
तराई क्षेत्रमा चिसो बढेसँगै टाउको दुखाइका बिरामीको सङ्ख्या बढ्दै गएको छ । कोशी अस्पताल विराटनगरका वरिष्ठ फिजिसियन डा. रोशन खड्काका अनुसार चिसो हावा, तापक्रमको परिवर्तन, शरीरमा पानीको कमी, साइनस समस्या, मांसपेशी कडा हुनु तथा रक्तसञ्चारमा असर पर्नुले जाडोमा टाउको दुखाइ बढ्ने गर्दछ ।जाडोमा तिर्खा कम लाग्ने भएकाले पानी कम पिउँदा डिहाइड्रेसन भई टाउको दुख्ने समस्या देखिन्छ । त्यसैगरी घाँटी र काँधमा चिसो लाग्दा पछाडिबाट अगाडितर्फ फैलिने दुखाइ, साइनस र माइग्रेनका समस्या पनि बढ्ने चिकित्सकहरूको भनाइ छ ।
तापक्रमको अचानक परिवर्तन, निन्द्राको गडबडी, मानसिक तनाव तथा भिटामिन ‘डी’ को कमीले पनि समस्या बढाउँछ । उच्च रक्तचाप भएका, वृद्धवृद्धा, दीर्घरोगी तथा लामो समय मोबाइल–कम्प्युटर प्रयोग गर्नेहरू बढी जोखिममा छन् । बारम्बार वा औषधिले निको नहुने टाउको दुखाइ, बान्ता, दृष्टि धमिलो हुने वा ज्वरोसँगै दुखाइ भए तुरुन्त सल्लाह लिन डाक्टरहरूले आग्रह गरेका छन् ।टाउको दुखाइबाट बच्न पर्याप्त पानी पिउने, न्यानो कपडा लगाउने, घाम ताप्ने, लामो समय एउटै आसनमा नबस्ने र घाँटी–काँधको हल्का व्यायाम गर्न सुझाव दिइएको छ ।
कमेन्ट गर्नुहोस्