
रूपन्देही । ईलाका प्रहरी कार्यालय लुम्बिनी र ईलाका प्रहरी कार्यालय सुर्यपुराले बलात्कार, लुटपाट तथा चोरी–डकैतीमा संलग्न गिरोहलाई धमाधम नियन्त्रणमा लिई कानुनी कारबाही प्रक्रिया अघि बढाएका छन्।
केही दिनअघि ईलाका प्रहरी कार्यालय लुम्बिनीमा कार्यालय प्रमुखका रूपमा प्रहरी निरीक्षक होमनाथ रेग्मी र ईलाका प्रहरी कार्यालय सुर्यपुरामा कार्यालय प्रमुखका रूपमा प्रहरी निरीक्षक पुस्कर कार्की पदस्थापन भएपछि उनीहरूको संयुक्त कमाण्डमा खटिएको प्रहरी टोलीले शृंखलाबद्ध अपराधमा संलग्न गिरोहलाई पक्राउ गर्न सफल भएको हो।
पहिलो घटना : सुन पसल लुटपाटमा संलग्न गिरोह पक्राउ
रुपन्देहीको मायादेवी गाउँपालिका–४ झुलनीपुरस्थित एक सुन पसलबाट सुन तथा मोबाइल लुटपाट गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।
पसल सञ्चालक अनिल कुमार सोनारलाई हतियार देखाई डरत्रासमा पारी हातखुट्टा बाँधेर रु. ५३ लाख ७३ हजार ३ सय ४३ बराबरका गरगहना तथा मोबाइल लुटिएको थियो।घटनालगत्तै अनुसन्धान तीव्र पार्दै प्रहरीले छोटो समयमै घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कारबाही अघि बढाएको जनाएको छ।पक्राउ पर्नेमा विभिन्न स्थानका ६ जना रहेका छन्।
दोस्रो घटना : बाटोमै लुटपाट गर्ने गिरोह नियन्त्रणमा
रुपन्देहीको गैडहवा गाउँपालिका–६ का मतिलाल भट्टराईलाई धारिलो हतियार देखाई सुनका गहना, नगद र मोबाइल लुट्ने गिरोहका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।पसल बन्द गरी घर फर्किने क्रममा बाटोमै लुटपाट गरिएको थियो।
तेस्रो घटना : नाबालिका र आमामाथि अपराध गरी लुटपाट गर्ने अभियुक्त पक्राउ
लुम्बिनी सांस्कृतिक नगरपालिका–२ की १४ वर्षीया नाबालिका र उनकी आमामाथि हतियार देखाई जबरजस्ती अपराध गरी सुनचाँदीका गहना तथा मोबाइल लुटपाट गरी फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।
चौथो घटना : महिलामाथि जबरजस्ती अपराध तथा लुटपाटमा संलग्न पक्राउ
लुम्बिनी सांस्कृतिक नगरपालिका–३९ की एक महिलामाथि हतियार देखाई जबरजस्ती अपराध तथा नगद, सुनचाँदीका गहना र मोबाइल लुटपाट गर्ने गिरोहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
बरामद सामग्री
उक्त घटनाहरूमा संलग्न व्यक्तिहरूबाट प्रहरीले निम्न सामग्री बरामद गरेको छः
• २ थान कटुवा पेस्तोल
• ५ थान गोली
• सुनचाँदीका गहना
• २ थान मोबाइल
• २ थान मोटरसाइकल
• १ थान खुकुरी
• १ थान डिजिटल तराजु
• सुन गलाउन प्रयोग हुने लाईटर
• के.एफ. नामक राउण्ड २ थान
प्रहरीका अनुसार यी घटनाहरू केही महिनादेखि निरन्तर हुँदै आएका थिए। शृंखलाबद्ध अपराध नियन्त्रणमा आएकोमा स्थानीय नगरवासीहरूले प्रहरीको कार्यको प्रशंसा गर्दै खुशी व्यक्त गरेका छन्।
कमेन्ट गर्नुहोस्