लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रास्वपा त्याग्दै ९० जना एमाले प्रवेश

IMG

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै रुपन्देहीमा दल परिवर्तनको क्रम तीव्र बनेको छ । यसैक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ता अनिल थापाको नेतृत्वमा ९० जना कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।


घरदैलो अभियानका क्रममा बुटवलको जेसीज चोकमा आयोजित कार्यक्रमबीच नेकपा (एमाले)का उपाध्यक्ष तथा रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार विष्णु पौडेलले नवप्रवेशीहरूलाई स्वागत गरेका थिए ।

सो अवसरमा पौडेलले एमाले देश निर्माणको स्पष्ट दृष्टिकोण, स्थिरता र विकासको भरोसासहित अघि बढिरहेको पार्टी भएको उल्लेख गर्दै जनताको विश्वास दिनानुदिन बढ्दै गएको दाबी गरे । “देशलाई समृद्धिको बाटोमा लैजान बलियो नेतृत्व र स्पष्ट नीति आवश्यक हुन्छ,” उनले भने, “एमालेले मात्रै स्थिर सरकार र दीर्घकालीन विकास सुनिश्चित गर्न सक्छ । त्यसैले विभिन्न दलबाट साथीहरू एमालेमा आवद्ध हुनु सकारात्मक संकेत हो ।”


उनले रुपन्देही–२ मा सडक, शिक्षा, स्वास्थ्य, पूर्वाधार र रोजगारीका क्षेत्रमा सुरु गरिएका योजनालाई निरन्तरता दिन मतदातासँग सहयोग माग्दै फागुन २१ मा सूर्य चिन्हमा मतदान गर्न आग्रह गरे । रास्वपा परित्याग गरी एमाले प्रवेश गरेका अनिल थापाले देशको राजनीतिक अवस्था र विकासका मुद्दालाई ध्यानमा राख्दै आफूहरू एमालेमा आवद्ध भएको बताए । “हामीले परिवर्तनको अपेक्षासहित रास्वपामा काम गरेका थियौं,” उनले भने, “तर व्यवहारिक रूपमा विकास र स्थिरताका लागि एमाले नै सक्षम देखिएकाले सामूहिक रूपमा निर्णय गरेका हौं ।”


थापाले आफ्नो नेतृत्वमा ९० जना युवा तथा कार्यकर्ता एमालेमा प्रवेश गरेको उल्लेख गर्दै आगामी निर्वाचनमा एमाले उम्मेदवारको जित सुनिश्चित गर्न सक्रिय रूपमा खटिने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा एमालेका स्थानीय नेता–कार्यकर्ता तथा उद्योगी व्यवसायीको उपस्थिति रहेको थियो । निर्वाचन नजिकिँदै जाँदा रुपन्देहीमा दल परिवर्तन र चुनावी सक्रियता बढ्दै गएको छ । राजनीतिक दलहरू घरदैलो अभियान, कोणसभा र भेटघाट कार्यक्रममार्फत मतदाता आकर्षित गर्न व्यस्त देखिन्छन् ।

कमेन्ट गर्नुहोस्