
भलवारी । नेपाली कम्युनिस्ट पार्टी नेपालले आउँदो प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै रुपन्देही क्षेत्र नम्बर १ को निर्वाचन प्रचार–प्रसार कार्यालय तिलोत्तमा नगरपालिका–७ भलवारीमा मंगलबार एक कार्यक्रमबीच उद्घाटन गरेको छ। कार्यालयको उद्घाटन पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री हकीकुल्लाह खान र रुपन्देही क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार घनश्याम यादवले संयुक्त रूपमा गर्नुभएको हो।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि हकीकुल्लाह खानले वर्तमान राजनीतिक अवस्था जनताको अपेक्षाअनुसार अघि बढ्न नसकेको बताउनुभयो। देशमा बेरोजगारी, महँगी, भ्रष्टाचार, कुशासन र बेथिती बढ्दै गएको उल्लेख गर्दै उहाँले त्यसविरुद्ध सशक्त राजनीतिक हस्तक्षेप आवश्यक रहेको धारणा राख्नुभयो। उहाँले भन्नुभयो, “देशका श्रमिक, किसान, युवा, महिला तथा उत्पीडित समुदायका हक–अधिकार सुनिश्चित गर्न नेपाली कम्युनिस्ट पार्टीले जनमुखी राजनीति गर्दै आएको छ। जनताको आवाज संसदसम्म पुर्याउन हामी प्रतिबद्ध छौँ।”
खानले कांग्रेस र एमालेले जनअपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाउँदै जनताको अवस्था परिवर्तन गर्नु पार्टीको मूल उद्देश्य रहेको स्पष्ट पार्नुभयो। भ्रष्टाचार, कुशासन र अलोकतान्त्रिक गतिविधीमा संलग्न नेताहरूलाई कानुनी दायरामा ल्याएर वास्तविक लोकतान्त्रिक व्यवस्था स्थापित गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो। औद्योगिकीकरणमार्फत गरिबी हटाई अर्थतन्त्रमा परिवर्तन ल्याउने लक्ष्य पार्टीको मुख्य एजेण्डा रहेको उल्लेख गर्दै उहाँले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा तारा चुनाव चिन्हमा मतदान गरी नेपाली कम्युनिस्ट पार्टीलाई विजयी गराउन आग्रह गर्नुभयो।
त्यस्तै, रुपन्देही क्षेत्र नम्बर ३ का उम्मेदवार घनश्याम यादवले निर्वाचनलाई जनताको पक्षमा परिवर्तन ल्याउने अवसरका रूपमा लिन आग्रह गर्नुभयो। उहाँले क्षेत्रभित्रका आधारभूत समस्या समाधानका लागि इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता जनाउनुभयो।उहाँले भन्नुभयो, “यो निर्वाचन केवल सत्ता परिवर्तनका लागि होइन, जनताको जीवनस्तर परिवर्तनका लागि हो। शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै क्षेत्र नम्बर १ लाई नमुना क्षेत्र बनाउने मेरो लक्ष्य छ।” उम्मेदवार यादवले युवाहरूलाई देशमै रोजगारीको अवसर सिर्जना गर्नुपर्ने र रोहिणी देवदह तिलोत्तमा र ओमासतिया जोडेर समान रुपमा बिकास गर्दै पर्यटनको हव बनाउने आवश्यकता औँल्याउँदै जनताको सुझाव र सहभागिताका आधारमा काम गर्ने बताउनुभयो।
कार्यक्रमका अध्यक्ष तथा नेपाली कम्युनिस्ट पार्टी तिलोत्तमा नगरका संयोजक प्रेम जिएमले पार्टी संगठनलाई गाउँ–गाउँसम्म विस्तार गर्दै निर्वाचन अभियानलाई प्रभावकारी बनाइने जानकारी दिनुभयो। पार्टीको सिद्धान्त र कार्यक्रम जनतामाझ पुर्याउन नेता–कार्यकर्ता एकताबद्ध भएर अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो।
कार्यक्रममा पार्टीका केन्द्रीय, जिल्ला तथा स्थानीय तहका नेता–कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागी वक्ताहरूले आगामी निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीलाई विजयी गराउन तारा चिन्हमा भोट गर्नुपर्ने उल्लेख गर्दै जनस्तरबाट व्यापक समर्थन जुट्ने विश्वास व्यक्त गरेका थिए।
कमेन्ट गर्नुहोस्