लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमामा राष्ट्रिय युवा परिषदद्वारा डिजिटल साक्षरता तथा साइबर सुरक्षा सम्बन्धी अभिमुखीकरण सम्पन्न

IMG

कुञ्जलापुर। तिलोत्तमा नगरपालिकाका युवाहरूलाई डिजिटल प्रविधिको सुरक्षित, जिम्मेवार र प्रभावकारी प्रयोगबारे सचेत गराउने उद्देश्यले राष्ट्रिय युवा परिषदद्वारा डिजिटल साक्षरता तथा साइबर सुरक्षा सम्बन्धी एकदिने अभिमुखीकरण तथा तालिम कार्यक्रम सम्पन्न भएको छ। तिलोत्तमा नगरपालिकाका १ देखि १७ वटै वडाका युवाहरूको सहभागिता रहेको कार्यक्रममा करिब ७० जना युवा सहभागी भएका थिए।


युवा तथा रोजगार मन्त्रालयको स्वामित्वमा रहेको राष्ट्रिय युवा परिषदको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा डिजिटल युगमा युवाहरूले सामना गरिरहेका अवसर र चुनौतीका विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो। विशेषगरी सामाजिक सञ्जालको प्रयोग, साइबर सुरक्षाका आधारभूत उपाय, अनलाइन ठगीबाट बच्ने तरिका, व्यक्तिगत सूचना सुरक्षा, डिजिटल अधिकार, साइबर अपराध तथा कानुनी व्यवस्थाका विषयमा सहभागीहरूलाई जानकारी गराइएको थियो।


कार्यक्रममा राष्ट्रिय युवा परिषदका उपसचिव विश्वास रोका मगर, शाखा अधिकृत यदु विक्रम थापा तथा राजेश मैनालीले सहजीकरण गर्नुभएको थियो। प्रशिक्षकहरूले सूचना प्रविधिको तीव्र विकाससँगै बढ्दै गएका साइबर जोखिम, डिजिटल प्लेटफर्मको जिम्मेवार प्रयोग तथा युवाहरूले अपनाउनुपर्ने सुरक्षा सावधानीबारे प्रस्तुतीकरण गर्नुभएको थियो।


कार्यक्रमको अध्यक्षता तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य तथा सामाजिक विकास समितिका संयोजक रवि सेन्चुरीले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालको उपस्थिति रहेको थियो।


प्रमुख अतिथि भुसालले वर्तमान समय सूचना प्रविधिको युग भएकाले डिजिटल साक्षरता प्रत्येक नागरिकका लागि अपरिहार्य बन्दै गएको बताउनुभयो। उहाँले प्रविधिको सही प्रयोगले ज्ञान, सीप र अवसरका ढोका खोल्ने भए पनि यसको दुरुपयोगले विभिन्न जोखिम निम्त्याउन सक्ने भएकाले युवाहरू सचेत र जिम्मेवार हुनुपर्ने धारणा राख्नुभयो।


अध्यक्षता गर्दै रवि सेन्चुरीले युवाहरूलाई प्रविधिसँग जोडिएर सकारात्मक परिवर्तनका संवाहक बन्न आग्रह गर्नुभयो। उहाँले डिजिटल माध्यमको सुरक्षित प्रयोगले व्यक्तिगत विकाससँगै समाज र राष्ट्र निर्माणमा समेत महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो।कार्यक्रममा सहभागी युवाहरूले साइबर सुरक्षा, साइबर अपराधसम्बन्धी कानुनी प्रावधान, सामाजिक सञ्जालको प्रभाव, डिजिटल गोपनीयता, अनलाइन ठगी, फेक समाचार, डिजिटल नागरिकता तथा प्रविधिको सकारात्मक र नकारात्मक पक्षबारे विभिन्न जिज्ञासा राखेका थिए। सहभागीहरूले राखेका प्रश्नहरूको प्रशिक्षकहरूले विस्तृत जवाफ दिएका थिए भने अन्तरक्रियात्मक प्रश्नोत्तर सत्र निकै प्रभावकारी बनेको थियो।


सहभागी युवाहरूले तालिमबाट डिजिटल माध्यमको सुरक्षित प्रयोग, व्यक्तिगत सूचना संरक्षण तथा सामाजिक सञ्जालको जिम्मेवार उपयोगबारे महत्वपूर्ण ज्ञान प्राप्त भएको बताएका छन्। यस्ता कार्यक्रमले युवाहरूमा डिजिटल चेतना अभिवृद्धि गर्नुका साथै साइबर जोखिमबाट सुरक्षित रहन आवश्यक ज्ञान र सीप प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।डिजिटल युगका चुनौती र अवसरलाई मध्यनजर गर्दै युवाहरूलाई प्रविधिमैत्री, जिम्मेवार र सचेत नागरिक बनाउने उद्देश्यले सञ्चालन गरिएको उक्त अभिमुखीकरण कार्यक्रम उपलब्धिमूलक र प्रभावकारी बनेको आयोजकले जनाएको छ। कार्यक्रमले युवाहरूमा डिजिटल साक्षरता वृद्धि गर्नुका साथै सुरक्षित साइबर संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पुग्ने आयोजकले प्रशिक्षार्थिमाझ जानकारी गराएको थियो। 

कमेन्ट गर्नुहोस्