लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देही–२ मा उम्मेदवार विश्वदीपलाई मतदाताको हौसला

IMG

योगिकुटी। प्रतिनिधि सभा सदस्य पदका लागि रुपन्देही निर्वाचन क्षेत्र नं २ बाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार सुवास पाण्डे (विश्वदीप) ले सुशासन कायम राख्ने र भ्रष्टाचार निवारण गर्ने आफ्नो मुख्य लक्ष्य रहेको बताउनुभएको छ । बुधबार बुटवलमा घरदैलो अभियानको क्रममा उहाँले जेन्जी आन्दोलनको मर्मअनुसार नीति निर्माण तहमा काम गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।


घरदैलो अभियानका क्रममा वालकदेखि वृद्ध मतदाताको हौसला मिलेको पनि उहाँले बताउनुभयो । बुधबार मतदातासँग प्रत्यक्ष संवाद गर्दै पाण्डेले भन्नुभयोे, ‘वर्षौंदेखि रोकिएका विकास र नीतिगत मुद्दाहरुको समाधान गर्ने जिम्मेवारी लिएर हामी यहाँ आएका छौं, तपाईहरुको साथ र सहयोगले हाम्रो चाहना पुरा हुुनेछ ।’उम्मेदवार पाण्डे सैनामैना, बुटवल र तिलोत्तका वडाहरूमा घरदैलो अभियानमा ब्यस्त रहनुभएको छ । जनतासँग भेट्दा माया, विश्वास र स्नेह पाएको भन्दै जनताको समस्यालाई बुझ्नु, सुन्नु र समाधानका उपाय खोज्न आफू प्रयासरत रहेको बताउनुभयो ।


सैनामैना–१ बनकट्टा निवासी युवा उम्मेदवार पाण्डेले जेन्जी आन्दोलनको माग अनुसार आफूले काम गर्न चाहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘म स्थानीय पनि हूँ, युवा पनि हुँ, यस क्षेत्रलाई सक्षम नेतृत्व दिन सक्ने क्षमता राख्दछु तर तपाईहरुको साथ आवश्यक छ ।’नयाँ प्रविधि र नवीन सोच लिएर यस क्षेत्रको समग्र विकासमा लाग्ने प्रतिवद्धता व्यक्त गर्दै पाण्डेले खानेपानी, बसोबास, शिक्षा, स्वास्थ्य, उच्च शिक्षा र सामाजिक विकासमा सधैं सक्रिय रहने बताउनुभयो । अल्पकालीन र दीर्घकालीन रणनीति बनाएर रुपन्देही–२ को विकास अघि बढाउने योजना रहेको उहाँको भनाई छ ।पाण्डेले धार्मिक, सांस्कृतिक र सामाजिक सन्तुलन कायम गर्दै जनताका अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो । हार जीत जेसुकै भएपनि चुनावपछि पनि जनताको साथमा रहेर काम गर्ने उहाँले उल्लेख गर्नुभयो ।

कमेन्ट गर्नुहोस्