लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गृहमन्त्री अर्याल : नयाँ संसद् भवन बैठकका लागि तयार छ

IMG

काठमाडौँ, चैत ७ गते । गृहमन्त्री ओमप्रकाश अर्यालले नयाँ संसद् भवनको निर्माण र व्यवस्थापन पक्षको निरीक्षण गर्दै अधिवेशन सञ्चालनका लागि सबै तयारी पूरा भएको बताउनुभएको छ ।


नवनिर्मित भवनको भौतिक पूर्वाधार र प्राविधिक पक्षको निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री अर्यालले प्रतिनिधि सभाको छुट्टै बैठक र आवश्यक परेको खण्डमा दुवै सदनको संयुक्त बैठक सञ्चालनका लागि समेत पूर्वाधार तयार रहेको जानकारी दिनुभयो । उहाँका अनुसार कार्यव्यवस्था समितिको बैठक कक्ष र सभामुखको कार्यकक्ष समेत निर्माण भइसकेका छन् । गृहमन्त्री अर्यालले भन्नुभयो, “नयाँ भवनमा शपथ ग्रहणका लागि मात्र नभई पूर्ण अधिवेशन नै सञ्चालन गर्नुपरेमा पनि त्यसका लागि सबै तयारी अवस्थामा रहेको छ । प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकका लागि समेत आवश्यक पूर्वाधार तयार पारिएको छ ।”


भवनभित्रको सिट योजना (सिट प्लानिङ) र फर्निचर व्यवस्थापन सन्तोषजनक रहेको उल्लेख गर्दै उहाँले माइक तथा स्क्रिन जडानको काम समेत द्रुत गतिमा भइरहेको जानकारी दिनुभयो । अस्थायी व्यवस्थापन भए तापनि फर्निचर र प्रविधिको प्रयोग गुणस्तरीय रहेको र कामले गति लिएको उहाँको भनाइ थियो ।


संसद् सचिवालयले नयाँ सदस्यहरूको शपथ ग्रहण र आगामी अधिवेशनलाई मध्यनजर गर्दै भवनको अन्तिम तयारी गरिरहेको सन्दर्भमा गृहमन्त्रीले सो निरीक्षण गर्नुभएको हो । 

कमेन्ट गर्नुहोस्