लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

राप्रपाले संविधान फेर्नुपर्छ भन्दा जेनजीको प्रतिवाद, त्यसपछि बज्यो सर्वदलिय ताली

IMG

काठमाडौं । सरकार, जेनजी र राजनीतिक दलका प्रतिनिधिहरूबीच बुधबार साँझ करिब ५ घण्टा प्रधानमन्त्री निवास बालुवाटारमा छलफल चल्यो ।छलफल सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संविधान फेर्नुपर्ने प्रस्ताव अघि सारेको थियो । अहिलेसम्म भएका प्रत्येक क्रान्तिबाट संविधान फेरिएको उल्लेख गर्दै राप्रपाबाट बैठकमा सहभागी सदस्यहरूले अहिले पनि संविधान फेरिनुपर्ने बताए ।राप्रपाले अहिले पनि जेनजीले संविधान संशोधनदेखि संघीयता फाल्ने माग राखेको कुरा उठाएपछि जेनजीले खण्डन गरे। जेनजी अगुवा उपार्जुन चाम्लिङले जेनजीको माग कुनै हालतमा संविधान फेर्ने र मास्ने आशय नरहेको बताएका थिए ।


‘हरेक क्रान्तिपछि संविधान फालिएको कुरा राप्रपाले उठायो । संघीयता फाल्नेदेखि संविधान फेर्नुपर्ने भनेर आन्दोलनको अपव्याख्या भएपछि मैले खण्डन गरेँ,’ चाम्लिङले भने, ‘मैले ती क्रान्ति व्यवस्था फाल्नकै लागि भएको थियो । यो क्रान्ति अवस्था फेर्ने मुद्दामा केन्द्रित छ । त्यसैले यो कुनै हालतमा सम्भव छैन भनेर भनेँ ।’चाम्लिङका अनुसार, त्यसपछि हलमा भएका सबैजसोले ताली बजाए ।सोही आशयको कुरा जेनजी अगुवा मिरज ढुंगानाले पनि बताएका थिए । उनले भने प्रत्यक्ष कार्यकारीको मुद्दा उठाउनुपर्ने विषयमा जोड दिए ।


त्यसपछि जेनजी अगुवा उपार्जुनले यसको खण्डन गरे ।‘मिरज जीले पनि यो कुरा उठाएपछि भरे जेनजीले प्रत्यक्ष कार्यकारीको माग राख्यो भनेर समाचार आउला, त्यो भयो भने ७६ जना शहीदको लागि पाप लाग्छ । यसको मतियार म हुँदिनँ भनेर मैले खण्डन गरेको थिएँ,’ चाम्लिङले भने, ‘म मिरजजी पछि बोल्दा दलहरूलाई भ्रम नहोस् भनेर जेनजीहरूले बोल्ने क्रममा नै खण्डन गरेँ । पछि राप्रपाले व्यवस्था फाल्ने कुरा गर्दा पनि खण्डन गरेको हुँ ।’

कमेन्ट गर्नुहोस्