
कन्चन। रुपन्देहीको कञ्चन गाउँपालिका–३, रुपुरका १७ वर्षीय किशोर इशान शर्मा पौडेलको मृत्युलाई लिएर जिल्लामा विवाद चर्किएको छ। पुस २ गते साँझदेखि बेपत्ता भएका इशानको शव पुस ३ गते बिहान घर नजिकैको नालीमा फेला परेपछि सुरु भएको विवाद तीन सातासम्म पनि टुंगिन सकेको छैन।
प्रहरीले इशानको मृत्यु सवारी दुर्घटनाबाट भएको प्रारम्भिक निष्कर्ष निकालेको छ भने परिवार र आफन्तहरूले उक्त दाबी अस्वीकार गर्दै योजनाबद्ध हत्या भएको आरोप लगाएका छन्।निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गर्दै इशानका आफन्त तथा स्थानीय सरोकारवालाहरू पछिल्ला दुई सातादेखि आन्दोलनमा छन्। उनीहरूले अहिलेसम्म इशानको शव नबुझेका कारण लुम्बिनी प्रादेशिक अस्पतालमा २४ दिनदेखि शव राखिएको छ।
पारिवारिक स्रोतका अनुसार इशान पुस २ गते साँझ करिब साढे ५ बजे ‘जीम जान्छु’ भन्दै घरबाट निस्किएका थिए। साँझ करिब साढे ७ बजे रुपुरकै सुनगाभा चोक नजिक रहेको सिसिटिभी क्यामेरामा इशान साथीसँग विदा भएर हातमा जुत्ता बोकी घरतर्फ हिँडिरहेको देखिन्छ।त्यसपछि उनी सम्पर्कविहीन भए।भोलिपल्ट अर्थात् पुस ३ गते बिहान स्थानीयले इशानको शव घर नजिकैको नालीको ढकनभित्र चोटपटक लागेको अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरिएको थियो। त्यसयता इशानको मृत्यु दुर्घटना हो वा हत्या भन्ने विषयमा विवाद सुरु भएको हो।
जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका अनुसार हालसम्मको प्रारम्भिक अनुसन्धानले इशानको मृत्यु सवारी दुर्घटनाका कारण भएको देखाएको छ।प्रहरीका अनुसार सिसिटिभी फुटेजमा पुस २ गते साँझ ७ बजेर ४२ मिनेटमा इशान सुनगाभा चोक क्षेत्रबाट सडकको तेस्रो लेनतर्फ दौडिएको देखिन्छ। सोही क्रममा लु २ ख ४९४८ नम्बरको फोर्स गाडीले ठक्कर दिँदा इशान घाइते भई मृत्यु भएको प्रहरीको भनाइ छ।प्रहरीले दुर्घटनामा संलग्न भनिएको गाडी र चालकसहित २ जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।प्रहरी स्रोतका अनुसार हालसम्मको अनुसन्धानमा कुनै व्यक्तिबाट कुटपिट वा योजनाबद्ध हत्या भएको प्रमाण फेला परेको छैन।
तर, प्रहरीको निष्कर्षप्रति इशानको परिवार र आफन्तहरू सन्तुष्ट छैनन्। उनीहरूले दुर्घटनाको नाममा हत्या ढाकछोप गर्न खोजिएको आरोप लगाएका छन्।आफन्तहरूको भनाइमा इशान शारीरिक रूपमा तन्दुरुस्त खेलाडी थिए र सामान्य ठक्करले यस्तो अवस्था आउन नसक्ने उनीहरूको दाबी छ।उनीहरूका अनुसार दुर्घटना भएजस्तो सडकमा ब्रेक, रगत वा अन्य स्पष्ट निशान देखिएका थिएनन् , शव भेटिएको नालीको ढकन साँघुरो भएकाले दुर्घटनापछि आफैं त्यहाँ पुग्न असम्भव जस्तै देखिन्छ , सिसिटिभी फुटेजमा दुर्घटनाको दृश्य स्पष्ट छैन ।एक आफन्तले भने, “हाम्रो छोराको हत्या गरेर दुर्घटना बनाइएको छ। जबसम्म निष्पक्ष छानबिन हुँदैन, हामी शव बुझ्दैनौँ।”
इशानको मृत्युपछि उनका आफन्त र स्थानीयले पटक–पटक जिल्ला प्रहरी कार्यालय घेराउ, सडक प्रदर्शन, नाराबाजी तथा जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने कार्यक्रम गर्दै आएका छन्।आन्दोलनकारीहरूले स्वतन्त्र छानबिन समिति गठन, घटनाको पुनः अनुसन्धान र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।आन्दोलनका कारण क्षेत्रको शान्ति सुरक्षामा समेत असर परेको स्थानीयले बताएका छन्।प्रहरीले मुख्य आधार मानेको सिसिटिभी फुटेज नै अहिले विवादको केन्द्र बनेको छ।परिवार पक्षले उक्त फुटेजले दुर्घटनाको पुष्टि नगर्ने र घटनाको धेरै पक्ष अस्पष्ट रहेको दाबी गरेका छन्।उनीहरू इशान किन दौडिरहेका थिए, दुर्घटनापछि उनी नालीभित्र कसरी पुगे भन्ने प्रश्नको स्पष्ट जवाफ नआएको बताउँछन्।
घटनाको तीन सातासम्म पनि टुंगो नलाग्नु र शव दाहसंस्कार हुन नसक्नुले प्रहरी अनुसन्धानको प्रभावकारिता र पीडितसँगको संवाद क्षमतामाथि प्रश्न उठाएको छ।नागरिक समाजका प्रतिनिधिहरूका अनुसार यदि अनुसन्धान निष्पक्ष र वैज्ञानिक छ भने परिवारको अविश्वास हटाउन पारदर्शी प्रक्रिया र स्पष्ट संवाद आवश्यक छ।त्यसैगरी, परिवारको शंकालाई सम्बोधन गर्न स्वतन्त्र फरेन्सिक समीक्षा वा छानबिन समिति गठन गर्नुपर्ने आवाज पनि उठिरहेको छ।
जिल्ला प्रशासनले अवस्था सामान्य बनाउन परिवार र प्रहरीबीच संवादको प्रयास गरिरहेको जनाएको छ। तर, परिवार पक्षले निष्पक्ष छानबिनको ठोस आधार नआएसम्म आन्दोलन नरोकिने बताएका छन्।तीन साता बितिसक्दा पनि १७ वर्षीय इशान शर्माको शव अस्पतालमै रहनु न्याय प्रक्रिया र राज्य संयन्त्रका लागि गम्भीर चुनौती बनेको छ।इशानको मृत्यु दुर्घटना हो वा हत्या भन्ने प्रश्नको स्पष्ट र विश्वसनीय उत्तर नआएसम्म यो विवाद टुंगिने देखिँदैन।
कमेन्ट गर्नुहोस्