेरै सङ्घसंस्थाको नामकरणसमेत गरिएको छ ।
कमेन्ट गर्नुहोस्