लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

ओमसतियामा मौलिकता झल्काउँदै तीज कार्यक्रम,भड्किलोपनाको सट्टा सुखदुःख साटासाट

IMG

हाटी फर्साटिकर। रुपन्देहीको ओमसतिया गाउँपालिकाले हरितालिका तीजको अवसरमा भड्किलोपनालाई त्याग्दै मौलिक संस्कृति प्रवद्र्धन गर्ने उद्देश्यले एक विशेष कार्यक्रम आयोजना गरेको छ । शुक्रबार गाउँपालिकाको कार्यालय, हाटी फर्साटिकरमा दिदीबहिनी भेटघाट तथा शुभकामना आदान प्रदान नाम दिइएको कार्यक्रममा शिक्षा, स्वास्थ्य र विकासका सन्देशहरू समेत प्रवाह गरिएको थियो ।


कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष सुनिता चौधरीले महँगा होटलमा गएर तीज मनाउनुको सट्टा जनताको आँगनमै सुखदुःख साटेर पर्व मनाउनुको छुट्टै महत्व रहेको बताउनुभयो । उहाँले भन्नुभयो, हामी जनताको जनप्रतिनिधी हौं, त्यसैले जनतालाई छोडेर महँगा होटलमा गएर भड्किलो तीज मनाएनौं । यहीँ जनताको बीचमा दुःखसुख बाँडेर रमाइलो गरौंला भनेर कार्यक्रम आयोजना गरेका हौं । उहाँले सबै दिदीबहिनीको सहज पहुँच र मौलिकता, शिक्षा, स्वास्थ्य तथा विकास झल्किने गीतहरू प्रस्तुत गर्न पालिकामा कार्यक्रम राखिएको स्पष्ट पार्नुभयो ।


कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद पोखरेलले वडाहरूमा छुट्टाछुट्टै कार्यक्रम गर्नुभन्दा पालिकामा संयुक्त रूपमा आयोजना गर्दा आपसी चिनजान, सद्भाव र एकता बढ्ने विचार व्यक्त गर्नुभयो । पहिले वर्षभरिका दुःख बिसाउने पर्वको रूपमा रहेको तीज समयसँगै सबै नेपाली महिलाको साझा पर्व बन्दै गएकोमा वक्ताहरूले जोड दिएका थिए ।कार्यक्रमको एक विशेष आकर्षणको रूपमा गाउँपालिकाका कर्मचारीहरूले गीतको माध्यमबाट कार्यालयबाट प्रदान गरिने सेवाहरूका बारेमा जानकारी प्रस्तुत गरेका थिए, जसले कार्यक्रमलाई मनोरञ्जनात्मक मात्र नभई सूचनामूलक पनि बनाएको थियो ।


कार्यक्रममा वडा अध्यक्षहरू प्रकाश सिंह चौधरी, बेलबहादुर बराल मगर लगायत पालिका सदस्य तथा वडा सदस्यहरूले पनि शुभकामना मन्तव्य दिनुभएको थियो । महिला तथा बालबालिका शाखा प्रमुख निर्मला पाण्डेले स्वागत मन्तव्य दिनुभएको सो कार्यक्रमको सञ्चालन राजस्व शाखा प्रमुख अमृत पाण्डेले गर्नुभएको थियो । पालिकाका विभिन्न समूहहरूको उत्साहजनक सहभागिताले कार्यक्रम थप जीवन्त बनेको थियो ।

कमेन्ट गर्नुहोस्