लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गुल्मीको पौवा होटलमा ताला, धर्मशालामा संचालन भएको भन्दै प्रसासनको रोकावट

IMG

गुल्मी — धार्मिक तथा सामुदायिक बनको जग्गामा निर्माण भएको धर्माशालामा संचालन गरिएको भन्दै गुल्मीको चर्चित पौवा होटलमा प्रशासनले ताला लगाएको छ। जिल्ला प्रशासन कार्यालय गुल्मी र रेसुङ्गा नगरपालिकाको संयुक्त टोलीले आइतबार होटलमा ताला लगाएको हो।सर्वोच्च अदालतमा दायर गरिएको रिट निवेदनमाथि सुनुवाइ गर्दै अदालतले दिएको आदेशका आधारमा उक्त कारबाही गरिएको प्रशासनले जनाएको छ। अदालतले होटल सञ्चालनका लागि नगरपालिकासँग गरिएको सम्झौता खारेज गर्दै सामुदायिक धार्मिक वनको जग्गामा निर्माण गरिएको संरचना हटाउन निर्देशन दिएको थियो।


उक्त होटल सञ्चालनका लागि अनुमति तत्कालीन रेसुङ्गा नगरपालिकाका मेयर तथा हाल लुम्बिनी प्रदेश सरकारका सांसद डिल्लीराज भुसालको कार्यकालमा दिइएको थियो। तर अदालतले उक्त सम्झौतालाई कानुन विपरीत ठहर गर्दै खारेज गरेको हो।प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैरेले यसअघि नै होटल बन्द गर्न निर्देशन दिएका थिए। तर निर्देशनको पालना नभएपछि प्रशासनले ताला लगाएर नियन्त्रणमा लिएको हो। ताला लगाइसकेपछि होटलको साँचो नगरपालिकालाई हस्तान्तरण गरिएको जनाइएको छ।


ताला लगाउने कार्यमा सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरेसहित प्रशासनका कर्मचारी, सुरक्षा निकायका प्रतिनिधि तथा नगरपालिकाका पदाधिकारीहरूको सहभागिता रहेको थियो। प्रशासनका अनुसार स्थानीय तहले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गई धर्मशालाको संरचनामा व्यावसायिक होटल सञ्चालन गर्न अनुमति दिएको पाइएको छ।यसैबीच, रेसुङ्गा नगरपालिकाअन्तर्गत महादेव पोखरी क्षेत्रमा सञ्चालनमा रहेको अर्को संरचनाबारे पनि चासो बढेको छ। स्थानीयवासीले महादेव पोखरीमा सञ्चालन भइरहेको संरचनासमेत सार्वजनिक तथा धार्मिक क्षेत्रमै पर्ने भएकाले यसको वैधानिकताबारे प्रश्न उठाएका छन्।


महादेव पोखरी क्षेत्र धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिन्छ। सो क्षेत्रमा सञ्चालन गरिएका गतिविधिहरू पनि नियमविपरीत भए–नभएकोबारे छानबिन हुनुपर्ने माग स्थानीयस्तरमा उठ्न थालेको छ।प्रशासनले भने अदालतको आदेश कार्यान्वयन गर्ने क्रममा सार्वजनिक तथा धार्मिक सम्पत्तिको संरक्षणलाई प्राथमिकता दिइएको जनाएको छ। आगामी दिनमा यस्ता अतिक्रमणका घटनामाथि थप निगरानी र आवश्यक कारबाही गरिने प्रमुख जिल्ला अधिकारी गैरेले बताएका छन्।

कमेन्ट गर्नुहोस्