
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल सातै प्रदेशका विभिन्न जिल्लामा हुरी बतास, असिनासहितको वर्षा भइरहेको जनाएको छ । विभागका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण हुरीसहितको वर्षा भइरहेको हो ।विभागका मौसमविद् मौसमविद् हरिप्रसाद दाहालका अनुसार देशका विभिन्न स्थानमा हुरी बताससहित वर्षा भइरहेको छ भने मकवानपुरको गढी क्षेत्रमा सर्वाधिक वर्षा मापन गरिएको छ । उहाँले मकवानपुर गढीमा ४४ दशमलव दुई२ मिलिमिटर वर्षा भएको जानकारी दिए ।
त्यस्तै काठमाडौँको बबरमहल क्षेत्रमा सात दशमलव आठ मिलिमिटर तथा कीर्तिपुरमा १६ दशमलव आठ मिलिमिटर वर्षा मापन गरिएको मौसमविद् दाहालले बताए । हाल भइरहेको वर्षा प्रणाली पश्चिमबाट बिस्तारै उत्तर पूर्वतर्फ सर्दै गएको उनले जानकारी दिए । उनले आगामी करिब तीन घण्टासम्म हुरी बताससहित वर्षा जारी रहने सम्भावना रहेकाले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरे ।विभागका अनुसार हुरी बताससहितको वर्षाले यातायात, सञ्चार तथा विद्युत् सेवा प्रभावित भएका छन् । विभागले अत्यावश्यकबाहेकका आवागमन नगर्न र उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।
आज राति र भोलिसम्म मधेस प्रदेशलगायत कोसी, बागमती, लुम्बिनी प्रदेशका तराई र पहाडी भूभागमा हुरी बतास चल्ने सम्भावना रहेको विभागले जनाएको छ ।कमजोर अवस्थामा रहेका रुख ढल्ने, कमजोर संरचना र छाना उड्ने, विद्युत् तथा सञ्चार सेवा साथै हवाई तथा सडक यातायात पनि प्रभावित हुने जोखिम रहन सक्ने हुँदा त्यसको असरबाट बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउनुहुन विभागको अनुरोध हो। रासस
कमेन्ट गर्नुहोस्