
बुटवल। बुधबार बिहान चीनको तिब्बततर्फबाट हिमताल फुटेर रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण जनधन र पूर्वाधारमा ठूलो क्षति भएपछि विभिन्न क्षेत्रका व्यक्तिहरूले बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरिरहेका छन् । यसमा नेपाली कलाकारहरूले पनि अग्रसरता देखाएका छन् ।
बुधबार प्रधानमन्त्री कार्यालयले सहयोगका लागि क्यूआर कोर्डसहितको बैंक खाता नम्बर उपलब्ध गराएपछि कलाकारहरूले आर्थिक सहयोग गरिरहेका छन् । अभिनेता विराज भट्टले बिहीबार बिहान १ लाख ५१ हजार रुपैयाँ कोषमा सहयोग गरेका छन् । उनले विपद्मा परेकाहरूको उद्दार, राहत र सुरक्षित पुनर्स्थापनाका लागि सबै नेपालीलाई एकजुट हुन पनि आग्रह गरेका छन् ।
अभिनेता अनमोल केसीले पनि कोषमा सहयोग गरेको जानकारी दिँदै सबैलाई आफूले सकेको सहयोग गर्न अपिल गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘मैले आफ्नो तर्फबाट सकेको सहयोग गरेको छु । अब तपाईंहरूलाई पनि विनम्र आग्रह । रकम सानो वा ठूलो होइन, सहयोगको भावना ठूलो हो ।’ उनले आफूले गरेको सहयोग रकम भने खुलाएका छैनन् ।
अभिनेत्रीहरू ऋचा शर्मा, नीता ढुंगाना, आँचल शर्मा, जिया केसी, हास्य कलाकार अर्जुन घिमिरे (पाँडे), निर्माताहरू सन्तोष सेन, सुशील पोखरेललगायतले पनि आर्थिक सहयोग गर्दै सबैलाई आफ्नो क्षमताअनुसार सहयोग गर्न अपिल गरेका छन् । केही कलाकारहरूले भिडियो सन्देशमार्फत रसुवा बाढीका कारण भएको जनधन र भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।
नेपाल प्रहरीका अनुसार अहिलेसम्म रसुवा बाढीमा परेका १ सय ५७ जनाको शव फेला परेको छ । अझै सयौं सम्पर्कविहीन छन् । बाढीका कारण टिमुरे, स्याफ्रुबेंसी, हाकुबेंसीलगायत रसुवाका एक दर्जनभन्दा बढी बस्ती ध्वस्त भएका छन् भने नुवाकोट र धादिङका तटीय क्षेत्रमा समेत ठूलो क्षति पुगेको छ । यतिबेला नेपाली सेनाले हेलिकप्टरमार्फत उद्दार कार्यलाई जारी राखेको छ ।
सञ्जय दत्तले भने− ‘म नेपालीसँगै छु’
बुधबार नेपालको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भएपछि भारतीय कलाकारहरूले दुःख व्यक्त गरिरहेका छन् । बुधबार साँझ अभिनेता सोनू सूदले सामाजिक सञ्जालमा एक पोस्ट लेख्दै आफू नेपालको साथमा रहेको बताएका थिए । उनले खाना, आश्रय र पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।
यसैबीच, बलिउडका अर्का अभिनेता सञ्जय दत्तले इन्स्टाग्राम स्टोरीमा एक पोस्ट लेख्दै आफू नेपालीहरूसँगै रहेको बताएका छन् । उनले लेखेका छन्, ‘नेपालमा आएको बाढीबाट प्रभावित सबैप्रति मेरो सोच र प्रार्थना छ । यस कठिन समयमा म तपाईंहरूसँगै छु र आफूले सक्ने जुनसुकै तरिकाले सहयोग गर्न सधैँ तपाईंहरूको साथमा रहनेछु । सुरक्षित रहनुहोस् र बलियो रहनुहोस् ।’
बलिउड अभिनेत्री मनिषा कोइरालाले पनि सामाजिक सञ्जालमार्फत नेपालका लागि प्रार्थना गर्न आफ्ना प्रशंसकलाई आग्रह गरेकी छन् । नेपाली मूलका चर्चित अमेरिकी फेसन डिजाइनर प्रवल गुरुङले पनि ट्वीटर (एक्स)मा बाढीको घटनाप्रति दुःख व्यक्त गर्दै शोकमा रहेका र विस्थापित भएका सबैका लागि आफूले प्रार्थना गरिरहेको बताएका छन् ।
केही घन्टाअघि तिब्बत नाकामा थिएँ : अंकुर रतन
बलिउड अभिनेता तथा मोडल अंकुर रतनले आफू मंगलबार नेपाल र तिब्बतको नाका (तातोपानी)मा रहेको जानकारी दिँदै त्यहाँ खिचेको एक तस्बिर सार्वजनिक गरेका छन् । उनले इन्डिया टाइम्ससँग कुरा गर्दै भनेका छन्, ‘हामी सबै कैलाश मानसरोवर यात्रालाई लिएर निकै उत्साहित थियौँ । केही दिनअघि मात्रै मेरी श्रीमती, एकजना आफन्त र म त्यहाँ तस्बिर खिचिरहेका थियौँ ।’
अंकुरले बाढीको घटनाप्रति दुःख व्यक्त गर्दै केही घण्टाअघि नै उक्त स्थानबाट निस्किन पाएकोमा आफू कृतज्ञ रहेको बताएका छन् । उनले भनेका छन्, ‘हामी घटनाभन्दा केही घण्टाअघि नै उक्त स्थानबाट निस्किसकेका थियौं । त्यसका लागि म कृतज्ञ छु । तर, अर्कोतर्फ यो विपद्मा आफ्ना प्रियजन गुमाएका परिवारहरूको पीडाले मलाई दुःखी बनाएको छ ।’
सोनू सूद भन्छन्, ‘नेपाल सहयोग लिएर आउँदैछौं’
बलिउडका चर्चित अभिनेता सोनू सूदले बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधन तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै आफू नेपालको साथमा रहेको बताएका छन् । उनले बाढी प्रभावितलाई खानादेखि आश्रयसम्म सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।उनले आफू स्वयं नेपाल आउने संकेत दिँदै बुधबार साँझ फेसबुकमा लेखेका छन्, ‘नेपाल तिमी एक्लो छैनौ । हामी खाना, आश्रय र पुनर्निर्माणका लागि आवश्यक साथ र सहयोग लिएर आउँदैछौं ।’ उनको उक्त पोस्टमा सर्वसाधारणसँगै विपना थापा, गरिमा शर्मालगायतका कलाकारहरूले कमेन्ट गर्दै धन्यवाद दिएका छन् । केहीले उनलाई ‘रियल हिरो’ समेत भनेका छन् ।
सोनू भारतमा सहयोगी कलाकारका रूपमा चिनिन्छन् । सन् २०२० मा विश्वभर फैलिएको कोरोना संक्रमण रोकथामका लागि भारतमा लकडाउन लागू भएपछि उनले घर फर्किन चाहने मजदुरका लागि आफ्नो निजी खर्चमा बस, रेल तथा चार्टर्ड विमानको व्यवस्था गर्नुका साथै खाना र अन्य आवश्यक सामग्री समेत उपलब्ध गराएका थिए ।
कमेन्ट गर्नुहोस्