
पश्चिम नवलपरासी, वैशाख १७ गते ।पश्चिम नवलपरासीको सदरमुकाम परासी स्थित रामग्राम–१२ शान्तीचौरमा सडक उपभोग दस्तुर सङ्कलन गर्न बनाइएको संरचना सवारी दुर्घटनाको कारण बनेको छ ।
दस्तुर सङ्कलन गर्न भन्दै सडक बोर्डले बनाएको संरचना वर्षौ देखि अलपत्र छ । जेनजी आन्दोलनका क्रममा तोडफोड भएको र सवारी साधनको ठक्करबाट जीर्ण बनेको उक्त दस्तुर सङ्कलन केन्द्र पछिल्लो समय विशेष गरि रातको समयमा दुर्घटनाको कारण बनेको छ ।
पछिल्लो एक महिनाको अवधिमा मात्रै त्यहाँ आधा दर्जन दुर्घटनाका घटना भएका छन् । रातीको समयमा बिचमा बनाइएको डिभाइडरका कारण सवारी दुर्घटना बढेको छ तर यस विषयमा कसैले चासो नदिँदा दुर्घटनाको जोखिम झनै छ । सवारी साधनको ठक्करबाट भत्किएको भाग अहिले पनि अलपत्र अवस्थामा छ । भुमही–भैरहवा सडक खण्डका दुई स्थानमा सडक दस्तुर सङ्कलन केन्द्र बनाइएको छ ।
उक्त खण्डको रूपन्देहीको रोहिणी खोला पुल नजिकै दस्तुर सङ्कलन गत वर्षको मङ्सिरबाट सुरु गरिएको थियो तर नवलपरासी खण्डमा भने स्थानीय जनप्रतिनिधिको विरोधका कारण संञ्चालनमा आउन सकेको छैन् ।२८ किलोमिटर सडक खण्डको दुई स्थानमा दस्तुर सङ्कलन गर्नु उपयुक्त नभएकाले परासीमा दस्तुर सङ्कलन केन्द्र संञ्चालनमा ल्याउन रोक लगाइएको जिल्ला समन्वय समितिका प्रमुख भगौती यादवले बताउनुभयो ।
केन्द्र संञ्चालनमा नआएपछि सडकमा बनाइएको संरचना अलपत्र अवस्थामा छ भने रातिको समयमा प्रर्याप्त सडक बत्तिको व्यवस्था नहुदाँ दैनिकजसो साना ठूला दुर्घटना हुने गरेको छ ।
सडक बोर्ड नेपालका कार्यकारी निर्देशक गणेश बहादुर केसीले दस्तुर सङ्कलन केन्द्र संञ्चानमा ल्याउन नसकिएकाले भत्काउन लागिएको बताउनुभयो ।
भैरहवा तर्फ जाने सवारी साधनको परासीमा र भुमही तर्फ आउने सवारी साधनको रूपन्देहीमा दस्तुर सङ्कलन गर्ने योजना अनुरूप केन्द्र निर्माण गरिएको भएपनि स्थानीय प्रशासन र जनप्रतिनिधिको अवरोध पछि रूपन्देहीमै दुवै तर्फको डिजिटल माध्यमबाट दस्तुर सङ्कलन गर्न सुरु भैसकेकाले परासीको संरचना उपयोगविहीन बनेको केसीले बताउनुभयो ।
जीर्ण अवस्थामा रहेको उक्त संरचना हटाउन निर्देशन दिइसकेको उहाँको भनाई छ तर हाल सम्म हटाउने कार्य भने सुरु भएको छैन् ।
केसीले भन्नुभयो, “दस्तुर सङ्कलन कार्य भैरहवा तर्फबाट सुरु भइसकेको छ, अब परासीको सङ्कलन केन्द्रका कारण दुर्घटनामा पनि वृद्धि भएको गुनासो आएकाले भत्काएर व्यवस्थापन गर्न सडक डिभिजन कार्यालय बुटवललाई पत्राचार गरिसकेका छौँ । ”
विशेष गरि बेलहिया नाका हुँदै नेपाल भित्रने र बहिरिने सवारी साधन हुलाकी सडकको रुपमा यो खण्ड हुदै आउजाउ गर्छन् । मालबाहक सवारी साधनको ठक्करबाट उक्त केन्द्र जीर्ण बनेको छ ।उद्योग वाणिज्य महासङ्घका केन्द्रिय सदस्य केशव भण्डारीले यसतो जोखिमपूर्ण अवस्थामा सडक बिचमा रहेको संरचना तत्काल हटाउनुपर्नेमा ढिलाई हुदा ठुलो दुर्घटना हुने सक्ने खतरा औल्याउनुभयो ।
कमेन्ट गर्नुहोस्