
काठमाडौं । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले संरक्षण नहुँदा नेपालमा स्वीट्जरल्याण्ड जस्ता हजारौं क्षेत्रहरू ओझेलमा परेको बताएका छन् ।शनिबार काठमाडौंमा तारापति भट्टराई स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।नेपाल सुन्दर मुलुक भएको बताउँदै उनले यहाँ स्वीट्जरल्याण्ड जस्ता हजारौं क्षेत्रहरू लुकेको बताए ।
‘यो नेपाल सुन्दर मुलुक छ । धेरै स्वीट्जरल्याण्ड हाम्रो देशमा छन् । तर यो देशको संरक्षण छैन,’ उनले भने, ‘चारकोसे झाडी खत्तम मेरै जीवनमा भयो । जंगल बेचेर पञ्चहरूले पहिला पैसा कमाउँथे । रातारात चुरे दोहन भइरहेको छ ।’अहिले तराइमा खानेपानीको समेत हाहाकार रहेको जिकिर गर्दै उनले जलको भण्डार नै चुरे भएको उल्लेख गर्दै चुरेको संरक्षणमा जोड दिनुपर्ने बताए ।
‘तराइका आठ जिल्लामा पिउने पानीको हाहाकार छ । पूर्वी तराईमा पानी पर्दैन । जंगल छैन । चुरे पहाड खनेर लगेको छ,’ उनले भने, ‘चुरे खनेर लगिदिएपछि प्लान्ट कहाँ लगाउने ? जलको भण्डार भनेकै चुरे हो । नैतिक आचरण हामीले निभाउनु पर्छ । यो समाजलाई कसरी बनाउने, देशलाई कसरी बनाउने भनेर सोच्नुपर्छ ।’
कमेन्ट गर्नुहोस्