
शंकरपुर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तिलोत्तमा नगर समितिको अधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ। अधिवेशनपछि आयोजित विशेष कार्यक्रममा नव निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई औपचारिक रूपमा पदस्थापन गरिनुका साथै प्रमाणपत्र वितरण गरिएको थियो।
कार्यक्रम नगर सभापति रुस्तम कँडेलको अध्यक्षतामा सम्पन्न भएको थियो भने पार्टीकी संघिय सांसद ज्ञानु पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। सो अवसरमा प्रमुख अतिथि सांसद ज्ञानु पौडेल र निर्वाचन मण्डलका संयोजक नारायण भण्डारीले नव निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई प्रमाणपत्र वितरण गर्दै सम्मान गर्नुभएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै सांसद पौडेलले पार्टीको संगठन विस्तार, सुशासन, पारदर्शिता र जनउत्तरदायी राजनीतिलाई सुदृढ बनाउन स्थानीय नेतृत्वको महत्वपूर्ण भूमिका रहने बताउनुभयो। उहाँले जनतासँग प्रत्यक्ष जोडिएर काम गर्न र पार्टीप्रतिको विश्वासलाई अझ मजबुत बनाउन नव नेतृत्वलाई सुझाव दिनुभयो।
सो अवसरमा नव निर्वाचित नेतृत्वलाई पार्टीको नीति, सिद्धान्त र उद्देश्यअनुसार जनताको अपेक्षा पूरा गर्ने गरी सक्रियतापूर्वक काम गर्न आग्रह गरिएको थियो।कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता, नगर समितिका पदाधिकारी तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।कार्यक्रममा निर्वाचन मण्डलका संयोजक नारायण भण्डारीले अधिवेशन प्रक्रियाबारे जानकारी गराउँदै लोकतान्त्रिक विधिबाट नेतृत्व चयन भएको उल्लेख गर्नुभयो। उहाँले नव निर्वाचित नेतृत्वलाई सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्नुभयो।
अध्यक्षता गर्दै नगर सभापति रुस्तम कँडेलले अधिवेशन सफल बनाउन सहयोग गर्ने सम्पूर्ण नेता, कार्यकर्ता, प्रतिनिधि तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्नुभयो। उहाँले नवगठित नगर समितिले तिलोत्तमाका नागरिकका मुद्दा, सुशासन र संगठन सुदृढीकरणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।कार्यक्रममा सहभागी वक्ताहरूले अधिवेशनबाट चयन भएको नयाँ नेतृत्वले पार्टीको संगठनलाई तल्लो तहसम्म विस्तार गर्दै जनताका समस्या र सरोकारका विषयलाई प्रभावकारी रूपमा उठाउने विश्वास व्यक्त गरेका थिए।
पदस्थापन कार्यक्रमसँगै रास्वपा तिलोत्तमा नगर समितिको नयाँ नेतृत्वले औपचारिक रूपमा आफ्नो कार्यभार सम्हालेको छ। पार्टीको संगठनात्मक सुदृढीकरण, जनसम्पर्क विस्तार तथा स्थानीय स्तरमा प्रभावकारी राजनीतिक गतिविधि सञ्चालन र स्थानिय निर्वाचनलाई लक्षित गरि कार्यक्रम अघी बढाइनेमा नयाँ समितिले सक्रिय भूमिका खेल्ने नव निर्वाचित सभापति कंडेलले बताउनुभयो।
कमेन्ट गर्नुहोस्