
रुपन्देही। फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य पदका लागि रुपन्देही क्षेत्र नं. १ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार घनश्याम यादवले भ्रष्टाचार निवारण र सुशासनको लागि निर्वाचन हुन लागेको बताउनुभएको छ । यसअघिको सरकारले सामाजिक संजाल नियन्त्रणको नाममा जनताको आवाज बन्द गर्न खोजेकाले जनविद्रोह भएको उहाँले उल्लेख गर्नुभयो ।
जेन्जी आन्दोलनले उठाएका जायज मागहरुलाई अब आउने सरकारले सम्बोधन गर्नुपर्ने बताउँदै नेता यादवले राजीनितक अस्थिरताको अन्त्य र सुशासनको पक्षमा काम गर्न नसके देश आन्तरिक द्धन्द्धमा फस्ने बताउनुभयो । शनिबार रुपन्देही क्षेत्र नं. १ को वडा नं. ९, १० र ११ मा चुनाबी, घरदैलो अभियानको क्रममा यादवले आवश्यकताको सिद्धान्त अनुसार जनताको काम गर्न आफूले उम्मेदवारी दिएको उल्लेख गर्नुभयो।
यादवले आफ्नो निर्वाचन क्षेत्रमा उन्नत कृषि नीतिको प्रभावकारी कार्यान्वयन, नदी कटान रोकथाम, रोहिणी नदी करिडोर विकास, स्थानीय औद्योगिक करिडोरका रूपमा विस्तार, सरकारी तथा सामुदायिक विद्यालयको विशेष प्राथमिकतासहित विकास, सीपमूलक शिक्षामा जोड दिइने बताउनुभयो । त्यस्तै मुस्लिम बस्ती व्यवस्थापनका लागि नयाँ मार्गचित्र, भूमिहीन सुकुम्बासीलाई भूमि उपलब्ध गराउन पहल, विपद् व्यवस्थापन सुधारका लागि नयाँ योजनासहित आफू निर्वाचनमा होमिएको यादवले बताउनुभयो ।
रुपन्देही क्षेत्र नंं १ अन्तरगत तिलोत्तमाका ९ वटै वडामा चुनावी कार्यक्रम जारी रहेको निर्वाचन परिचालन समिति तिलोत्तमाका संयोजक प्रेम जीएमले जानकारी दिनुभयो । जीएमका अनुसार सबै वडाहरुमा उम्मेदवार यादवसहित घरदैलो तथा कार्यकर्ता भेटघाट जारी राखिएको छ ।
कमेन्ट गर्नुहोस्