लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सांसद बनेकाे १ वर्षभित्र गाैतमबुद्व विमानस्थलबाट नियमित उडान गराउने वाचा

सरु राना - 2026 Mar 01 09:14 PM
IMG

बुटवल, फागुन १७ राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष तथा रूपन्देही क्षेत्र नं २ का उम्मेदवार केशव बहादुर थापा सुर्यवंशीले देशलाई बेरोजगारीकाे कारखाना बनाउनेहरूकाे हिसाबकिताब गर्ने समय आएको बताएका छन् । आइतबार बुटवलको ट्राफिक चाेकमा आयोजित चुनावी नागरिक सम्बाेधन सभालाई सम्बाेधन गर्दै अध्यक्ष सुर्यवंशीले देशका उद्योग कलकारखाना बन्द गरेर युवाहरूलाई खाडी मुलुकमा जान बाध्य पार्नेहरूकाे अब हिसाबकिताब गर्नुपर्ने समय आएको बताएका हुन् । बुटवलको धागो कारखाना,बिराटनगर जुटमिल,हेटौंडाको कागज कारखाना लगायतका उद्योगहरू बन्द गरेर बिगतका सरकारहरूले युवाहरूलाई बेरोजगार बनाएका कारण लाखौं युवा श्रम गर्न खाडी मुलुकमा जान बाध्य पारिएको भन्दै उनलेे तिनै दलका नेताहरू फेरि भाेट माग्न आएकोले जनताले उनिहरूसँग त्यसको हिसाबकिताब माग्नुपर्ने बताए ।


प्राकृतिक स्राेत साधन र सांस्कृतिक विविधताले भरिपूर्ण भएर पनि राज्य सत्ता सञ्चालन गर्नेहरूकाे साेचकाे कमिले देश पछाडि परेको भन्दै अध्यक्ष सुर्यवंशीले देशलाई सुरूङ युग नभएर केवलकारकाे युगमा लैजानुपर्ने आवश्यकता औल्याए ।दक्षिण पुर्वमा देखिएको द्वन्द्वका कारण १५ लाख बढी नेपालीहरूकाे भविष्य संकटमा परेको भन्दै अध्यक्ष सुर्यवंशीले द्वन्दग्रस्त देशमा रहेका नेपालीहरूकाे सरकारले तत्काल उद्वार गर्न माग गरे ।


आफुले चुनाव जिते ३५० दिन भित्र भैरहवा स्थित गाैतमवुद्व अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक कम्तीमा तीनवटा अन्तर्राष्ट्रिय उडान गर्ने व्यवस्था मिलाउने बाचा गर्दै उनलेे त्यसाे गर्न नसके सांसदबाट राजिनामा दिने बताए ।राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय सचिव तथा रूपन्देही क्षेत्र नं ३ का उम्मेदवार माेजिव अलिले संघीयता र समावेशीताकाे माग गर्ने पहिलो पार्टी राष्ट्रिय जनमुक्ति पार्टी भएको दाबी गर्दै संघीयता र समावेशीकरणकाे योजना एउटाले ल्याउने शासन सत्तामा अर्कै पार्टी हुँदा विकासले गतिलिन नसकेको धारणा राखे ।


मुलुकलाई अन्तर्राष्ट्रिय राजनीतिको अखडा बनाउने षड्यन्त्र भन्दै उनलेे दुई दुई पटक गृहमन्त्री र उपप्रधानमन्त्री भइसकेकाले पनि आफुलाई नयाँ दल भन्दै भाेट माग्दै हिडेकाले जनताले चिन्न सक्नुपर्नेमा जाेड दिए ।पार्टीका रूपन्देही जिल्ला अध्यक्ष प्रेमबहादुर थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष तथा रूपन्देही क्षेत्र नं १ का उम्मेदवार झम बहादुर गुरूङ,रूपन्देही क्षेत्र नं ५ का उम्मेदवार चन्दा थापा,जिल्ला उपाध्यक्ष थर्कबहादुर बारघरे मगर,महिला नेतृ राधिका श्रीसलगायतले अहिलेकाे निर्वाचन कसको सरकार बनाउने भन्ने भन्दा पनि देशको राष्ट्रियता,राष्ट्रिय स्वाधीनता र नागरिकको स्वतन्त्रता रहने कि नरहने भन्ने निर्वाचन भएकोले मतदाताले विवेक पुर्‍याएर मत दिनुपर्ने आवश्यकता औल्याए ।


कमेन्ट गर्नुहोस्