
शारदा शाही, तिलोतमा। स्वतन्त्र उम्मेदवार डा. निकोलस भुसाल ले आज पत्रकार सम्मेलन गरी देश निर्माणका लागि आफ्नो भिजन तथा योजनाहरू सार्वजनिक गरेका छन्। उनले सुशासन, स्वास्थ्य, शिक्षा र प्रशासनिक सुधारलाई मुख्य प्राथमिकतामा राख्दै विद्यमान राजनीतिक प्रणालीले जनताको अपेक्षा पूरा गर्न नसकेको उल्लेख गरे।
वर्तमान व्यवस्थामा नयाँ सोच र दृष्टिकोण आवश्यक रहेको धारणा व्यक्त गर्दै उनले देशलाई समृद्ध र समावेशी बनाउने प्रतिबद्धता जनाए। डा. भुसालले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै सबै नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने योजना सार्वजनिक गरेका छन्। स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्न राज्यको दायित्व बढाउनुपर्नेमा जोड दिँदै उनले गुणस्तरीय स्वास्थ्य सेवा प्रत्येक नागरिकको मौलिक अधिकार भएको बताए।
शिक्षा क्षेत्रतर्फ उनले विद्यालयदेखि विश्वविद्यालयसम्मको शिक्षा पूर्ण रूपमा निःशुल्क बनाउने योजना अघि सारेका छन्। शिक्षा क्षेत्रमा लगानी बढाएर प्राविधिक तथा व्यावसायिक शिक्षालाई प्रोत्साहन गर्ने, अनुसन्धान र नवप्रवर्तनमा जोड दिने उनले बताए। यसले युवालाई दक्ष बनाउँदै देशभित्रै रोजगारी सिर्जना हुने उनको विश्वास छ।
रोजगारीको सन्दर्भमा डा. भुसालले तीन वर्षभित्र सबै नेपालीलाई रोजगारी उपलब्ध गराई देशको ऋण तिर्ने लक्ष्य राखिएको बताएका छन्। पाँच वर्षभित्र ३००० खरबको अर्थतन्त्र निर्माण गर्दै सबै नेपालीलाई करोडपति बनाउने दाबी पनि गरिएको छ।
साथै, आठ वर्षभित्र सन् २०९० सम्म नेपाललाई ‘स्वर्गको नमूना’ बनाउने र ‘भिजन 2100’ अन्तर्गत विश्व शान्ति संगठनमार्फत पृथ्वी नै स्वर्ग बनाउने दीर्घकालीन लक्ष्य प्रस्तुत गरेका थिए। यसका अतिरिक्त उनले ‘राष्ट्रिय गौरवका योजना’ अन्तर्गत ‘स्वर्ग जाने बाटो’ जस्ता महत्वाकांक्षी योजनाहरूको घोषणा गरेका छन्। उनका अनुसार यी योजनाले पर्यटन, पूर्वाधार विकास र अन्तर्राष्ट्रिय पहिचान बढाउने छ।
कमेन्ट गर्नुहोस्