
तिलोत्तमा। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको सहज आयात र बिक्री/वितरण भइरहेको बताएको छ । पेट्रोल पम्पहरूमा लामो लाइन लागिरहेको अवस्थामा निगमले आयात नियमित भइरहेको भन्दै अनावश्यक भण्डारण नगर्न उपभोक्तालाई आग्रह गरेको छ ।
निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले चुनावको समयमा पनि पर्याप्त मात्रामा पेट्रोलियम पदार्थको आयात जारी रहने भएकोले भण्डारण गर्न आवश्यक नरहेको बताउनुभयो ।घरमा पेट्रोलियम पदार्थ भण्डारण गर्दा जोखिम बढ्ने भन्दै उहाँले सचेत गराउनुभएको छ । सम्भावित आगलागीजन्य दुर्घटनाको जोखिम घटाउन आवश्यक परिमाणमा मात्र पेट्रोलियम पदार्थ खरिद गर्न निगमको आग्रह छ ।
यस्तै कतिपयले मध्यपूर्वको सङ्कटका कारण पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या आउने अनुमान गरेका छन् । तर अहिले नै त्यो अवस्था नरहेको निगमको भनाइ छ ।नेपाल पेट्रोलिम पदार्थमा भारतमा पूर्ण निर्भर छ । नेपालको वार्षिक खपत भारतको एक दिनको खपत बराबर मात्रै रहेकोले भारतको आपूर्ति शृङ्खलामा तत्काल समस्या देखिँदैन । यस्तै भारतले हरेक १५ दिनमा नयाँ मूल्यसूची पठाउँछ । अबको १५ दिनको मूल्यसूची आइसकेकोले तत्काल मूल्यवृद्धि हुने पनि देखिँदैन ।
विश्व बजारमा भने द्वन्द्व शुरुआतपछि कच्चा तेलको मूल्यमा १३ प्रतिशतसम्म वृद्धि भइसकेको छ ।
कमेन्ट गर्नुहोस्