लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

ऐतिहासिक पाल्ही माझखण्ड पोखरी ओझेलमा

IMG

पश्चिम नवलपरासी, जेठ २३ गते । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–४ मा अवस्थित प्राचीन पाल्ही माझखण्ड पोखरी केवल एक जलाशय मात्र होइन, पश्चिम नवलपरासीको ऐतिहासिक दस्तावेज र पौराणिक आस्थाको केन्द्रसमेत हो। ऐतिहासिक पाल्ही भगवती मन्दिर परिसरसँगै जोडिएको करिब पाँच बिघा क्षेत्रफलमा फैलिएको यो विशाल पोखरीले आफ्नो गर्भमा सेनकालीन साम्राज्यको राजनीतिक इतिहास र शिवपुराणसँग सम्बन्धित पौराणिक कथा समेटेको छ। तर, उचित प्रवर्धन र आधुनिक पर्यटकीय पूर्वाधारको अभावमा यो ऐतिहासिक सम्पदा लामो समयदेखि ओझेलमा पर्दै आएको छ।


स्थानीय जानकारहरूका अनुसार यो क्षेत्र प्राचीन सेन साम्राज्य अन्तर्गत पर्ने पाल्पा राज्यको तराई भूभाग थियो। त्यतिबेला पाल्पा राज्य अन्तर्गत तराईमा विनायकपुर र तिलपुर गरी दुई प्रगन्ना (इलाका) थिए। रोहिणी नदीदेखि नारायणी नदीसम्म र हालको भारतको महाराजगन्ज जिल्लासम्म फैलिएको तिलपुर इलाकाका प्रमुख व्यापारिक बजारहरू पाल्ही र निचलौल थिए।


त्यस समयमा पाल्पाको तानसेनदेखि माथागढी र महलपोखरीको बाटो हुँदै पाल्हीसम्म ठुलो व्यापार हुने गर्दथ्यो, जुन मार्ग सिधै बङ्गालसम्म जोडिएको थियो। पाल्पा राज्य नेपालमा गाभिएपछि पाल्हीमा नेपालले नियन्त्रण जमाएको थियो। पछि सुगौली सन्धिमार्फत निचलौलको भूभाग गुमे पनि तराईको सीमा विवाद सुल्झाउन नेपाल र अंग्रेजका प्रतिनिधिहरूबिच पाल्हीमा धेरै पटक ऐतिहासिक वार्ताहरू भएका थिए। यही कारणले नेपाल–अंग्रेज युद्धसम्बन्धी धेरै ब्रिटिस दस्तावेजहरूमा ‘पाल्ही’ को नाम विशेष महत्त्वका साथ उल्लेख भएको पाइन्छ।


यति मात्र होइन, अवधका नवाबहरूसँग विशेष सम्बन्ध रहेका धार्मिक प्रकृतिका पाल्पाली राजा महादत्त सेनले पाल्ही भगवती मन्दिरको पूर्वतर्फ एउटा भव्य शिवालय निर्माण गर्न सुरु गरेका थिए। सन् १८३० तिर यस क्षेत्रमा आएका एक ब्रिटिश अध्येताले आफ्नो विवरणमा राजा महादत्त सेनको मृत्यु वा अन्य कारणले उक्त शिवालयको निर्माण पूरा हुन नसकेको उल्लेख गरेका छन्, जसका अवशेषले आज पनि यस क्षेत्रको ऐतिहासिकता पुष्टि गर्छ।


यस पोखरी र मन्दिर परिसरको सम्बन्ध राजनीतिक इतिहाससँग मात्र नभई सनातन धार्मिक आस्था र पुराणसँग पनि गहिरो रूपमा जोडिएको छ। शिवपुराणअनुसार, राजा दक्ष प्रजापतिको यज्ञमा सतीदेवीले देह त्याग गरेपछि विरक्त भएका भगवान शिवले उनको मृत शरीर बोकेर ब्रह्माण्ड परिक्रमा गर्ने क्रममा सतीको अङ्ग पतन भएको पवित्र स्थान नै ‘पाल्ही भगवती कोटकी माई’ क्षेत्र हो। यो स्थान प्राचीनकालदेखि नै शक्तिपीठका रूपमा पूजित छ।


सेन साम्राज्यले उच्च प्राथमिकतामा राखेर संरक्षण गरेको यो ऐतिहासिक एवं पौराणिक भूमि आधुनिक नेपालको प्रशासनिक संरचना र पूर्वाधार विकासको प्राथमिकतामा पर्न नसक्नु विडम्बनापूर्ण मानिएको छ। पाल्ही माझखण्ड पोखरी र पाल्ही भगवती क्षेत्रलाई राष्ट्रिय गौरवको ऐतिहासिक–धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गर्न अब ढिलाइ गर्न नहुने माग उठ्दै आएको छ।


यस पोखरीको सौन्दर्यीकरणका लागि सङ्घीय सरकारबाट ९० लाख रुपियाँ विनियोजन भए पनि विस्तृत परियोजना प्रतिवेदन तयार नहुँदा उक्त रकम फिर्ता (फ्रिज) हुनु दुःखद पक्ष हो। यद्यपि स्थानीय जनगुनासो र सम्पदाको संवेदनशीलतालाई ध्यानमा राख्दै वडा कार्यालयले हालै आफ्नै पहलमा करिब ५ लाख रुपियाँ खर्चेर पोखरीमा रहेको जलकुम्भी हटाई प्रारम्भिक सरसफाइ गरेको छ। वडा अध्यक्ष रविन्द्रकुमार सहानीका अनुसार यस पोखरीलाई ऐतिहासिक र धार्मिक दृष्टिले बहुउपयोगी गन्तव्यका रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्य राखिएको छ।


पछिल्ला दिनमा सतीदेवीले पार्वतीका रूपमा पुनर्जन्म लिएपछि आफ्ना पुत्र गणेश र कार्तिकेयलाई पूर्वजन्मको अङ्ग पतन भएको स्थान देखाउने क्रममा भगवान् शिव स्वयं पुनः यस स्थानमा आएको धार्मिक विश्वाससमेत रहेको छ। उक्त स्थान नै हालको ‘शिवपार्वती सिद्धधाम लोहरौली’ मानिन्छ। सेन वंशीय राजाहरूले यसको पौराणिक महत्त्वलाई बुझेर नै यस क्षेत्रको विशेष संरक्षण र विकास गरेका थिए।


ऐतिहासिक र धार्मिक पक्षसँगै करिब पाँच बिघाको यो विशाल पोखरी पर्यावरणीय दृष्टिले पनि महत्त्वपूर्ण छ। स्थानीय स्तरमा कृषि सिँचाइको मुख्य स्रोत रहेको यस पोखरीले भूमिगत जल पुनर्भरण तथा जैविक विविधता संरक्षणमा समेत योगदान पुर्‍याउँदै आएको छ। पछिल्ला वर्षहरूमा बोरिङ र गण्डक नहरजस्ता संरचना विस्तार भए पनि यस जलाशयको पर्यावरणीय महत्त्व भने अझै उत्तिकै रहेको छ।


पाल्ही भगवती मन्दिरमा देश–विदेशबाट आउने दर्शनार्थीहरूको ठुलो भिड लाग्ने गर्दछ। मन्दिरसँगै जोडिएको यस ऐतिहासिक पोखरीलाई सौन्दर्यीकरण गरी नौकाविहार, जलविहार तथा मनोरञ्जनात्मक पार्कका रूपमा विकास गर्न सके यो क्षेत्र पर्यटक तथा बालबालिकाका लागि आकर्षक गन्तव्य बन्न सक्ने सम्भावना प्रबल रहेको छ।

कमेन्ट गर्नुहोस्