
काठमाण्डाै – नवनियुक्त चार जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज आयाेजित समाराेहमा राष्ट्रपति रामचन्द्र पाैडेलले कानून न्याय तथा संसदीय मामिला, उद्योग वाणिज्य तथा आपूर्ति र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री अनिलकुमार सिन्हा, कृषि तथा पशुपक्षी विकासमन्त्री मदन परियार, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनलाई शपथ गराउनुभएको हो ।
प्रधानमन्त्री सुशीला कार्कीले चार जना मन्त्री नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिश गर्नुभएको थियो । यसअघि अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्यालले शपथ ग्रहणसहित पदभार ग्रहण गरिसक्नुभएको छ ।प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीमण्डलमा हेरफेरसमेत गर्नुभएको छ । अर्थमन्त्री खनाललाई सङ्घीय मामिला मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ भने गृहमन्त्री अर्याललाई दिइएको कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी नवनियुक्त मन्त्री सिन्हालाई दिइएको छ । यसअघि चार सदस्यीय मन्त्रिपरिषद्मा आज चार जना थपिएपछि आठ सदस्यीय भएको छ ।
आविष्कार वैज्ञानिक पुन, टेलिभिजनकर्मी खरेल, पूर्वन्यायाधीश सिन्हा र तत्कालीन राज्य पुनर्संरचना समितिका संयोजक परियार मन्त्री नियुक्त हुनुभएको हो । गएकाे भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएकी कार्कीले २९ गते कुलमान घिसिङ, रामेश्वर खनाल र ओमप्रकाश अर्याललाई मन्त्री नियुक्त गर्नुभएको थियो ।शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीलगायत नेपाल सरकारका विशिष्ट अधिकारीहरूको उपस्थिति रहेको थियो ।
कमेन्ट गर्नुहोस्