
रूपन्देही । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रूपन्देही जिल्ला कार्यसमितिले पार्टीको नीति र निर्देशनविपरीत गतिविधि गरेको आरोपमा क्षेत्र नम्बर २ का क्षेत्रीय अध्यक्ष रामबहादुर थापालाई निलम्बन गरेको छ ।जिल्ला कार्यसमितिद्वारा जारी पत्रअनुसार क्षेत्रीय अध्यक्ष थापाले व्यक्तिगत रूपमा निर्णय गर्दै नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गरेको भन्दै पार्टीले कडा असन्तुष्टि जनाएको छ ।जिल्ला सभापति सागर प्रताप राणाद्वारा हस्ताक्षरित पत्रमा थापाको गतिविधि “पार्टीको नीति तथा हितविपरीत” भएको उल्लेख गरिएको छ ।
पत्रमा भनिएको छ कि पार्टीको आधिकारिक निर्णयबिना, व्यक्तिगत सहमति र आर्थिक प्रलोभनमा परी गरिएको समर्थनले संगठनलाई हानि–नोक्सानी पुगेको ठहर गरिएको छ । यस्तो गतिविधि पार्टीको अनुशासन र निर्देशनको ठाडो उल्लंघन भएको भन्दै उनलाई आजकै मितिदेखि पार्टीबाट निलम्बन गरिएको जनाइएको छ ।जिल्ला कार्यसमितिले निर्वाचनको संवेदनशील समयमा गरिएको उक्त कदमले मतदाता र कार्यकर्तामा भ्रम सिर्जना गरेको निष्कर्ष निकालेको छ । यसअघि पनि क्षेत्र नम्बर २ मा समर्थनको विषयलाई लिएर विवाद उत्पन्न भएको थियो ।
जिल्ला कार्यसमितिले स्पष्ट रूपमा पार्टीले आधिकारिक रूपमा कसैलाई समर्थन नगरेको बताउँदै क्षेत्रीय तहबाट गरिएको समर्थनलाई अस्वीकार गरेको थियो ।निलम्बनसम्बन्धी पत्रमा पार्टीभित्रको अनुशासन, समन्वय र निर्णय प्रक्रियालाई बेवास्ता गरी गरिएको कार्य अस्वीकार्य हुने उल्लेख छ । साथै, आगामी दिनमा यस्ता गतिविधि दोहोरिन नदिन आवश्यक आन्तरिक छानबिन तथा थप कारबाहीको प्रक्रिया अघि बढाइने संकेत गरिएको छ ।रूपन्देही–२ मा प्रतिनिधि सभा निर्वाचनको प्रतिस्पर्धा तीव्र बन्दै गएको अवस्थामा राप्रपाभित्र देखिएको यो आन्तरिक विवादले स्थानीय राजनीतिक वृत्तमा नयाँ तरंग ल्याएको छ ।जिल्ला कार्यसमितिले पार्टीका कार्यकर्ता र समर्थकलाई आधिकारिक निर्देशनबाहेक अन्य प्रचारप्रसारमा नलाग्न र संगठनको निर्णयअनुसार अघि बढ्न आग्रह गरेको छ ।
कमेन्ट गर्नुहोस्