लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

‘जेनजी’ आन्दोलन र स्थगित उपनिर्वाचन : जसले सहकारी अभियन्ता ज्ञानुलाई सांसद बनायो

IMG

तिलोत्तमा। नेपाली राजनीति र समाजसेवामा महिला नेतृत्व अझै चुनौतीपूर्ण मानिन्छ। यस चुनौतीलाई अवसरमा बदल्ने उदाहरणका रूपमा ज्ञानु पौडेल उभिएकी छन्। उनी केवल राजनीतिमा नयाँ प्रवेशी हुन् । तर सहकारी आन्दोलनमा आफ्नो कडा मेहनत, प्रतिबद्धता र जनतासँगको गहिरो सम्बन्धमार्फत संसदसम्म पुग्न सफल एक सक्रिय महिला नेतृको प्रतीक पनि हुन्।ज्ञानु पौडेलको यात्रा जनउत्थान बचत तथा ऋण सहकारी संस्था लि.बाटबाट सुरू हुन्छ, जसले उनलाई स्थानीय स्तरमा बचत, ऋण, र सामुदायिक विकासका कार्यक्रमहरू सञ्चालन गर्ने अवसर दिएको थियो।


सहकारी संस्थामा उनको पारदर्शी नेतृत्व, सक्रियता, र सेवा प्रति प्रतिबद्धता ले उनलाई स्थानीय समुदायमा सम्मान र विश्वास दिलायो। गाउँ–सहरका मानिसहरूले उनलाई देखे– समस्या समाधान गर्ने, सुनुवाइ गर्ने, र समाज सुधार गर्ने क्षमतासँग जोडिएको व्यक्तित्व। यही अनुभवले उनलाई राजनीतिक मैदानतर्फ आकर्षित गर्‍यो।राजनीतिमा प्रवेश गर्दा पनि उनले सामाजिक सेवा र विकास निर्माणलाई प्राथमिकता दिइन्। जहाँ उनको दृष्टिकोण स्पष्ट थियोः राजनीति केवल पद र शक्ति हासिल गर्ने माध्यम मात्र होइन, जनताको जीवन सुधार्ने र समाजमा सकारात्मक परिवर्तन ल्याउने उपकरण हो। उपनिर्वाचनमा समेत सामेल भएर अगाडी बढेकी पौडेल यही प्रतिबद्धता र जनताको साथले रुपन्देही क्षेत्र नं ३ बाट समानुपातिक सांसदको रूपमा निर्वाचित गरायो।


उनको यात्रा केवल व्यक्तिगत उपलब्धि होइन। सहकारीदेखि संसदसम्मको यात्राले देखाउँछ कि सामान्य पृष्ठभूमिबाट आएका व्यक्ति पनि समाजमा महत्वपूर्ण परिवर्तन ल्याउन सक्छन्, यदि उनीमा दृढ विश्वास, कडा मेहनत, र जनताप्रति ईमानदारी हो भने। यो कथा विशेष गरी युवा र महिला नेतृत्वका लागि प्रेरणाको स्रोत बनेको छ।


राजनीतिक पृष्ठभुमि 

रुपन्देही क्षेत्र नम्बर ३ को राजनीतिक परिवेशमा पछिल्ला केही वर्षयता ज्ञानु पौडेलको नाम निरन्तर चर्चामा रहँदै आएको थियो।  विगठित प्रतिनिधि सभाका सदस्य दीपक बोहोराको निधनपछि उपनिर्वाचन हुने तयारी सुरु भएसँगै उनी सक्रिय राजनीतिक मैदानमा उत्रिएकी थिइन्।उपनिर्वाचनको माहोल तातेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रै उम्मेदवार चयनका लागि सुरु गरिएको ‘प्रि–इलेक्सन’ प्रक्रियामा पौडेलले पनि दाबेदारी प्रस्तुत गरिन्।क्षेत्रीय लोकप्रियता र संगठनमा सक्रिय भूमिकाका कारण उनलाई बलियो प्रतिस्पर्धीका रूपमा हेरिएको थियो। तर अन्ततः उनी केही मतले पछि परिन्। डा.लेखजंग थापा उम्मेदवार चयन भए।


त्यसपछि देशमा विकसित राजनीतिक परिस्थिति, विशेषगरी युवापुस्ताको सहभागिता बढाउने उद्देश्यसहित उठेको ‘जेनजी आन्दोलन’ लगायतका कारण उपनिर्वाचन स्थगित भयो। प्रतिनिधि सभा नै विगठित भएपछि सो क्षेत्रका लागि पहिले प्रि–इलेक्सनबाट चयन भएका उम्मेदवारलाई नै निरन्तरता दिने निर्णय भयो। यससँगै थापा पुनः उम्मेदवारको रूपमा अगाडि आए। यद्यपि, यो प्रक्रियामा पछि परेकी पौडेल राजनीतिक रूपमा भने पछि हटिनन्। पार्टीभित्रको सक्रियता र योगदानका आधारमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सूचीमा परिन् र अन्ततः सांसद बन्न सफल भइन्। प्रत्यक्ष निर्वाचनमा उम्मेदवार बन्ने आकांक्षा पूरा नभए पनि उनले समानुपातिक प्रणालीमार्फत संघीय संसदमा आफ्नो उपस्थिति दर्ज गराइन्।


पौडेलको राजनीतिक यात्रा भने यसैबाट सुरु भएको होइन। उनले आफ्नो प्रारम्भिक राजनीतिक जीवन नेकपा एमालेबाट सुरु गरेकी थिइन्। त्यही दौरान उनी नेपाल बचत तथा ऋण सहकारी संघको अध्यक्ष समेत बनेकी थिइन्, जुन पदले उनलाई नेतृत्व र संगठन सञ्चालनको अनुभव दिलायो। अध्यक्ष पद सम्हालेपछि भने उनी केही समय कुनै पनि दलमा आबद्ध रहिनन्।२०७९ सालको निर्वाचनसँगै नेपाली राजनीतिमा देखिएको नयाँ तरंग, विशेषगरी रास्वपाको उदयले उनलाई पुनः सक्रिय राजनीतिमा फर्कायो। त्यसयता उनी रास्वपामार्फत संगठन विस्तार, जनसम्पर्क र राजनीतिक गतिविधिमा निरन्तर लागिरहेकी छिन्।प्रत्यक्ष निर्वाचनमा अवसर नपाए पनि समानुपातिक प्रणालीबाट संसदसम्मको यात्रा तय गरेकी ज्ञानु पौडेल अहिले रुपन्देहीको राजनीतिमा उदीयमान महिला नेतृको रूपमा स्थापित हुँदै गएकी छन्। उनको यात्रा संघर्ष, निरन्तरता र अवसरको सन्तुलनको एउटा उदाहरण बनेको छ।

कमेन्ट गर्नुहोस्