लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रूपन्देहीमा भन्सार नतिरी ल्याएका ८ लाख ७० हजारभन्दा बढीका सामान बरामद

IMG

बुटवल । रूपन्देहीका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएका रु ८ लाख ७० हजार ३२० बराबरका विभिन्न सामान बरामद गरेको छ ।जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको टोलीले जिल्लाका विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा उक्त सामान बरामद गरेको हो । बरामद सामान आवश्यक कानुनी कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय भैरहवा र भन्सार कार्यालय बेलहियामा पठाइएको प्रहरीले जनाएको छ ।


प्रहरीका अनुसार रोहिणी गाउँपालिका–६ बोधबारबारबाट रु ५० हजार मूल्य बराबरको यूपी ५६ ए ३४८९ नम्बरको मोटरसाइकलसहित १४ वटा ब्रोइलर कुखुरा बरामद गरिएको छ ।यस्तै सिद्धार्थनगर नगरपालिका–१ बेलहियाबाट रु ८४ हजार बराबरका २३ पिस लेडिज सुट तथा आठ बोरा किराना सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए।


त्यसैगरी बुटवल उपमहानगरपालिका–२ पाखापानीबाट रु १३ हजार ६०० बराबरको ३४ किलो सुपारी तथा सिद्धार्थनगर–२ केउटोलियाबाट रु १ लाख ४२ हजार ५०० बराबरका २८५ पिस कुर्ता–सुरुवाल बरामद गरिएको प्रहरीले जनाएको छ ।मायादेवी गाउँपालिका–८ उचिमीबाट रु ९७ हजार बराबरका २६४ पिस लेडिज ब्रा, २७६ पिस लेडिज पेन्ट्री र २० पिस लेडिज लुंगी बरामद गरिएको छ ।त्यस्तै कोटहीमाई गाउँपालिका–३ कुडसरबाट रु ७५ हजार ९२० बराबरको यूपी ५६ पी ९४४६ नम्बरको मोटरसाइकलसहित ११० किलो ब्रोइलर कुखुरा तथा रोहिणी गाउँपालिका–६ ओरहवाबाट रु ७० हजार बराबरको यूपी १० बीएस २३२७ नम्बरको मोटरसाइकलसहित १८० किलो ब्रोइलर कुखुरा बरामद गरिएको प्रहरीले जनाएको छ ।


मायादेवी गाउँपालिका–५ पसाहवाबाट रु २० हजार बराबरको २०० किलो काँचो केराउ तथा लुम्बिनी सांस्कृतिक नगरपालिका–१३ कालिदहबाट रु ७ हजार बराबरको १०० किलो काँचो केराउ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।त्यसैगरी मायादेवी गाउँपालिका–६ कल्बटबाट रु १० हजार ३०० बराबरको दुई बोरा मटर दाल तथा विभिन्न फलफूल बरामद गरिएको छ । सिद्धार्थनगर–८ बुद्धचोकबाट रु ७८ हजार बराबरका ४० क्रेट केराउ पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।लुम्बिनी सांस्कृतिक नगरपालिका–६ महजिदियाबाट रु ८० हजार बराबरको यूपी ५५ एक्स ४७१ नम्बरको मोटरसाइकलसहित १२० किलो ब्रोइलर कुखुरा बरामद गरिएको छ ।


यसैगरी सिद्धार्थनगर नगरपालिका–१ मेउडिहवाबाट रु १ लाख ४२ हजार बराबरका ३५ पिस लेडिज सुट, साइकलका पार्टपुर्जा एक झोला, १० पिस कीटनाशक औषधि तथा ७५० किलो केराउ बरामद गरिएको प्रहरीले जनाएको छ ।बरामद गरिएका सबै सामान आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्