लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

वन्यजन्तुको जोखिम मोलेर विद्यालयको यात्रा

IMG

गुलरिया (बर्दिया), जेठ २२ गते । बर्दिया राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वन हुँदै बारबर्दिया नगरपालिका–९, ढकेला गाउँका बालबालिका वन्यजन्तुको उच्च जोखिम मोलेर विद्यालय जान बाध्य भएका छन् । गाउँमा कक्षा ५ सम्म मात्रै पढाइ हुने भएकाले त्यसभन्दामाथि अध्ययनका लागि विद्यार्थी करिब सात किलोमिटर लामो मध्यवर्ती वन क्षेत्रको बाटो साइकलमा पार गर्दै धर्मभक्त माध्यमिक विद्यालय पुग्छन् । बाटोमा पाटेबाघ, चितुवा, भालु, हात्ती, अजिङ्गर जस्ता वन्यजन्तुको सम्भावित जोखिम रहने भएकाले विद्यार्थी दैनिक डर त्रासबिच यात्रा गर्न बाध्य छन् ।


ढकेला गाउँका करिब २५७ घरधुरीमध्ये १२० भन्दा बढी विद्यार्थी नियमित रूपमा यही जोखिमपूर्ण मार्ग प्रयोग गरेर विद्यालय जाने गरेको स्थानीयले बताएका छन् । निजी विद्यालयमा अध्ययन गर्ने करिब ४० विद्यार्थी भने बसको प्रयोग गरेर सुरक्षित रूपमा आवतजावत गरे पनि सबैका लागि यस्तो सुविधा उपलब्ध छैन । धर्मभक्त माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ८ की सिमरन थारूका अनुसार घरबाट विद्यालय पुग्न करिब एक घण्टा लाग्छ । उहाँले वनभित्रको बाटोमा कहिलेकाहीँ वन्यजन्तु देखिने भएकाले डर लाग्ने गरेको बताउनुभयो ।


स्थानीय ६० वर्षीय कल्चु थारूले आफ्ना छोराछोरी दैनिक ज्यान जोखिममा राखेर विद्यालय जानुपर्ने अवस्था रहेको बताउँदै भन्नुभयो, “पढ्न नपठाउँ भने अशिक्षित हुन्छन्, पठाउँ भने ज्यानको डर हुन्छ ।”


ढकेला गाउँकी ५५ वर्षीय लाहानी थारूले निकुञ्जसँग जोडिएको क्षेत्र भएकाले वन्यजन्तु देखिनु सामान्य भए पनि विद्यालय आवतजावतका लागि सुरक्षित यातायातको व्यवस्था आवश्यक रहेको बताउनुभयो ।


भवानी प्रताप प्राथमिक विद्यालयबाट कक्षा ५ उत्तीर्ण गरेपछि विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि यही जोखिमपूर्ण बाटो प्रयोग गर्न बाध्य हुने गरेका छन् । विद्यालयका प्रधानाध्यापक सीता ढकालका अनुसार मात्र पछिल्लो शैक्षिक सत्रमै २२ जना विद्यार्थी बाहिरी विद्यालयमा अध्ययनका लागि जानु परेको छ ।


धर्मभक्त माध्यमिक विद्यालयका प्रधानाध्यापक केशव बस्यालले ढकेला क्षेत्रका विद्यार्थी जीवन जोखिममा राखेर विद्यालय आउन बाध्य भएको बताउँदै सुरक्षित आवागमनका लागि विद्यालय बस सेवा सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँका अनुसार बस सेवा उपलब्ध भएमा विद्यार्थीको उपस्थिति र सुरक्षामा उल्लेखनीय सुधार आउने छ ।


बर्दिया राष्ट्रिय निकुञ्जको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७५/७६ देखि हालसम्म निकुञ्ज र मध्यवर्ती क्षेत्रमा वन्यजन्तु आक्रमणबाट ४३ जनाको मृत्यु, ५० जना गम्भीर घाइते र ३२ जना सामान्य घाइते भएका छन् । यद्यपि ढकेला क्षेत्रमा हालसम्म विद्यार्थीमाथि प्रत्यक्ष घटना नभए पनि जोखिम भने उच्च रहेको स्थानीयको भनाइ छ ।


स्थानीय बासिन्दा र विद्यालय प्रशासनले सुरक्षित यातायातको व्यवस्था, वैकल्पिक सडक वा नियमित बस सेवा सञ्चालनका लागि सम्बन्धित निकायको तत्काल ध्यानाकर्षण आवश्यक रहेको बताएका छन् । 

कमेन्ट गर्नुहोस्