
तिलोतमा, मंगलापुर।सडक आश्रित मानवमुक्त राष्ट्र निर्माणका लागि महाअभियानमा लागेको मानव सेवा आश्रम शाखा कार्यालय रूपन्देहीको आर्थिक वर्ष २०८१/८२ को आय व्यय विवरण तथा प्रगति विवरण सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ।
लेखा संयोजक प्रीति गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। चालु आर्थिक वर्षमा भवन निर्माण स्थिर सम्पत्ति अक्षयकोष तथा अन्य कोषका लागि भएका आम्दानी खर्चबहेक योगदानमा ३ करोड १५ लाख ५५ हजार २२३ रहेको थियो भने सेवा खर्च २ करोड८७ लाख ११ हजार ३७६ रहेको थियो। त्यसै गरी आर्थिक वर्ष २०८१/८२ मा पुँजीगत आम्दानीतर्फ १ करोड ४८ लाख ८७ हजार १४५ रहेको थियो भने खर्चतर्फ ३४ लाख ३५ हजार १९४ रहेको छ। त्यस्तै कुल अक्षय कोष ४६ लाख ३१ हजार ७२५ रहेको छ। कुल सम्पत्ति ९ करोड २४ लाख ३८ हजार ५११ रहेको छ भने कुल सञ्चित कोष १३ करोड ४ लाख ३ हजार ४२३ जानकारी दिनुभयो ।
कार्यक्रममा सरकारी निकायबाट प्राप्त सहयोग विवरणहरू पनि प्रस्तुत गरिएको थियो। विभिन्न पालिकाहरू र सामाजिक विकास डिभिजन कार्यालय लगायतले सहयोग गरेको रकम जम्मा ६१ लाख ४२ हजार ६८३ रहेको थियो भने जम्मा कट्टी भएको रसिद १ हजार ३३० रहेका थिए।कार्यक्रममा केन्द्रीय सदस्य एवं रूपन्देही संयोजक टिकामाया थापाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आश्रमले गरेको प्रमुख उपलब्धिहरू र कार्यसम्पादनहरूको बारेमा जानकारी दिनुभएको थियो। कार्यक्रमका प्रमुख अतिथि रूपन्देही प्रमुख उमाकान्त चापागाईले आफू सरकारी सेवामा रहे सम्म र त्यसपछि पनि आफूले यो संस्थालाई सहयोग गरिरहने प्रतिबद्धता जनाउनुभएको थियो।
त्यसैगरी विशिष्ट अतिथि तथा तिलोतमा नगरपालिका उपप्रमुख जागेश्वर देवी चौधरीले तिलोतमा नगरपालिकाले पहिले पनि सहयोग गरेको र आर्थिक वर्ष २०८२/ ८३ मा ५० लाख मानव सेवा आश्रमलाई छुट्याइएको जानकारी दिनुभयो। तिलोतमा नगरपालिका वडा नम्बर ६ अध्यक्ष गणेश पाठकले शुभकामना सहित अहिले विभिन्न संस्थाहरूमा विदेशी चलखेल भइरहेकोले यसो हुन नदिनको लागि आफूहरू पनि चनाखो हुनुपर्ने बताउनुभयो।सडक पेटी र सार्वजनिक स्थलहरूमा खुल्ला आकाशमुनि कष्टपूर्ण जीवन बिताउन बाध्य भएका हरूलाई खाना छाना स्वास्थ्य र शिक्षाको प्रवर्धन गराउने उद्देश्य सहित २०६९ साल भदौ १३ गतेबाट मानव सेवा आश्रमको सेवा शुभारम्भ भएको थियो। २०८२ सालभित्र सडक आश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने घोषणाको पनि पहल गर्ने र त्यसको प्रभावकारी कार्यान्वयनमा समर्पित हुने लक्ष्यका साथ २०७२ सालमा मानव सेवा आश्रम विविध रुपमा दर्ता भई देशका विभिन्न स्थानहरुमा सेवा केन्द्रहरु विस्तार हुने क्रम सुरु भएको थियो ।
सात प्रदेशको २१ जिल्लाहरूका २९ वटा सेवा केन्द्रहरूमा २००० जना भन्दा बढी आश्रमको संरक्षणमा रहेका छन् १२ वर्षको यो अवधिमा करिब १३ हजार सडक आश्रित मानवहरूको उद्धार भएको छ भने ६००० भन्दा बढीको सुखद पारिवारिक पुनर्मिलन र सामुदायिक पुनर स्थापना भइसकेको छ। रूपन्देहीमा भने २०७६ जेठ ११ गते औपचारिक रूपमा मानव सेवा आश्रम रूपन्देही शाखा विधिवत रुपमा स्थापना भएको हो।
कमेन्ट गर्नुहोस्