
बुटवल — २५औँ राष्ट्रिय लोकदोहोरी दिवस २०८२ को अवसर पारेर राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेशको आयोजनामा बुटवल–१५ उजेलापुरस्थित लुम्बिनी अपांग दृष्टिबिहीन अनाथ आश्रममा खाद्यान्न तथा आवश्यक सामग्री वितरण तथा सांगीतिक कार्यक्रम सम्पन्न गरिएको छ।
आश्रममा रहेका ३२ जना आश्रितलाई लक्षित गर्दै आयोजित कार्यक्रममा दैनिक उपभोगका खाद्यान्न तथा अन्य आवश्यक सामग्री वितरण गरिएको आयोजकले जनाएको छ। कार्यक्रममार्फत आश्रमका बालबालिका तथा आश्रितलाई मनोरञ्जन प्रदान गर्न लोकदोहोरी सांगीतिक प्रस्तुति समेत गरिएको थियो।कार्यक्रमका प्रमुख अतिथि संस्थाका केन्द्रीय सल्लाहकार खिम बहादुर हमालले लोक संस्कृतिको संरक्षणसँगै सामाजिक उत्तरदायित्व पूरा गर्ने उद्देश्यले यस्ता कार्यक्रम आयोजना गरिएको बताए। उनले आगामी दिनमा पनि सामाजिक क्षेत्रमा यस्तै सहयोगात्मक कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख गरे।
कार्यक्रममा संस्थाका पूर्व केन्द्रीय सदस्यहरू, लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष दिपु मगर, सल्लाहकारहरू, आश्रम सञ्चालक, दोहोरी प्रतिष्ठान रुपन्देही परिवार, आजीवन तथा साधारण सदस्यहरू तथा लुम्बिनी प्रदेश समितिका सम्पूर्ण पदाधिकारी र सदस्यहरूको सहभागिता रहेको थियो।कार्यक्रम संयोजक शिवदेव अर्यालको संयोजनमा सम्पन्न भएको उक्त कार्यक्रममा सहभागीहरूले लोकदोहोरी दिवसलाई सामाजिक सेवासँग जोडेर मनाइएकोमा खुशी व्यक्त गरेका थिए।
कमेन्ट गर्नुहोस्