
भैरहवा । गृहमन्त्री ओमप्रकाश अर्यालले चुनाव तोकिएकै समयमा हुने बताएका छन् । उनले सरकारले तोकिएको समयमै चुनाव गर्नका लागि सबै तयारी गरेकोले चुनावको वातावरण बनाउन सबैको सहयोग आवश्यक रहेको बताए ।भैरहवामा आयोजित लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै उनले भने–‘विभिन्न बहाना देखाएर चुनाव हुँदैन । यो सरकारले गर्न सक्दैन भन्ने भ्रम छरिंदै छ, सरकारले काम र भूमिकाबाट त्यसको जवाफ दिन्छ ।’
उनले यो सरकार कसैको निगाहमा नबनेको प्रष्ट पारे । ‘जेनजी मुभमेन्टको जगमा बनेको सरकार हो । इच्छा र अपेक्षाभन्दा पनि देशको विशिष्ट अवस्थामा शून्यतालाई पूरा गर्न परिस्थितिले विशेष जिम्मेवारी दिएकोले आएको हो र प्राप्त जिम्मेवारीलाई अर्जुनदृष्टिमा राखी हासिल गर्नेमा सरकार दृढ छ ।’–उनले भने । उनले सुशासनको जग बलियो बनाउने, बिगार्न नसक्ने वातावरण तयार गरी निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर रहेको बताए । भयरहित, निष्पक्ष र शान्तिपूर्ण चुनावको तयारीका लागि सरकारले सातै प्रदेशमा गोष्ठी गरेको उनले बताए । उनले प्रदेशको सुरक्षा चुनौती संश्लेषण गर्ने, आवश्यक रणनीति तय गर्ने र निर्वाचनको लागि आवश्यक तयारी गर्ने बताए । लुम्बिनी गौतमबुद्धको जन्मस्थल भएकोले शान्ति र अहिंसाको सन्देश दिनुपर्छ भनेर यहीबाट गोष्ठीको सूरुवात गरेको उनले जनाए ।
‘शान्ति सुव्यवस्था कायम एवं निर्वाचनको वातावरण कायम गर्न प्रदेश सरकारको महत्वपूर्ण भूमिका रहन्छ । सरकारले निर्वाचन पूर्व, निर्वाचन अवधि र पश्चातका कार्यहरुमा समेत सक्रियता रहने गरी संयन्त्र बनाएको छ ।’–उनले भने ।गृहमन्त्री अर्यालले केन्द्रीय सुरक्षा समितिबाट स्वीकृत भएको निर्वाचन सुरक्षा योजना बमोजिम प्रदेश सरकाले पनि सुदृढ प्रादेशिक योजना तयार गरी कार्यान्वयनमा ल्याउनेमा विश्वस्त रहेको बताए । राजनैतिक दलले लुटिएको हतियार र फरार कैदीलाई सुरक्षा चुनौतीको रुपमा राखे पनि हामीले धेरै परिणाममा विशेष अप्रशेनमार्फत् हतियार फिर्ता र फरार कैदी फिर्ता गरेको उनले बताए । गोष्ठीले थप समीक्षा गरी प्रभावकारी योजना र रणनीति बनाउने उनले जनाए ।
उनले लुम्बिनी राजस्व चुहावटको दृष्टिले जोखिम क्षेत्र रहेको सुशासनको जगमा बनेको सरकारले चुहावट नियन्त्रणमा शून्य शहनशीलताको नीति अवलम्बन गरेको जानकारी दिए । राजस्व चुहावट नियन्त्रणमा सरकारी संयन्त्रको संलग्नताको कमी कमजोरीहरु बाँकी छन् भने अन्त्य हुनुपर्ने उनको भनाइ छ । राजस्व चुहावटमा कुनै पनि कमी कमजोरी नरहने र विशेष निगरानी हुने र गर्दै आएको उनले बताए । गैरकानुनी क्रियाकलापलाई कानुनको दायरामा ल्याउन र जुनसुकै आवरणमा हुने गलत कामलाई रोक्न निर्देशन दिँदै माथिल्लो तहबाट हस्तक्षेप नहुने अर्यालले प्रष्ट पारे ।लुम्बिनी प्रदेशमा आगजनी, तोडफोड र लुटपाटमा संलग्न ७८ जनालाई नियन्त्रणमा लिई कानुनको दायरामा ल्याएको उनले बताए । ‘दण्डहीनता स्वीकार्य हुँदैन । पहिलो कुरा सुरक्षा हो, त्यसपछि समृद्धिलगायतको कुरा हुन्छ ।’–उनले भने ।
चोरी तस्करी बढ्यो मुख्यमन्त्री
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेश भित्र तस्करी मौलाएकोले नियन्त्रणको पहलकदमी लिनुपर्ने बताए । ‘चोरी नियन्त्रण हुन नसक्दा राजस्वमा गम्भीर असर परेको भन्दै त्यसलाई नियन्त्रण गर्नुपर्छ ।’–उनले भने ।मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशमा रहेका भन्सार कार्यालयहरुबाट दिनदहाडै अवैध रुपमा सामान भित्रिने गरेको, प्रदेशभित्र तस्करी मौलाउँदा व्यापक रुपमा राजस्व चुहावट भइरहेको बताए। नेपाल–भारत सीमा क्षेत्रका भन्सारहरूमा राजस्व चुहावट भइरहेको र नियन्त्रण हुन नसकेको विषयमा सुरक्षा अधिकारीहरूको ध्यानाकर्षण गराए । ‘सीमामा सुरक्षाकर्मी र भन्सार कर्मचारी छन् । तै पनि चोरी निकासी रोकिन सकेको छैन । यसले राजस्वमा गम्भीर असर पु¥याएकाले त्यसलाई नियन्त्रण गर्नुपर्छ ।’–उनले भने ।
ट्राफिक प्रहरीले चेकजाँचको नाममा सास्ती दिने गरेको भन्दै ट्राफिक चेकजाँचलाई व्यवस्थित गरी पर्यटकहरूलाई अनावश्यक झन्झट दिन नहुने उनले बताए । उनले सुरक्षाकर्मी र राष्ट्रसेवक कर्मचारीको मनोबल बढाउनुपर्नेमा जोड दिए । उनले सुशासन कायम गर्न प्रदेश सरकार रणनीतिक योजना बनाएर अघि बढेको जनाए । बैठकमा गृहमन्त्री अर्याल, मुख्यमन्त्री आचार्य, प्रदेशका मुख्यसचिव, गृह सचिव, नेपाल र सशस्त्र प्रहरीका संगठन प्रमुख, राष्ट्रिय अनुसन्धान प्रमुख, प्रदेशका १२ वटै जिल्ला सुरक्षा समिति पदाधिकारीकोे सहभागिता रहेको थियो ।
कमेन्ट गर्नुहोस्