लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

डिंगरनगर दूरगामी सहकारीका अध्यक्ष र सचिवविरुद्ध पक्राउ पुर्जी जारी, मोबाइल अफ गरेर फरार

IMG

रुपन्देहीको तिलोत्तमाको डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष घनश्याम तिवारी र सचिव रामबहादुर थापा लगायतविरुद्ध कम्तीमा १५ करोड बचत अपचलनको आरोपमा पक्राउ पुर्जी जारी भएको छ।

तीनसय बढी बचतकर्ताले प्रदेश सहकारी दर्ता अधिकारी र इलाका प्रहरी कार्यालयमा ठगीको उजुरी दिएका थिए र प्रहरीले व्यवस्थापक वसन्त पराजुलीलाई पनि पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

सहकारीका अधिकांश पदाधिकारी नेपाली कांग्रेसका स्थानीय नेता कार्यकर्ता हुन् र बचत अपचलनको विषयमा लेखापरीक्षकको प्रतिवेदनपछि मात्र स्थिति स्पष्ट हुने बताइएको छ।


तिलोत्तमा। कम्तीमा १५ करोड बचत अपचलन भएको रुपन्देहीको तिलोत्तमाको डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालकहरुविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।स्रोतका अनुसार संस्थाका अध्यक्ष घनश्याम तिवारी र सचिव रामबहादुर थापा लगायतविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।करोडौं बचत अपचलनको तथ्य बाहिरिएपछि तीनसय बढी वचतकर्ताहरुले प्रदेश सहकारी दर्ता अधिकारीको कार्यालय र इलाका प्रहरी कार्यालय बुटवलमा सञ्चालकहरुविरुद्ध निवेदन दिएका थिए ।उनीहरुले ठगी गर्नेहरुलाई मुलुकी अपराध संहिता, २०७४ परिच्छेद २१ को दफा २४९ बमोजिम कारवाहीको माग गरेका छन् ।


सहकारीका अध्यक्ष घनश्याम तिवारी, सचिव रामबहादुर थापा क्षेत्री लगायत अधिकांश पदाधिकारी र सञ्चालक समिति सदस्य नेपाली कांग्रेसका स्थानीय नेता कार्यकर्ता छन् ।अध्यक्ष तिवारी गत स्थानीय निर्वाचनमा कांग्रेसको तर्फबाट वडाध्यक्षको उम्मेदवारका आकांक्षी थिए । तर, अन्तिममा उनले टिकट पाएनन् ।सहकारीका सचिव थापा कांग्रेस तिलोत्तमा नगर समितिका पूर्वसचिव हुन् । सह–कोषाध्यक्ष केशरी पाण्डे कांग्रेस तिलोत्तमा नगरपालिका–३ की सभापति हुन् । १३ सदस्यीय सञ्चालक समितिमा तीनजना बाहेक सबै नेपाली कांग्रेसका स्थानीय नेता कार्यकर्ता छन् ।


सहकारीमा एउटै दल निकट र अध्यक्ष पक्षधरहरु हावी भएपछि बदमासी भएको र ऐन, विधिको कुरा उठाउनेहरुलाई सञ्चालकमा आउन रोक्ने गरिएको सेयर सदस्यहरुको गुनासो छ ।गृह मन्त्रालय नेपाली कांग्रेसको नेतृत्वमा रहेको र सहकारीका पदाधिकारी पनि कांग्रेस नेताहरु भएकाले पक्राउ नगरेको आरोप लगाउँदै बचतकर्ताहरुले पक्राउ गर्न दबाब दिन दुई हप्तादेखि दिनहुँ पदाधिकारीहरुको घर घेराउ गरिरहेका छन् ।बचतकर्ताको दबाबपछि प्रहरीले असार २७ गते सहकारीका व्यवस्थापक वसन्त पराजुलीलाई पक्राउ गरी अनुसन्धान जारी राखेको छ ।जिल्ला अदालतले उनलाई शुक्रबार दोस्रोपटक म्याद थप गरी अनुसन्धान गरिरहेको छ । उनी एक सातादेखि इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा छन् ।


व्यवस्थापक पराजुलीले आफूसहित श्रीमती, छोरी र छोराको नाममा लिएको ऋण नौ करोड ५५ लाख ३० हजार अठासी रुपैयाँ देखिएको र उक्त रकम ५ जेठ ०८२ मा सहकारीलाई तिर्ने कबुलियतनामा गरेका थिए ।त्यसपछि उनलाई संस्थाले निलम्बन गरेको थियो । पराजुलीले तिलोत्तमाको शान्तिचोकमा खाजा खजाना होटेल तथा रेष्टुरेन्ट सञ्चालन गर्दै आएका थिए ।तमसुकमा ऋणी देखाइएका छोरी र छोरालाई नै साक्षी बसालेकोले सहकारीका अध्यक्ष र सचिवले यो कागज गराएर निलम्बित गरेका हुन् वा व्यवस्थापक पराजुलीले आफैं गरेका हुन् भन्ने तथ्य अडिट रिपोर्टपछि मात्रै थाहा हुने प्रहरीको भनाइ छ ।जिल्ला प्रहरी कार्यालय रुपन्देही स्रोतले सहकारी ठगीमा बचतकर्ताको निवेदन आएपछि सञ्चालकहरुका विषयमा अनुसन्धान भइरहेको र केही पदाधिकारी र सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी भएको पुष्टि गरेको छ ।


तर नाम र संख्याबारे अहिले बताउन नमिल्ने स्रोतले जानकारी दिएको छ ।‘सहकारीको रकम ठगीका विषयमा सञ्चालक समितिका अध्यक्ष, सचिव लगायतविरुद्ध इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी आएपछि अनुसन्धान भइरहेको छ, अनुसन्धानका क्रममा रहेकाले धेरै कुरा सार्वजनिक गर्न मिल्दैन,’ स्रोतले भन्यो ।रुपन्देही जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालले कानूनी हिसाबले पक्राउ पुर्जीबारे जानकारी दिन नमिल्ने बताए ।प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयका प्रमुख सुरेशचन्द्र आचार्यले भने प्रहरीलाई आवश्यक अनुसन्धान गरी कारवाही अगाडि बढाउन पत्र पठाइसकेको पुष्टि गरे ।व्यवस्थापक पराजुली सम्पर्कविहीन भएकै अवस्थामा पराजुलीकी श्रीमती बिना पराजुलीले बुधबार जिल्ला अदालत रूपन्देहीमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेकी थिइन् ।


आफ्नो नाममा रहेको जायजेथा समेत तानिने डरले उनीहरूले सम्बन्ध विच्छेदको लागि अदालतमा निवेदन दिएको भन्दै बचतकर्ताहरूले सचिवले जस्तै गर्नसक्ने भन्दै अध्यक्ष र सचिवको घर पनि घेराउ गर्दै आएका छन् ।विस २०५० सालमा स्थापित यो सहकारी संस्थामा हाल करिब दुई हजार सदस्य छन् ।कुल ३८ करोड रूपैयाँ पूँजी रहेको सहकारी संस्थाका अध्यक्ष र सचिव मोबाइल स्विच अफ गरेर सम्पर्कविहीन छन् । उपाध्यक्ष बलराम न्यौपाने र कोषाध्यक्ष सुरेन्द्र बज्राचार्यले भने स्वतन्त्र लेखा परीक्षकले अध्ययन गरिरहेकाले सहकारीको अवस्था के हो भन्ने यकिन भएपछि मात्रै अघि बढ्ने बताउँदै आएका छन् ।


सहकारीमा कुल कति रकम बचत थियो र कति सदस्य आबद्ध थिए भन्ने यकिन छैन । सञ्चालक समितिका केही पदाधिकारीका अनुसार कम्तीमा १५ करोडदेखि २५ करोड रूपैयाँसम्म हिनामिना भएको आशंका छ ।सहकारीका अध्यक्ष, सचिव, व्यवस्थापक सहित एकाध बाहेक सबै सञ्चालक सत्तारुढ दल नेपाली कांग्रेसका स्थानीय नेताहरु छन् ।बचतकर्ता चेतबहादुर बस्नेत अध्यक्ष तिवारी १७ वर्षदेखि अध्यक्ष पदमा रहेका र एउटै दलका मान्छेको वर्चस्व रहेकाले मिलेमतोमा बचत अपचलन भएको बताउँछन् ।प्रदेश सहकारी ऐन, २०७६ को दफा ३७ को उपदफा (१) मा, एउटै व्यक्ति लगातार एउटै पदमा दुई पटकभन्दा बढी सञ्चालक हुन नपाउने व्यवस्था छ ।


यो ऐन बन्नु भन्दा अगाडि पनि नेतृत्वमा दुई कार्यकाल भन्दा बढी बस्नु संघीय कानुन विपरित छ । तर स्थानीय कांग्रेस नेता तिवारी राजनीतिक शक्तिको आडमा ऐनलाई कुल्चेर यो सहकारीमा १७ वर्षदेखि अध्यक्ष पदमा थिए ।सर्वसाधारणको बचत फिर्ता गर्ने सहमति अनुसार निर्णय भएपनि सहकारीका अध्यक्ष र सचिवले अर्को दिन उक्त सहमतिको माइन्युट नै च्यातेर फरार भएका छन् ।सहकारीको रकमले अध्यक्ष तिवारीले अष्ट्रेलियामा समेत घर किनेको जानकारी पाएको बचतकर्ताहरुको दाबी छ ।अध्यक्ष र  सचिव थापाले घडेरी, होटल तथा चुनढुंगा खानीमा लगानी गरेको सेयर सदस्यहरुको दाबी छ । अध्यक्ष तिवारीले संस्थाको करिब ६ देखि ८ करोड, सचिव रामबहादुर थापाले ३ करोडभन्दा बढी र सञ्चालक सदस्य सनत गौतमले १ करोड २५ लाखभन्दा बढी रकम अपचलन गरेको सहकारीकै एक पदाधिकारीको दाबी छ ।


बचतकर्तालाई रकम फिर्ता दिने निर्णयको माइन्युट नै च्यातेर फरार भएपछि उनीहरूले अरु रकम पनि हिनामिना गरेको अनुमान छ ।लेखा परीक्षकले दिने अन्तिम प्रतिवेदनपछि मात्र कति हिनामिना भएको यकिन हुने सहकारीका कोषाध्यक्ष सुरेन्द्र बज्राचार्यले बताए ।सहकारी ऐन, निर्देशन तथा मापदण्डअनुसार सहकारीका सञ्चालकले बचत रकमको पाँच गुणा वा बढीमा पाँच लाखमध्ये जुन कम हुन्छ, सो बराबरको रकम मात्र बिनाधितो ऋण लिन सक्छन् ।यसरी बिनाधितो कर्जा प्रवाह गर्दा कम्तीमा दुई जना सदस्यहरूको जमानी लिनुपर्ने व्यवस्था छ । तर यो सहकारीमा ऐन विपरित वचत अपचलन भएको छ ।सहकारीका व्यवस्थापक, अध्यक्ष र सचिवले सहकारीको सफ्ट्वेयरमै सेटिङ गरी आफूखुशी बचतकर्ताको रकम दुरुपयोग गर्ने गरेको भेटिएको छ ।ऋण नै नलगेका बचतकर्ताको नाममा ऋण प्रवाह गर्ने गरेको र कम रकम ऋण लिएका ऋणीका नाममा थप ऋणभार देखाइएको छ ।


सुरुमा व्यवस्थापक वसन्त पराजुलीले रकम हिनामिना गरेको भन्दै ८ करोड ५० लाखको कागज बनाएर उनलाई निलम्बन गरिएको थियो ।तर थप छानबिनको विषय उठ्न थालेपछि अध्यक्ष तिवारी र सचिव थापा छानबिनका लागि सहयोग गर्नुको सट्टा बैठक छल्दै काठमाडौं गएपछि थप बदमासीको आशंकामा करिब चार सय सदस्यले बचत फिर्ताको निवेदन दिएका थिए । यो सहकारीले मुख्यरुपमा दूध संकलन र बिक्रीको कारोबार गरिरहेको छ ।


साभार : अनलाईन खबर 

कमेन्ट गर्नुहोस्