
दाङ्ग। दाङको तुलसीपुरमा सर्पले टोकेर एक किशोरी गम्भिर बिरामी परेकी छिन । तुलसीपुर उपमहानगरपालिका–६ शिवशक्ति टोलमा बस्ने आइति जिसीका छोरी १३ वर्षकी बबिता जिसी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
आफ्नै घरमा सुतिरहेको अवस्थामा मङ्गलवार बिहान ९ बजेतिर नाम नखुलेको सर्पले टोकेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिए ।किशोरीको राप्ति प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जिसी सहित तुलसीपुरमा एक हप्तामा ९ जनालाई सर्पको टोकाइबाट घाइते भएका हुन भने एक बालकको मृत्यु भएको छ ।तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ रनियापुरका नुरज परियारका छोरा २२ महिनाका एनिस परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आफ्नै घरभित्र खेलिरहेको अवस्थामा असार २९ गते बालकलाई अपराह्न साढे ४ बजे सर्पले बायाँ हातको हत्केलाको पछाडि पट्टीको भागमा सर्पले डसेको थियो ।सर्पले डसेको थाहा पाएपछि परिवारले सवा ५ बजेतिर बालकलाई उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिए ।सर्पको टोकाइबाट गम्भीर बिरामी भएका बालकको उपचारको क्रममा साढे ५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । तुलसीपुर दाङका अन्य स्थानमा पनि सर्पदशंंका बिरामी बढेको लमही सर्पदशंं उपचार केन्द्रले जनाएको छ ।
कमेन्ट गर्नुहोस्